आम हड्तालसम्म पुग्दा हामीले 'ब्याटल' जितिसक्छौं : दाहाल

काठमाडौँ — नेकपा अध्यक्ष पुष्पकमल दाहालले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई जोगाउन आम हड्ताल गर्नेसम्म जानसक्नु पर्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित आफू सम्बद्ध अखिल नेपाल महिला संघको दोस्रो केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले ओलीको कदमविरुद्ध आमहड्तामा गएर भएपनि ब्याटल जित्ने बताएका हुन् ।

आम हड्तालसम्म पुग्दा हामीले 'ब्याटल' जितिसक्छौं : दाहाल

‘हामी आन्दोलन बढाउँदै लान्छौं । ९ गते, १६ गते, २३ गते आन्दोलन गर्छौं । १६ गतेसम्म जाँदा आम जनतालाई उठाएर आम हड्तालतिर पनि जान सक्ने अवस्था आउन सक्छ,’ दाहालले भने, 'त्यो तयारी पनि हामी गरिराखौं । त्यहाँसम्म पुग्दा हामीले ब्याटल जितिसक्छौं । हामीले यो ब्याटल नजिती हुँदैन ।’ संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान जन्माउन ७० वर्ष लागेको भन्दै दाहालले अहिले त्यसलाई एउटा खलनायकले जबर्जस्ती मार्ने प्रयत्न गरेको दाहालले बताए ।

कार्यक्रममा दाहालले सिंह र भेडाको कथा सुनाउँदै भने, 'भर्खर जन्मेको सिंहको बच्चा आफ्नो आमाबाट छुट्टिएर भेडाको बथानमा पुगेछ । त्यो सिंहको बच्चा भेडाको बच्चासँग हिँड्न थाल्यो । उनीहरूसँग हिँड्दा हिँड्दै सिंह पनि भेडोभेडो हुन थाल्यो । त्यसले पनि घाँस खान थाल्यो । भेडा जसरी भ्या-भ्या गर्न थाल्यो । एकदिन साँच्चै उसको आमा आएर हेर्दा शरीर त सिंह भयो । बुद्धिचाहिँ भेडाको भयो । अर्को सिंहले सिंह भेडो भएको मन परेन...अनि त्यो सिंहले भेडो भएको सिंहलाई पानीमा अनुहार देखाइदियो । अनुहार हेरेपछि त्यसले आफू सिंह रहेको थाहा पाउँछ र बेसरी गर्जिन्छ ।’

दाहालले आफूहरू सिंहको सन्तान बताउँदै ओली जस्ता भेडाहरूको संगत गरेको बताए । उनले भने,'केपी ओली जस्ता भेडाहरूको संगत गरियो । हामी पनि अलिअलि भेडा जस्ता भएछौं कि क्या हो ? एकपटक ऐना अगाडि उभिएर हेरौं, हामी सिंहका सन्तान हौं भनेर जुरुक्क गर्जियो भने त भने केपी ओली जस्ता भेडाहरू त...।’

दाहालले तत्कालीन एमालेमा जनताको बहुदलीय जनवाद छोड्ने नेता ओली भएको बताए । ‘उहाँ किन मान्नु भयो होला त्यतिबेला, मलाई आश्चर्य लाग्छ । पार्टी एकता गर्दा जबज छोडिएको छ, राजनीतिक प्रतिवेदनमा । २१ औं शताब्दीको जनवाद छोडिएको छ । माओवाद पनि छोडिएको छ । र समाजवाद उन्मुख जनताको जनवाद भनिएको छ । त्यसमा हस्ताक्षर केपीले किन गरेको होला ?,’ दाहालले भने, ‘आज उहाँ फेरी मदन भण्डारी फाउन्डेसनको नाममा जबज तिरै फर्कनु थियो भने । तत्कालीन एमालेमा जबज छोड्ने पहिलो व्यक्ति केपी नै हुन् ।’

त्यतिबेला देशमा राजनीतिक स्थायित्व, विकास, समृद्धिका लागि ओलीले रचनात्मक रुपले सोच्न थालेछन् कि भन्ने भएपछि आफूले पनि हस्ताक्षर गरेको दाहालले बताए । तर, त्यतिबेला ओलीको हस्ताक्षर किर्ते रहेको महसुस भएको पनि उनले बताए ।

‘म त अहिले त्यही हस्ताक्षरमा दृढ छु । माधवजीपनि त्यही हस्ताक्षरमा दृढ हुनुहुन्छ । तर केपीजी त्यो सबै लत्याएर, जाँदा जाँदा संविधानमाथि कुठाराघात, संघीय लोकतान्त्रिक गणतन्त्रलाई धरापमा हाल्ने ठाउमा पग्नु भयो । अहिले लाग्छ उहाँले हस्ताक्षर गरेको त्यो किर्ते रहेछ, जाली हस्ताक्षर रहेछ । साँचो हस्ताक्षर गर्ने मान्छे यस्तो अपराध गर्ने हुन सक्दैन,’ दाहालले भने ।

अदालत र निर्वाचन आयोगमाथि भरोसा रहेपनि आफूहरू जनताको अदालतमा जान चाहेको दाहालले बताए । उनले भने, 'संविधानको भावना अनुसार निर्णय हुनेमा विश्वस्त छौं । सर्वोच्च अदालतमा कानुनका साथीहरू हुनुहुन्छ । हामी जनताको अदालतमा जान चाहन्छौं । सूर्य चिह्न हामीले नै पाउँछौं । त्यसमा शंका गर्नुपर्दैन ।’

ओलीले संसद् विघटन नभई संविधान र संघीय लोकतान्त्रीक गणतन्त्र विघटन गरेको दाहालको भनाई थियो ।

‘केपी ओलीले विघटन गरेको संसद् हैन । उनलाई त्यसको अधिकार छैन । ओलीले गरेको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको विघटन हो । त्यसकारण एकपटक फेरी त्यसको रक्षाको लागि संघर्षको मैदानमा उत्रिनुको विकल्प छैन,’ दाहालले भने, ‘हामी ढिलो नगरी जनताको अदालतमा जानु पर्नेभयो । यसो हेर्दा लक्षण गतिलो देखिएन । जनताको अदालतले सर्वोच्च र निर्वाचन आयोगलाई पनि सजिलो होला ।’

संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान जन्माउन ७० वर्ष लागेको भन्दै दाहालले अहिले त्यसलाई केपी ओली खलनायकले खोसेर जबर्जस्ती मार्ने प्रयन्त गरेको बताए ।

‘अहिले एक चोटी फेरी पुरै दुनियाँ नेपाली जनता आफैले लडेर ल्याएको परिवर्तनको अपनत्व लिन बिर्से कि के गरे भनेर हेर्दै छ । हामीले पुरै दुनियाँलाई देखाउनु पर्ने छ । हामीले रगत पसिना बगाएर जन्माएको बच्चाको हत्या हुँदैछ,’ दाहालले भने, ‘उसलाई आईसीयूमा राखिएको छ, मार्ने षडयन्त्र खोजिएको छ । आफूले जन्माएको बच्चा मार्न लाग्दा हामी हेर्न सकिँदैन । मार्न लागिएको बच्चाको रक्षाको निम्ति जस्तो सुकै मूल्य चुकाउन तयार छौं ।’

प्रकाशित : माघ ५, २०७७ १८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?