कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रपति, प्रधानमन्त्री र पूर्वराजाले सर्वसाधारणलाई दसैंको टीका नलगाइदिने

कान्तिपुर संवाददाता

काठमाडौँ — यस वर्षको दसैंमा राष्ट्रपति, प्रधानमन्त्रीलगायतले सर्वसाधारणलाई टीका नलगाइदिने भएको छ । कोरोना भाइरस (कोभिड १९) संक्रमण फैलने उच्च जोखिमका कारण सर्वसाधारणलाई राष्ट्रपति, प्रधानमन्त्रीलगायतले टीका नलगाइदिने भएको हो । 

राष्ट्रपति, प्रधानमन्त्री र पूर्वराजाले सर्वसाधारणलाई दसैंको टीका नलगाइदिने

विगतका वर्षहरुमा राष्ट्रपति, प्रधानमन्त्री र पूर्वराजाले समेत दुई/तीन दिनसम्म सर्वसाधारणलाई दसैंको टीका लगाइदिने गरिन्थ्यो । यस वर्षको दसैं शनिबारबाट सुरुवात भइसकेको छ । टीका लगाउने दिन कात्तिक १० गते परेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले विगतको जस्तो दसैंको टीका लगाउने कार्यक्रम नराखिएको बताए । उनले आधिकारीक रूपमा यसबारे केही दिनमै जानकारी दिइने बताए । 'यसपालीको दसैंमा पहिलाको जस्तो राष्ट्रपतिबाट टीका लगाइदिने कार्यक्रम कम छ । टीका लगाइदिनका लागि सार्वजनिक आह्वान हुने सम्भावना कम छ । यसबारे थप कुरा २-४ दिनभित्रै विज्ञप्ति जारी गरेर जानकारी दिइनेछ,' उनले भने ।

विगतका वर्षहरूमा राष्ट्रपतिले उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, सुरक्षानिकायका प्रमुखहरू, संवैधानिक आयोगका प्रमुखहरू लगायत उच्च पदस्थ व्यक्तिहरूलाई दसैंको टीका लगाइदिने गरिन्थ्यो ।

त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यस पटकको दसैंमा सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम नरहेको बताइएको छ । प्रधानमन्त्रीको स्वकीय सचिवालयका अधिकारीहरूका अनुसार कोरोनाका कारण यसपटक त्यस्ता कार्यक्रम राखिएको छैन ।

विगतका वर्षहरूमा प्रधानमन्त्री ओलीले तीन दिनसम्म पनि सर्वसाधारणलाई दसैंको टीका लगाइदिने गरेका थिए । यसपटक कोरोनाका उनी उच्च स्वास्थ्य सतर्कता अपनाइरहेका छन । प्रधानमन्त्रीका सल्लाहकारहरू र स्वकीय सचिवालयमा रहेका व्यक्ति तथा सुरक्षाकर्मीहरूमा कोरोना संक्रमण भएसँगै बालुवाटारमा थप स्वास्थ्य सतर्कता अपनाइएको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहले पनि यसपटक सर्वसाधारणलाई दसैंको टीका लगाउने कार्यक्रम रद्द भएको जानकारी दिएका छन् । शाहका तर्फबाट जारी विज्ञप्तिमा दसैंमा सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम नरहेको उल्लेख गरिएको छ । यस वर्ष महाअष्टमीका दिन विभिन्न शक्तिपीठहरूमा दर्शन गर्ने र विजया दशमीका दिन टीका लगाइदिने कार्यक्रम नहुने विज्ञप्तिमा लेखिएको छ ।

विगतका वर्षहरूमा पूर्वराजा शाहले दसैंका अवसरमा मुलुकका विभिन्न भागमा रहेका शक्तिपीठहरूमा गएर पूजाआजा गर्ने र दसैंमा सर्वसाधारणलाई टीका लगाइदिने गरेका थिए ।

प्रकाशित : कार्तिक १, २०७७ १७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?