कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

धाँजा फाटेका बस्ती नसार्दा २२ घर बगे

११ को शव फेला, २० बेपत्ता
अनिश तिवारी

सिन्धुपाल्चोक — भूकम्प र परकम्पले भिरालो जमिनमा धाँजा फाटेका थिए । वर्षात्ले माथिल्लो भाग केही भास्सियो । गत पुसमा सुक्खा पहिरोसँगै केही ढुंगा खसेपछि स्थानीय केही सतर्क त थिए, तर यस्तो भइहाल्ला भन्ने अनुमान गरेका थिएनन् ।

धाँजा फाटेका बस्ती नसार्दा २२ घर बगे

बेलुकीदेखिको अविरल वर्षाले उर्लिएको टक्सारे खोल्सासँगै थिलथिलो बनेका बाह्रबिसे नगरपालिका–७ घुम्थाङको भीरखर्क, नागपुजे, डाँडागाउँ बस्तीका २२ घर पहिरोले बगाउँदा ११ जनाले ज्यान गुमाएका छन् । २० जना बेपत्ता छन् ।

शनिबार राति करिब साढे ३ बजे एकै पटक पहिरो खस्दा भीरखर्क, नागपुजे र डाँडागाउँ बस्तीका २२ घर भोटेकोसी नदीमा मिसिएका हुन् । ‘यसरी पहिरो आउलाजस्तो लागेको थिएन । अनुमानै नगरेको घटना भयो,’ घटनापछि शोकाकुलको भीडमा कहालिँदै रोइरहेका बाह्रबिसे–७ घुम्थाङ भीरखर्कका ७० वर्षीय सूर्यबहादुर खड्काले भने ।

पहिरो जानुअघिको घुम्थाङ बस्ती

भूकम्प र अविरल वर्षाले थिलथिलो बनेर जोखिमपूर्ण बनेको भूभागको बासलाई गाउँलेले जोखिम अनुमान गरे पनि नछाड्नु र स्थानीय सरकारले पनि वास्ता नगर्दा जनधनको ठूलो क्षति भएको उनले बताए । ‘यस्तो भइहाल्ला भनेर कसैले सोचेको थिएन,’ उनले भने ।

घुम्थाङ गाउँको माथिल्लो क्षेत्र भीरखर्क, नागपुजे, नेवार टोलीदेखि तल्लो गाउँभर झन्डै दुई सय परिवारको बसोबास थियो । भूकम्पपछि घुम्थाङ गाउँभर एकै नीलो रङका चिटिक्कका घरहरू बनेका थिए ।

बर्खाको सुरुमा नागपुजेमा थोरै पहिरो खस्ने जोखिम देखिएपछि स्थानीयले जनप्रतिनिधिलाई समस्याबारे जानकारी दिएका थिए । ‘सामान्य भास्सिएको जमिनले हाहाकार मच्चियो । चिटिक्क बस्ती ध्वस्त बनायो, आफन्त छिमेकी सबै हराए,’ खड्काले भने ।

भीरखर्कभन्दा तल्लो नागपुजे क्षेत्रमा पहिरोको समस्या देखिएपछि एक साताअघि जनप्रतिनिधिबीच छलफल गरेर बस्ती सार्न स्थानीय प्रशासन र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई गुहारिएको थियो । बाह्रबिसे–७ का वडाध्यक्ष मीनबहादुर श्रेष्ठ भन्छन्, ‘तर प्राधिकरणले कुनै वास्ता गरेन । हामी अनुरोध गर्दागर्दै थाक्यौं, यस्तो भयावह घटना भयो ।’

बर्खाको पहिरोले थोरै समस्या देखिएकाले पल्लो मानेडाँडामा सर्ने तयारीसमेत भइरहेका बेला घटना भएको नागपुजेकी सुनकुमारी तामाङले बताइन् । ‘पहिरोमा सर्वस्व गुमाएँ । सबै आफन्त गुमे, यत्रो पहिरो आउला भन्नेजस्तो लागेकै थिएन,’ उनले भनिन् । पल्लोछेउदेखि वारि भीरखर्क क्षेत्रभरि नै पहिरो खसिरहेकाले शोकाकुल स्थानीय त्रसित भएर तल्लो भेगमा बसाइँ सरिरहेको उनले बताइन् । ‘जनप्रतिनिधिले भूगर्भविद् ल्याएर किन अध्ययन गरेनन् ? बेलामै सतर्क बनाएको भए यत्रो मान्छेले ज्यान गुमाउँदैनथे,’ उनले भनिन् ।

घुम्थाङस्थित भीरखर्क, नागपुजेको बस्ती वरपर पहिरोले लाछिएर ध्वस्त बनाएपछि शोकाकुल ५८ परिवार तल्लो गाउँमा सरेका छन् । बाह्रबिसे–७ का वडाध्यक्ष मीनबहादुर श्रेष्ठका अनुसार भीरखर्कभन्दा तल्लो नागपुजे क्षेत्रमा पहिरोको समस्या देखिएपछि एक साताअघि जनप्रतिनिधिबीच छलफल गरेर बस्ती सार्न स्थानीय प्रशासन र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई गुहारिएको थियो । ‘तर, प्राधिकरणले कुनै वास्ता गरेन,’ उनले भने, ‘हामी पनि अनुरोध गर्दागर्दै थाक्यौं, यस्तो भयावह घटना भयो ।’

सिन्धुपाल्चोक पहिरोका घाइते भन्छन् -‘पहिरो छल्दै भागें, दैवले बचाए’

पहिरोले गाउँ नै बगाएपछि त्रसित स्थानीय तल्लो सुरक्षित स्थानमा पाल टाँगेर सरिरहेको उनले बताए । ‘केही छिमेकीको घरमा आश्रय लिएर पनि बसिरहेका छन्, गाउँ नै जोखिम भएपछि अब कहाँ जाने के गर्ने हामी आफैं अन्योलमा छौं,’ उनले भने ।

भीरखर्कको माथिल्लो विक टोल वरिपरि पहिरोले थुनिएपछि इलाका प्रहरी बाह्रबिसेका इन्स्पेक्टर नवराज न्यौपानेले सुरक्षाकर्मीको टोलीलाई पुग्नै हम्मे परेको बताए । दुई घण्टापछि मात्रै पहिरोबीच अड्किएका स्थानीयलाई सुरक्षाकर्मीले उद्धार गरेका हुन् । ‘आवश्यक जनशक्ति र पहिरो आउनुपूर्वको तयारी, सतर्कता नहुँदा घटनाले गम्भीर रूप लिएको हो । पुलिसले मात्रै के–के गरून् ?,’ स्थानीय निमा शेर्पाले भने । पहिरो जानुअघि नआएको भन्दै आइतबार घटनास्थल अवलोकनमा पुगेका प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटा, बाह्रबिसेका नगरप्रमुख निमफुन्जो शेर्पा, उपमेयर सुशीला पाख्रिनप्रति स्थानीयले आक्रोश पोखेका थिए ।

जिल्ला प्रहरीका डीएसपी प्रकाश सापकोटाका अनुसार नागपुजे र भीरखर्कको पहिरोमा घरसँगै बगेर बेपत्ता ३१ मध्ये आइतबार साँझसम्म ११ जनाको शव फेला परेको छ । पहिरोले घर पुरेका ठाउँमा ९, सुनकोसी र भोटेकोसी नदीमा एक/एक जनाको शव फेला परेको हो । २० जना अझै बेपत्ता छन् । सेना, सशस्त्र र नेपाल प्रहरीको टोलीले बेपत्ताको खोजी र शवको उद्धार जारी राखेको जानकारी उनले दिए । पहिरोमा घाइते भएर बलेफी गाउँपालिका–७ खाडीचौरस्थित सिन्धुसदाबहार अस्पताल लगिएका तीनमध्ये अवस्था गम्भीर भएका एक जनालाई काठमाडौं पठाइएको छ ।

प्रकाशित : भाद्र २९, २०७७ ०६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?