'प्रधानमन्त्रीज्यू बरु सिधै भनिदिनुस्, संक्रमितको संख्या गन्‍नेबाहेक थप केही गरिँदैन'

कार्तिक ३, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस सांसद तथा पूर्वस्वास्थ्यमन्त्री गगन थापाले सरकारले संक्रमितको संख्या गन्ने कामबाहेक केही नगरेको बताएका छन् ।  कोरोना संक्रमितले आफ्नो उपचार आफै गर्नुपर्ने सरकारको पछिल्लो निर्णय आएसँगै थापाले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन् । 

थापाले लेखेका छन्, 'स्वास्थ्य मन्त्रालयको पछिल्लो निर्णय 'कोरोना संक्रमितले आफ्नो उपचार आफैं गर्नू !' यसरी हरेक दिन खुद्राखुद्रामा यस्तो निर्णय गर्नुभन्दा प्रधानमन्त्रीज्यू बरु सिधै भनिदिनुस् 'सरकार स्वयं संक्रमित भएर आइसोलेसनमा रहेकोले अब उपरान्त संक्रमितको संख्या गन्नेबाहेक थप केही नगर्ने जानकारी गराइन्छ ।'

— Gagan Thapa (@thapagk) October 19, 2020

सरकारले संविधानको मौलिक हक र सर्वोच्च अदालतको परमादेशविपरीत कोरोना महामारीको उपचार व्यक्ति आफैंले गर्नुपर्ने निर्णय गरेको थियो । सरकारले अब विपन्न, अशक्तलगायतको मात्र परीक्षण र उपचार खर्च बेहोर्नेछ । ‘कोरोना परीक्षण र उपचार खर्च सरकारले नबेहोर्ने निर्णय आइतबारदेखि नै लागू भएको छ,’ नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सरकारको पछिल्लो निर्णयबारे जानकारी गराएका थिए ।

विज्ञहरूले  भने महामारीका बेला कोभिड–१९ को उपचारका लागि शुल्क लिने सरकारी निर्णय गलत भएको भन्दै यसले डरलाग्दो स्थिति सिर्जना गर्ने चेतावनी दिएका छन् । उनीहरूले नागरिकबाट परीक्षण र उपचार शुल्क लिने कार्य अमान्य भएको बताएका छन् । आमव्यक्ति कोभिड उपचार र पहिचानबाट वञ्चित हुने भएकाले यसले संक्रमणको थप विस्तार गर्न सघाउ पुर्‍याउने उनीहरूको भनाइ छ ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully