अतिक्रमित कालापानी क्षेत्रमा बस्ती बढाउँदै भारत- समाचार - कान्तिपुर समाचार

अतिक्रमित कालापानी क्षेत्रमा बस्ती बढाउँदै भारत

नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक आसपासका क्षेत्रमा पर्यटनलगायतका गतिविधि अगाडि बढाउन भारतले ‘आर्थिक सबलीकरण’ को नीति अघि सार्‍यो
सैन्य गतिविधिका लागि सहज हुने गरी पूर्वाधार निर्माणलाई पनि तीव्रता
सुरेशराज न्यौपाने

नयाँदिल्ली — नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक आसपासका क्षेत्रमा आवादी बढाउन भारतले पर्यटन तथा अन्य पूर्वाधार निर्माण अगाडि बढाउने भएको छ । लद्दाख क्षेत्रमा चीनसँग सीमा विवाद कायमै रहेका बेला भारतले चीन र नेपालसँगका सीमावर्ती गाउँहरूलाई लक्ष्य गर्दै यस किसिमका आर्थिक सबलीकरणको नीति अघि सारेको हो ।

व्यास र कुटीलगायतका गाउँमा पर्यटन प्रवर्द्धन र अन्य पूर्वाधार विकासका कार्यक्रम सुरु गर्ने भारतको तयारी छ । त्यस क्षेत्रमा पर्यटक लक्षित गतिविधिलाई खुकुलो पार्दै लगिने भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार सीमावर्ती क्षेत्रमा आर्थिक र पर्यटकीय गतिविधिले नागरिकको उपस्थिति बढ्दा सुरक्षा निकायलाई सूचना प्राप्त गर्न सहज बन्ने र सीमा क्षेत्रमा हुने अतिक्रमण रोकिने बुझाइ भारत सरकारको छ ।

भारतले चीन र नेपालसँगको सीमावर्ती राज्य उत्तराखण्डका विभिन्न गाउँलाई इनर लाइन परमिट (आईएलपी) बाट बाहिर राख्ने भएको छ । आईएलपी क्षेत्र प्रवेश गर्न केन्द्रीय गृह मन्त्रालयको स्वीकृति चाहिन्छ । यस विषयमा उत्तराखण्डका पर्यटनमन्त्री सत्पाल महाराजले केन्द्रीय पर्यटनमन्त्री प्रल्हाद पटेलसँग करिब दुई महिनाअघि औपचारिक छलफल गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । यसमा केन्द्र सरकारले सकारात्मक जवाफ दिएको भारतीय अंग्रेजी दैनिक ‘द इन्डियन एक्सप्रेस’ ले उल्लेख गरेको छ ।

स्रोतका अनुसार भदौ अन्तिम साता महाराजले मन्त्री पटेललाई सीमा क्षेत्रमा रहेका पर्यटकीय र धार्मिक स्थलहरूको सूची समेटेर औपचारिक पत्र नै लेखेका थिए । पहिलो चरणमा उत्तरकाशीको नेलोङ उपत्यका, हनोल, तिउनी, देहरादूनको चक्रता, चमोलीको महादेव मन्दिरलाई समावेश गरिएको छ । उत्तराखण्ड सरकारले आईएलपीलाई खुकुलो पारिएको खण्डमा सीमावर्ती दुर्गम गाउँहरूमा होमस्टेको विकास हुने र त्यसले त्यहाँका स्थानीय नागरिकलाई विस्थापित हुनबाट रोक्ने महाराजले दाबी गरेका छन् ।

दोस्रो चरणमा भने कुटी र व्यास गाउँ र आसपासको क्षेत्रलाई समावेश गरिने भएको छ । ‘नेपालसँगका सीमावर्ती गाउँहरूमा पनि अतिक्रमण देखिएको छ र केही विदेशी सीमावर्ती गाउँहरूमा बस्न थालेका छन् र स्याटलाइट फोनको प्रयोग पनि बढेको छ,’ महाराजलाई उद्धृत गर्दै इन्डियन एक्सप्रेसले लेखेको छ, ‘आदिवासी क्षेत्रमा समेत आईएलपीलाई खुकुलो पार्ने माग उठिरहेको छ ।’

दार्चुलाको ब्यास गाउँपालिका-१ छाङरु गाउँको पारिपट्टि भारतको गर्ब्याङ गाउँ । सौका समुदायको बसोबास रहेको यो गाउँसँगै भारतीय सुरक्षाकर्मीको पोस्ट छ । यो गाउँबाट करिब १० किलोमिटर अगाडि महाकालीवारि भारतले अतिक्रमण गरेको नेपाली भूमि गञ्जी गाउँ पर्छ । तस्बिर : मनोज बडू/कान्तिपुर

कुटी र व्यास गाउँ नयाँ राजनीतिक नक्साअनुसार नेपालभित्रै पर्छन् । सन् १८१६ को सुगौली सन्धिलाई आधार बनाएर नेपालले गत जेठ ७ मा लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको थियो । निसान छापमा नक्सा सच्याउन संविधान संशोधनसमेत गरियो । नयाँ नक्साअनुसार लिम्पियाधुरासम्मकै गाउँहरू नेपालभित्र पर्छन् । कालापानी क्षेत्रमा भारतले सात दशकदेखि आफ्नो सैनिक पोस्ट राखेको छ । भारतले भने नेपालको नयाँ नक्सा मान्य नहुने बताउँदै आएको छ ।

नक्सा प्रकाशन गरे पनि नेपालले सीमाबारे छलफल गर्न धेरैपटक आग्रह गरिसकेको छ । तर भारतले बेवास्ता गर्दै आएको छ । उल्टो नेपालले आफ्नो नक्सामा समावेश गरेको क्षेत्रमा पनि आफ्नो सैन्य उपस्थिति बढाउँदै लगेको छ । सैन्य गतिविधिका लागि सहज हुने गरी पूर्वाधार निर्माणलाई पनि तीव्रता दिएको छ ।

यसअघि गत वैशाख २६ नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवरसम्म जोड्ने लिंक रोड भारतका रक्षामन्त्री राजनाथ सिंहले उद्घाटन गरेका थिए । त्यसप्रति नेपालले आपत्ति जनाएको थियो । त्यसयता नेपाल र भारतबीचको सम्बन्ध तनावपूर्ण रहँदै आएको छ । त्यसपछि पनि भारतले आफ्ना तर्फबाट पूर्वाधार निर्माणको कामलाई रोकेको छैन ।

उत्तराखण्ड सरकारले सीमावर्ती क्षेत्रमा सञ्चारसुविधा विस्तार गर्नेसम्बन्धी निर्णयसमेत गरेको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार त्यसका लागि राज्यसरकारले सीमावर्ती क्षेत्रमा मोबाइल फोनको टावर राख्न अनुदान दिने निर्णय गरिसकेको छ । लद्दाखको सीमामा चीनसँग तनाव बढ्दै गएपछि नेपालसँगका सीमावर्ती क्षेत्रमा सडक, हेलिप्याडलगायतका भौतिक पूर्वाधार निर्माणदेखि टेलिफोनका टावर ठड्याउने काम पनि अघि बढाइएको छ ।

छाङरु गाउँको पारिपट्टि भारतको गर्ब्याङ गाउँ तस्बिर : मनोज बडू/कान्तिपुर

नेपाली भूमिसमेत समेटेर पूर्वाधार निर्माण गर्ने भारत सरकारको तयारीबारे दिल्लीस्थित नेपाली दूतावासका प्रवक्ता हरि ओडारीले प्रतिक्रिया जनाउन चाहेनन् । ‘हाम्रो भूमि कहाँसम्म हो भन्ने नक्साले प्रस्ट पारिसकेको छ । त्यसैले यस विषयमा भन्नुपर्ने केही छैन,’ उनले भने ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार केही साताअघि मात्र उत्तराखण्डका मुख्य मन्त्री त्रिवेन्द्रसिंह रावत र इन्डो–तिब्बत बोर्डर पुलिस (आईटीबी) का महानिर्देशक एसएस डेसवालबीच सीमावर्ती क्षेत्रमा बसोबास बढाउने, सडक, मोबाइल र विद्युत् आपूर्ति र पर्यटकीय गतिविधि प्रवर्द्धन गर्ने विषयमा छलफल भएको थियो । उत्तराखण्ड राज्य सरकारले भारतीय स्थल सेना र वायु सेनाको उपस्थितिलाई पनि थप बलियो बनाउन विभिन्न निर्णयहरू गरेको समेत भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । जसअन्तर्गत राज्य सरकारले चमोली, पिथौरागढ र उत्तरकाशीमा भारतीय वायु सेनाका लागि एअर डिफेन्स रडार जडान गर्न सहमति जनाएको छ । भारतीय वायु सेनाले एअरस्ट्रिप निर्माणको प्रस्तावसमेत गरेको इन्डियन एक्सप्रेसले जनाएको छ ।

यस विषयमा ११ सेप्टेम्बरमा वायु सेनाका मध्य कमाण्ड प्रमुख एअर मार्सल राजेश कुमार र उत्तराखण्डका मुख्यमन्त्री रावतबीच छलफल भएको समेत पत्रिकाले उल्लेख गरेको छ । उत्तराखण्डमा बन्ने एअरस्ट्रिप जहाजलाई इन्धन र हातहतियार ओराल्न उपयोगी हुने बताइएको छ । यी पूर्वाधारको प्रमुख लक्ष्य चीनसँगको सीमावर्ती क्षेत्रमा आफ्नो उपस्थिति बलियो बनाउनु रहे पनि नेपालसँगको सीमामा समेत निगरानी बढाउनु रहेको सहजै बुझ्न सकिन्छ । नेपालले नयाँ राजनीतिक नक्सा प्रकाशन गरेयता दार्चुलासँग जोडिएका सीमावर्ती क्षेत्रमा भारतीय पक्षले बढाएको हवाई गस्तीले पनि त्यसलाई पुष्टि गर्छ ।

प्रकाशित : आश्विन २, २०७७ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्

सवारी खुले पनि छैनन् यात्रु

बिहीबार ५६ वटा यात्रु बस मात्र उपत्यकाबाट बाहिरिए
देशभर २० प्रतिशत सवारी मात्र चले
विमल खतिवडा, घनश्याम गौतम

काठमाडौँ/रूपन्देही — लामो दूरीका सवारी ६ महिनापछि सञ्चालनमा आए पनि बिहीबार यात्रुको चहलपहल त्यति देखिएन । गोंगबुस्थित नयाँ बसपार्क यो दिन सुनसान जस्तै बन्यो । यहाँ गाडी कम थिए । यात्रुको चाप पनि खासै थिएन ।

कोभिड–१९ का कारण चैत ११ देखि लकडाउन भएपछि प्रायः यात्रु बस उपत्यकाबाहिर नै रोकिएका थिए । पहिलो दिन बिहीबार कुल सिट क्षमताको आधा मात्र यात्रु राखेर गाडी पठाइएको नयाँ बसपार्क सञ्चालन गर्दै आएको ल्होत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनील कुँवरले जानकारी दिए । ‘नयाँ बसपार्कबाट पहिलो दिन १५ वटा गाडी मात्र छुटे,’ उनले भने, ‘पूर्वका गाडी पूर्वमै र पश्चिमका गाडी उतै रहेकाले पुरानो अवस्थामा पुग्न अझै एक/दुई दिन लाग्छ ।’ पहिला सामान्य अवस्था हुँदा दैनिक ४ सयदेखि ६ सयसम्म गाडी छुट्थे । अहिले सबै गाडी बाहिर छन् ।

‘गाडी बिस्तारै भित्रिँदै जान्छन्,’ कुँवरले भने, ‘कोभिडको जोखिम कम गर्न कम्प्युटर प्रणालीमार्फत टिकट बिक्री थालेका छौं ।’ यसका लागि यात्रुले भौतिक दूरी कायम गरेर लाइन बस्नुपर्नेछ । यात्रुको संख्या बढेपछि टोकनको व्यवस्था गरिनेछ । अब सधैंका लागि कम्प्युटर प्रणाली सुरु गरिएको उनले बताए । ‘कोभिडको जोखिम कहिलेसम्म कायम रहन्छ थाहा छैन,’ उनले भने, ‘त्यसैले अब चाँडै नै अनलाइनमार्फत टिकट बुकिङ गर्ने व्यवस्था गर्दै छौं, यसबारे सबै यातायात व्यवसायीसँग छलफल भइरहेको छ ।’ दसैंपछि अनलाइनबाट सेवा दिने तयारी भइरहेको उनको भनाइ छ ।

पहिलो दिन सबै गाडी सेनिटाइज गरेर पठाइएको छ । ‘खासै यात्रु भएनन्, भोलि–पर्सिका लागि टिकट सोध्न पनि एक–दुई जना मात्र यात्रु आए,’ उनले भने, ‘सुरुमा गाडी ५ गते खुल्छ भन्ने कुरा आयो, पछि १ गते खुलेकाले टिकट बुक गर्नेहरू कम भएका हुन् ।’ उनका अनुसार बिस्तारै गाडीको संख्या बढ्दै जानेछ । कोरोनाको जोखिम दिन प्रतिदिन बढ्दै गएकाले यात्रु अझै गाडी चढ्न डराइरहेका छन् ।

देशभर विश्वकर्मा पूजा गरेर सवारी सञ्चालनमा ल्याइएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए । ‘जहाँ प्रारम्भिक रूपमा मात्र सञ्चालनमा आएका छन्, त्यहाँ पनि बिस्तारै संख्या बढ्दै जानेछ,’ उनले भने । लामो दूरीका गाडी काठमाडौंमा कम थिए । ‘धेरै गाडी बाहिरै छन्,’ उनले भने, ‘पहिला यताबाट जाने र उताबाट आउने हुन्छ, त्यसपछि बिस्तारै भित्रिने र बाहिरिने सवारीको संख्या बढ्छ ।’

पहिलो दिन करिब २० प्रतिशत गाडी मात्र सञ्चालनमा आएको उनको भनाइ छ । ‘यात्रु पनि पर्ख र हेरको अवस्थामा छन्, त्यसैले चहलपहल कम रह्यो,’ उनले भने, ‘गाडी खुलेकै दिन विश्वकर्मा पूजा भनेर पनि यात्रु कम निस्किए ।’ पहिलो दिन यात्रुको भीडभाड नदेखिएको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालले बताए । ‘बिहीबार साँझसम्म ७९ वटा यात्रुबस काठमाडौं भित्रिए । र, ५६ वटा बाहिरिए । पहिलो दिन स्वास्थ्य मापदण्ड पूरा गरेरै गाडी चलाएको पाइयो,’ उनले भने ।

सरकारले आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर छोटा, मध्यम र लामा दूरीका सवारी असोज १ बाट सञ्चालन गर्न दिएको हो । यसरी सञ्चालनमा आएका बसले सरकारले तोकेको भाडादरमा ५० प्रतिशत बढी रकम लिन पाउनेछन् । साथै कुल सिट संख्याको आधा मात्र यात्रु बोक्न पाउनेछन् । यातायात व्यवसायीले स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ । स्वास्थ्य मन्त्रालयको हेल्थ प्रोटोकललाई कडाइका साथ पालना गर्ने गरी व्यवसायीले आफ्ना सवारी चलाउनेछन् । देशभर करिब साढे ३ लाख गाडी सञ्चालनमा छन् ।

रूपन्देहीमा चल्दै चलेनन्

सरकारले लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालन गर्ने निर्णय गरे पनि प्रदेश ५ का ठूला सहरमा बिहीबार सवारीसाधन चल्न सकेनन् । रूपन्देही प्रशासनले बिहीबार यसअघिकै निर्णय यथावत् रहेको जानकारी दिएपछि जिल्लाभर लामो तथा छोटो दूरीका सवारीसाधन चल्न नसकेका हुन् ।

बिहीबारदेखि यातायात सञ्चालन हुने खबरले गन्तव्यमा जान सडकमा निस्केका यात्रु सवारी नपाएपछि अलपत्र परेका छन् । त्यस्तै बिहीबार नै विश्वकर्मा पूजाका कारण दाङ, बाँकेलगायत जिल्लामा पनि न्यून संख्यामा मात्र सवारी चले । यसअघि लकडाउन खुकुलो पारिएको समयमा दुई सातासम्म चलेका बुटवल–भैरहवा छोटो दूरीका यातायात पनि बिहीबार चल्न सकेनन् । जिल्लाको कोभिड–१९ क्राइसिस व्यवस्थापन सेन्टरको समन्वयमा होटल तथा रेस्टुरेन्ट सञ्चालन मापदण्ड बनाएर यातायात र होटल क्षेत्र खुला गरिने रूपन्देहीका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले बताए । सार्वजनिक यातायात र होटल क्षेत्र सञ्चालनको छुट्टै मापदण्ड बनाउने स्थानीय प्रशासनको तयारी छ । ‘सार्वजनिक यातायात र होटल क्षेत्रको मापदण्डको विषयमा हामी छलफल गर्दै छौं,’ उनले भने, ‘शुक्रबारदेखि यातायात चल्छन् ।’

स्थानीय प्रशासनबाट यातायात क्षेत्रको बन्दाबन्दीको निर्णय जारी रहेको भन्ने जानकारी आएकाले सवारीसाधन नगुडेको पश्चिम नेपाल यातायात प्रालिका अध्यक्ष दधिराम खरेलले बताए । ‘हामी स्थानीय प्रशासनको निर्णय कुर्दै छौं,’ उनले भने, ‘निर्णय हुनासाथ सवारी चलाउन व्यवसायी तयारी छन् ।’ लामो दूरीका सवारीसाधन भने शुक्रबारबाट चल्ने उनले जानकारी दिए । लामो समय बन्द रहेका सवारीसाधन व्यवसायीले बिहीबार विश्वकर्मा पूजाकै अवसरमा सरसफाइ र मर्मत गरिरहेका छन् । यसअघि बस मर्मतका लागि ग्यारेज पनि लकडाउनकै कारण बन्द थिए । बुटवलको मैनाबगरमा रहेको अटो व्यवसाय क्षेत्र मंगलबारदेखि पूर्ण रूपमा खुलेको छ । ग्यारेज ढिला खोलिएकाले बस मर्मतमा समय लागेको व्यवसायी विष्णु खनालले बताए ।

प्रकाशित : आश्विन २, २०७७ ०७:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×