कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अशक्त र विपन्‍नको कोरोना उपचार निःशुल्क गर्ने व्यवस्था मिलाइएको छ : सरकारका प्रवक्ता

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले अशक्त र विपन्न वर्गको कोरोना उपचार सरकारले गर्ने कुराको सुनिश्चितता गरिएको बताएका छन् ।

अशक्त र विपन्‍नको कोरोना उपचार निःशुल्क गर्ने व्यवस्था मिलाइएको छ : सरकारका प्रवक्ता

सरकारले कोरोना संक्रमितको उपचारमा लाग्ने खर्च नबेहोर्ने भनेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले दिएको अभिव्यक्तिपछि भइरहेको आलोचनालाई मत्थर पार्ने उद्देश्यले सरकारका प्रवक्ताले उक्त कुरा भनेका हुन् ।

मन्त्रिपरिषद्का पछिल्ला दुई बैठकका निर्णय सार्वजनिक गर्न सिंहदरबारमा आयोजित कार्यक्रममा मन्त्री गुरुङले राज्यले कसैलाई पनि उपचारबाट वञ्चित नगर्ने नीति लिएको दाबी गरेका थिए ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ताले दिएको जानकारीपछि कतिपय सरकारी अस्पतालले कोरोना संक्रमितले आफ्नो उपचार खर्च आफैंले तिर्नुपर्ने भनेर सार्वजनिक सूचना जारी गरेपछि आएका प्रतिक्रियातर्फ लक्षित गर्दै मन्त्री गुरुङले भने, 'सरकारले कोरोना उपचारबाट हात झिकेको हो कि भन्ने कुरा आइरहेका छन् । राज्यले सबै नागरिकको स्वास्थ्य उपचारको व्यवस्थापन र प्रबन्ध मिलाएको छ । स्वास्थ्य संरचनाकोविस्तार गरेको छ ।'

कोरोना भाइरस परीक्षणको दायरा बढाइएको बताउँदै गुरुङले भने, 'कोरोना भाइरसबाट संक्रमितको उपचारमा विशेषतः प्राथमिकता आर्थिक रूपमा विपन्न वर्ग, असाहय, अशक्त, एकल महिला, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिकलाई विशेष रूपमा यी वर्गको निम्ती निःशुल्क उपचारको व्यवस्था गरिएको छ ।'

मन्त्री गुरुङले सबै संक्रमितको निःशुल्क उपचार गर्ने र सर्वोच्च अदालतले दिएको आदेश सरकारले पालना गर्ने कि नगर्ने भन्नेबारेमा केही बताएनन् । सर्वोच्च अदालतले कोरोना संक्रमितको उपचार निःशुल्क गर्न सरकारका नाममा आदेश जारी गरेको थियो ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या दैनिक दुई हजारभन्दा बढीका दरले बढिरहेको बताउँदै मन्त्री गुरुङले क्वारेन्टाइन सेन्टरलाई आइसोलेसन सेन्टर बनाउने निर्णय गरिएको पनि बताए ।

प्रकाशित : कार्तिक ३, २०७७ १८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?