कोरोनाबाट काभ्रेमा एकैदिन ३ को मृत्यु

मंसिर १, २०७७

नगेन्द्र अधिकारी

काभ्रे — कोरोनाबाट काभ्रेमा सोमबार एकैदिन ३ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण केही समयदेखि अस्पतालमा उपचार गराइरहेका ३ जेष्ठ नागरिकको सोमबार मृत्यु भएको स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले बताए ।

धुलिखेल अस्पतालमा उपचाररत पाँचखालका ९१ बर्षीय पुरुष, सोही अस्पतालमा उपचाररत भक्तपुरका ७३ वर्षीय पुरुष र बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचाररत ७२ वर्षीय पुरुषको सोमबार मृत्यु भएको डा. झाले जानकारी दिए ।

यस्तै शनिबार धुलिखेल अस्पतालमा उपचाररत ७६ वर्षीया महिलाको शनिबार मृत्यु भएको थियो । 

हालसम्म जिल्लामा कोरोनाबाट ४५ जनाको मृत्यु भइसकेको छ । तीमध्ये ३१ जना जिल्लावासी र १४ जना अन्य जिल्लाका छन् ।

यसैबीच जिल्लामा सोमबार मात्रै बनेपाका ६, धुलिखेलका १, पनौतीका २, नमोबुद्धका २ जना गरी ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

सोमबारसम्म जिल्लामा संक्रमितको संख्या २ हजार २ सय ४३ पुगेको छ । तीमध्ये ५ सय ९ जना सक्रिय संक्रमित हुन् । ३७ जना अस्पतालमा र ४ सय ७२ जना होम आइसोलेसनमा रहेको डा. झाले जानकारी दिए । जिल्लामा सोमबार २० जना उपचारपछि घर फर्किएका छन् ।

कोरोना भाइरस

नगेन्द्र

Link copied successfully