नयाँ कोरोनाप्रति सजग रहन आग्रह

माघ ६, २०७७

अतुल मिश्र

काठमाडौँ — बेलायतमा देखिएको कोरोना भाइरसको नयाँ प्रजातिबाट तीन जना संक्रमित भएको पुष्टि भएपछि विज्ञहरूले थप स्वास्थ्य सतर्कतामा जोड दिएका छन् ।

नेपालमा सोमबार २८ वर्षीया एक महिला तथा ६७ र ३२ वर्षीय दुई पुरुषलाई नयाँ प्रजातिको कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । तीमध्ये २८ वर्षीया महिला र ३२ वर्षीय पुरुषको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आइसकेको र ६७ वर्षीय पुरुषको रिपोर्ट पोजिटिभ भए पनि उनको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले गत २१ डिसेम्बरमा आएका उनीहरूमध्ये दुई जना रिपोर्ट नआउँदै गत आइतबार बेलायत फर्किसकेको बताए । ‘नेपालभित्रै रहेका ६७ वर्षीय पुरुषको सम्पर्कमा भएका व्यक्तिमा कोभिड पोजिटिभ देखिएको छैन,’ उनले भने ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार १४ डिसेम्बरमा बेलायती अधिकारीहरूले त्यहाँ नयाँ प्रजातिको कोरोना भाइरस देखिएको रिपोर्ट गरेका थिए । नयाँ प्रजाति सबैभन्दा पहिले बेलायतको उत्तरपूर्वस्थित केन्ट काउन्टीमा सेप्टेम्बर तेस्रो साता लिइएको नमुनामा देखिएको थियो । बेलायतमा नयाँ प्रजातिको भाइरस देखिएपछि लकडाउन गरिए संक्रमण बढिरहेको विज्ञहरूले जनाएका छन् । छिमेकी मुलुक भारतमा समेत बाहिरबाट आएकाहरूमा नयाँ प्रजातिको भाइरस संक्रमण देखिएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. पौडेलले पछिल्लो समय विदेशबाट आउनेहरू कडा क्वारेन्टाइनमा बस्न आवश्यक रहेको बताए । ‘हाल मुलुकमा कोभिडको केस घट्दो देखिए पनि जनस्वास्थ्य मापदण्ड पहिलेभन्दा पनि कडाइका साथ पालना गर्नुपर्ने भएको छ,’ उनले भने । 

वरिष्ठ जनस्वास्थ्यविद् डा. शरद वन्तले नेपालमा नयाँ प्रजातिको कोरोना भाइरस आइसकेको आशंका पहिलेदेखि रहेको जनाउँदै हाल त्यसको पुष्टि मात्र भएको बताए । ‘यो प्रजातिको संक्रामकता बढी देखिएकाले अब हामी बढी सतर्क र गम्भीर हुनुपर्‍यो । थप स्वास्थ्य सतर्कता नअपनाए यसले मुलुकमा कोभिडको छिटो दोस्रो लहर ल्याउन सघाउनेछ,’ उनले भने । नयाँ प्रजातिको भाइरस नेपालमा फैलिइसकेको छ कि छैन भन्नेमा हाल आधिकारिक रूपमा भन्न नसकिए पनि यसले संक्रमण फैलाइसकेको ठानेर सुरक्षा उपाय अवलम्बन गर्नुपर्ने डा. वन्तले बताए । 

प्रदेश जनस्वास्थ्य प्रयोगशाला, जनकपुरका निर्देशक एवं भाइरोलोजिस्ट डा. श्रवणकुमार मिश्रले नयाँ प्रजातिको भाइरस देखिएका मुलुकहरूबाट आउनेहरूलाई कडा आइसोलेसनमा राख्नुपर्ने बताए । ‘यो भाइरस यसअघिको भन्दा छिटो देशभरि फैलिने सम्भावना छ,’ उनले भने, ‘संक्रमितको शरीरमा भाइरल लोड (भाइरसको मात्रा) पनि धेरै देखिएकाले बढी सतर्क रहनुपर्छ ।’ 

कोरोना भाइरस

अतुल मिश्र कान्तिपुर दैनिकमा प्रमुख उप-सम्पादकका रुपमा कार्यरत छन् । उनी स्वास्थ्थ तथा विज्ञान विषयमा विगत २५ वर्ष देखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully