भरतपुर अस्पतालमा एक काेराेना संक्रमितको मृत्यु

आश्विन १२, २०७७

रमेशकुमार पौडेल

चितवन — कोरोना संक्रमण पुष्टि भएका एक जना मृगौला रोगीको सोमबार दिउँसो भरतपुरको सरकारी अस्पतालमा मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले दिएको जानकारी अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका–७ घर भएका ५५ वर्षीय पुरुष रहेका छन् । दुवै मृगौलाले काम नगरेपछि उनले अस्पतालमा डायलाइसिस सेवा लिदै आएका पनि थिए ।

उनमा असोज ४ गते कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो । असोज ७ गते उनी भरतपुर अस्पतालको आइसोलेसनमा भर्ना भएका थिए । अवस्था थप चिन्ताजनक भएपछि असोज ८ गते कोभिड आईसीयूमा राखेर उपचार र डायलाइसिस गराउँदै आएको सूचना अधिकारी पौडेलले बताए । सोमबार दिउँसो सवा एक बजे उनको निधन भएको अस्पतालले जनाएको छ ।

योसहित चितवनमा कोराना भाइरसको संक्रमण देखिएका ३८ जनाको निधन भएको छ । जसमध्ये चितवन घर ठेगना भएका संक्रमित मृतकको संख्या १९ छ । अरु उपचारका लागि भरतपुरका विभिन्न अस्पतालमा भर्ना भएका बाहिरी जिल्लाका संक्रमितहरु हुन् । चितवन स्वास्थ्य कार्यालयका अनुसार चितवनमा आइतबार दिउँसोसम्म संक्रमितको संख्या १ हजार ७ सय ७१ पुगेको छ । निको हुने संक्रमित ७ सय ७२ छन् ।

कोरोना भाइरस

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully