कोरोनाको एन्टिजेन परीक्षणको अधिकतम शुल्क एक हजार रुपैयाँ

आश्विन २७, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको एन्टिजेन परीक्षणका लागि अधिकतम शुल्क १ हजार रुपैयाँ तोकेको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेशनल टेस्टिङ गाइडलाइन फर कोभिड १९ को चौथो संशोधन स्वीकृत भएको भएको जनाउँदै परीक्षणको शुल्क पछि परिमार्जन हुँदै जाने बताए ।

अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन, इमरजेन्सी युज अथोरोइजेसनबाट मान्यता प्राप्त किट र स्वास्थ्य सेवा विभागबाट स्वीकृत भएका किटमात्र सूचिकृत हुनुपर्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट अनुमति पाएका प्रयोगशालालाले मात्र यो परीक्षण गर्न पाउनेछन् ।

बायोसेफ्टी प्रोटोकल नमुना संकलन परीक्षण विधि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट तोकेबमोजिम हुनेछ । परीक्षणको नतिजा पोजिटिभ आएका इडिसिडी र सम्बन्धित स्वास्थ्य कार्यालय र सम्बन्धित व्यक्तिलाई दिनुपर्नेछ ।

के हो एन्टिजेन किट ?

सामान्य भाषामा भन्नुपर्दा एन्टिजेन परीक्षणमा कोरोना भाइरसको खोलमा रहेको प्रोटिन पहिचान गरिन्छ । यदि नमुनामा सो प्रोटिन रहेको देखिए त्यसको उपस्थितिले शरीरमा भाइरस सक्रिय रहेको जनाउँछ । एन्टिजेनकै प्रतिक्रिया स्वरुप शरीरले एन्टिबडी उत्पादन गर्छ । यो परीक्षण गर्ने प्रक्रिया र पहिला प्रयोग गरिएको एन्टिबडी परीक्षणको प्रविधि लगभग उस्तै नै हो ।

धेरै व्यक्तिको एकैपटक परीक्षण गर्नुपरे, छिटो निर्क्योल गर्नुपर्ने अवस्था रहे तथा एकै स्थानमा धेरैजना बसोबास गर्ने स्थान जस्तै ब्यारेक, कारागार तथा वृद्धाश्रम लगायतका स्थानमा एन्टिजेनमा आधारित द्रूत परीक्षण किटबाट परीक्षण गर्न सकिने उल्लेख छ ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully