पाल्पामा कोरोना संक्रमणबाट थप एकको मृत्यु

मंसिर १, २०७७

माधव अर्याल

पाल्पा — पाल्पामा कोरोना भाइरस संक्रमणबाट सोमबार थप पुरुषको मृत्यु भएको छ ।

उपचारका क्रममा पूर्वखोला गाउँपालिका–३ पूर्वखोलाका ५१ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।

कोरोना भाइरस पुष्टि भएपछि होम आइसोलेसनमा बसेका उनलाई स्वास्थ्य समस्या बढेपछि थप उपचारका लागि आइतबार काठमाडौं लगिएको थियो ।

उनको उपचारका क्रममा सोमबार मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । उनमा कडा खालको निमोनिया र कमलपित्तको समस्या थियो ।

उनको स्थायी ठेगाना पूर्वखोला भएपनि तानसेनमा बस्दै आएका थिए । योसंगै कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या १७ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कोरोना भाइरस

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully