सांसदमात्रै होइन कर्मचारीहरूले पनि दसैं भत्ता कोरोना कोषमा राख्नुपर्छ : भट्टराई- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सांसदमात्रै होइन कर्मचारीहरूले पनि दसैं भत्ता कोरोना कोषमा राख्नुपर्छ : भट्टराई

कान्तिपुर संवाददाता

काठमाडौँ — पूर्वप्रधानमन्त्री तथा संघीय सांसद बाबुराम भट्टराईले सांसदले मात्रै नभएर कर्मचारीले पनि दसैं भत्ताबापतको रकम फिर्ता गर्नुपर्ने आशय व्यक्त गरेका छन् । दसैं भत्ताको विषयमा सांसदहरूको आलोचना भइरहेको बेला भट्टराईको उक्त अभिव्यक्ति आएको हो ।

सोमबार ट्विटरमा भट्टराईले पर्वमुखी भत्ता प्रणालीलाई खारेज गर्नुपर्ने पनि बताएका छन् । भट्टराईले लेखेका छन्, 'मिडियाले कुरीकुरी गरेपछि लोकरिझ्याँइका लागि एक्लाएक्लै दसैं भत्ता नलिने घोषणा गर्नु सट्टा नेता/सांसदहरूले सरकारलाई धर्मनिरपेक्ष देशमा यस्ता पर्वमुखी भत्ता प्रणालीलाई नै खारेज गर्न दबाब दिनुपर्ने हैन र ?'

कर्मचारीले पनि दसैं भत्ताको नाममा ठूलो रकम लिने भएकाले त्यो पनि फिर्ता गर्नुपर्ने भट्टराईको भनाइ छ । त्यस्तो रकम कोरोना पीडितको उपचारमा लगाउनुपर्ने भन्दै उनले लेखेका छन्, 'सांसद मात्र हैन कर्मचारीले समेत एकमुष्ट १५ अर्ब रुपैयाँ कोरोना पीडितमा लगाए पो अर्थ होला ।'

सांसदहरूले दसैं भत्ताबापत प्राप्त गरेको करिब २ करोड रुपैयाँ कोरोना कोषमा राख्ने निर्णय गरेका छन् । सार्वजनिक रूपमा आलोचना भएपछि प्रमुख राजनीतिक पार्टीहरूले संसदीय दलमार्फत् निर्णय गरेर सांसदले दसैं भत्ताबापत प्राप्त गरेको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय लिएका हुन् । प्रधानमन्त्री तथा मन्त्रीहरूले पनि दसैं भत्ता कोरोना कोषमा राख्ने निर्णय लिएका छन् ।

प्रकाशित : कार्तिक ३, २०७७ २१:१४
प्रतिक्रिया
पठाउनुहोस्

एकल महिला, दलित र गरिबलाई राहत

डम्बरसिं राई

खोटाङ — रावाबेंसी गाउँपालिकाले दलित, गरिब र एकल महिलालाई चाड मनाउन राहत उपलब्ध गराएको छ । दसैं–तिहार मनाउन गाउँपालिकाले प्रतिघरपरिवार ३० केजी चामल, दुई केजी दाल, दुई लिटर खानेतेल, दुई किलो नुन र एक डल्ला हात धुने साबुन उपलब्ध गराएको हो ।

गाउँपालिकाभित्रका चार सय १५ घर एकल महिला, दलित र गरिब परिवारलाई नौ लाख ६३ हजार बराबरको राहत सामग्री उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष लीलानाथ निरौलाले बताए । ‘ज्यालादारी काम गरेर जीवन निर्वाह गर्ने परिवारलाई खाद्यान्न अभावले चाड मनाउन समस्या हुने भएकाले राहत वितरण गरिएको हो,’ निरौलाले भने ।

वडा कार्यालयबाट छनोट भएर आएका लक्षित वर्गलाई वितरण गरिने राहत सामग्री खरिद तथा वितरणमा अनियमितता हुन नदिन यस पटक गाउँपालिकाले कुपन सिस्टम लागू गरेको निरौलाले सुनाए । उक्त राहत स्थानीय होलसेल तथा खुद्रा पसलसँग सम्झौता गरेर सामग्री झिकाइएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत रेखबहादुर थापाले बताए ।

गाउँपालिकाले वडा नम्बर–१ कुभिन्डेका ७०, वडा नम्बर–२ खार्पाका ६५, वडा नम्बर–३ लामीडाडाँका ७०, वडा नम्बर–४ धारापानीका ६८, वडा नम्बर–५ दुवेकोलका ५५ र वडा नम्बर–६ हौंचुरका ६५ घरपरिवारलाई राहत सामग्री उपलब्ध गराएको हो ।

गत साउन १८ र १९ गते गएको बाढीपहिरोले अन्नबाली सखाप पारेपछि बिचल्लीमा परेका २२ घरपरिवारलाई समेत राहत सामग्री उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ । उनीहरूलाई पनि प्रतिपरिवार ३० किलोग्राम चामल, दुई किलोग्राम दाल, दुई लिटर खानेतेल, दुई किलोग्राम नुन र एक डल्ला हात धुने साबुन उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष निरौलाले जनाए ।

प्रकाशित : कार्तिक ३, २०७७ २१:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×