सुनसरीमा दुई कोरोना संक्रमितको मृत्यु

प्रदीप मेन्याङ्बो

सुनसरी — सुनसरीमा आइतबार बिहान कोरोना संक्रमित एक महिला र एक पुरुषको मृत्यु भएको छ । मृतकहरुमा एक जना धरान उपमहानगर–८ लाङ्घाली चोककी ८३ वर्षीया महिला र अर्का इटहरी उपमहानगर–१ का ७९ वर्षीय पुरुष रहेका छन् ।

सुनसरीमा दुई कोरोना संक्रमितको मृत्यु

धरानकी वृद्धा महिलाको होम आइसोलेसनमा मृत्यु भएको हो भने पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको हो । प्रतिष्ठानको कोभिड अस्पतालमा भेन्टिलेटर आईसियू अभाव भएपछि होम आइसोलेसनमा बसेकी महिलाको वृद्धाको मृत्यु भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताए । मृतक महिलाको असोज ३० गते प्रतिष्ठानको माइक्रोबायोलोजी विभागको प्रयोगशालामा पीसीआर जाँच गर्दा कोरोना पाजिटिभ रिपोर्ट आएको थियो ।

यसैगरी इटहरी उपमहानगरपालिका–१ का कोरोना संक्रमितको आइतबार बिहानै मृत्यु भएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार मुटु र मधुमेहको दीर्घरोगी समेत रहेका ७९ वर्षीय पुरुषको बिहान ३ बजेर ५ मिनेटमा मृत्यु भएको हो । उनलाई असोज २६ गते पीसीआर जाँच गर्दा कोरोना पाजिटिभ देखिएपछि प्रतिष्ठानको कोभिड अस्पतालमा २७ गते भर्ना गरिएको थियो ।

योसहित सुनसरीमा हालसम्ममा ४६ जना कोरोना संक्रमितको मृत्यु भएको इनरुवास्थित स्वास्थ्य कार्यालयकी कोरोना संयोजक दीक्षा श्रेष्ठले जानकारी दिएका छन् । तीमध्ये धरानका मात्र २८ जना छन् ।

प्रकाशित : कार्तिक २, २०७७ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?