'कोरोना संक्रमित र अन्य बिरामीलाई एउटै अस्पतालमा उपचार गर्दा संक्रमणको जोखिम बढ्यो'

काठमाडौँ — कोरोना संक्रमण भएका व्यक्तिको उपचार र सामान्य बिरामीको उपचार एउटै अस्पतालमा गर्दा कोरोना भाइरस (कोभिड- १९)को संक्रमण फैलिने सम्भावना बढेको स्वास्थ्यकर्मीले बताएका छन् । कोभिड- १९ डेडिकेटेड अस्पतालको संख्या बढाएर अरु बिरामीलाई उपचार गर्ने अस्पतालमै कोरोना संक्रमितलाई राख्न नहुने उनीहरूले बताएका छन् । 

'कोरोना संक्रमित र अन्य बिरामीलाई एउटै अस्पतालमा उपचार गर्दा संक्रमणको जोखिम बढ्यो'

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले गठन गरेको उपसमितिको बैठकमा सरकारी तथा निजी अस्पतालका पदाधिकारीले कोरोनाको उपचार कसरी भइरहेको छ भन्ने जानकारी गराएका थिए ।

छलफलका क्रममा बीएन्डबी अस्पतालकी कोभिड व्यवस्थापन प्रमुख डा. संगिता शाक्यले कोरोना संक्रमितलाई पनि अरु बिरामीसँगै राखेर उपचार गर्नु गल्ती भएको बताइन् । 'सबैभन्दा ठूलो गल्ती कोभिड र ननकोभिड बिरामीहरू एकै ठाउँमा राखेर भएको छ । त्यो गल्ती हामीले गरिरहेका छौँ ।'

संसदीय उपसमितिमार्फत सरकारलाई उनको आग्रह थियो, 'यो गर्नुको सट्टा कोभिड डेडिकेटेड अस्पतालको क्षमता बढाएर कोभिड बिरामीहरूलाई कोभिडका लागि तोकिएका अस्पतालमा राख्यो भने कमसेकम ननकोभिड बिरामीले त सेवा पाउने थियो ।'

अन्य बिरामीको उपचार गर्ने अस्पतालमा कोरोना संक्रमितको पनि उपचार गर्दा स्वास्थ्यकर्मीले बिरामीको उपचार गर्न डराइरहेको डा. शाक्यको भनाइ थियो । 'स्टाफहरूले बिरामी छुन डराउँछन् । हामीले त्यो समस्या भोगिरहेका छौँ । नर्सहरूले बिरामी छुन डराउँछन्,' बिरामी आएपछि पीसीआर परीक्षण रिपोर्ट बिना उपचार गर्न स्वास्थ्यकर्मी डारइहरेको समस्या भोगिरहेको उनको भनाइ थियो ।

'राति १२ बजे आएको बिरामी बच्चालाई बिहान ४ बजेसम्म इमरजेन्सीमा नल्याउ भन्छ । पीसीआर टेस्ट गरेर मात्र ल्याउ भन्छ । यो हाम्रो अस्पतालको समस्या मात्रै हाइन अरु अस्पतालमा यस्तै समस्या छ,' डा. शाक्यले भनिन्, 'अरु बिरामीको उपचार गर्ने अस्पतालमा २० प्रतिशत कोभिड संक्रमितको उपचार गर्दा झन् जोखिम भयो ।'

वीर अस्पतालका निर्देशक केदारप्रसाद सेन्चुरीले कोरोना संक्रमितसँगै अन्य बिरामीको पनि उपचार गर्नुपर्ने बाध्यता रहेको बताए । 'कोभिड संक्रमित र ननकोभिड बिरामीलाई सुरुदेखि नै हामीले छुट्याएर काम गरिराखेका छौँ भने अब डेडिकेटेड कोभिड अस्पतालको रूपमा सञ्चालन गर्नुपर्ने र केही सेवाहरू ननकोभिड सेवा पनि सञ्चालन गर्नुपर्ने बाध्यता छ । खास गरेर मृगौला सम्बन्धी उपचारको सेवा हाम्रोमा गर्नैपर्ने अवस्था छ । अन्य सेवाहरू राष्ट्रिय ट्रमा सेन्टरबाट दिने व्यवस्था मिलाएका छौँ,' सेन्चुरीले भने ।

पाटन अस्पतालका कार्यकारी निर्देशक डा. रवि शाक्यले कोरोना संक्रमितको उपचारका लागि स्वास्थ्यकर्मीको अभाव भइरहेको बताए । कोरोना संक्रमित स्वास्थ्यकर्मीप्रति बाहिर भइरहेका व्यवहारलाई लिएर त्यो अभाव भएको उनको भनाइ थियो । 'स्वास्थ्यकर्मीको अभाव भइरहेको छ । संक्रमण नभएका स्वास्थ्यर्मीहरू पनि त्रसित बन्दै गएका छन् । उनीहरूको मनोबल एकदमै कम भएको अवस्था छ । काम गरेपनि जस पनि नदिने समाजले पनि सम्मान पनि नदिने अवस्था छ । त्यो अवस्थामा स्वास्थ्यकर्मीहरूबाट काम लिन एकदमै गाह्रो भएको छ,' उनले भने ।

चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मीलाई कोरोना भाइरसबाट सुरक्षित गर्नु चुनौतिपूर्ण भएको ग्राण्डी अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले बताए । 'कोरोना भाइरस मेडिकल संक्रमण मात्रै नभएर यो समाजिक चुनौति हो । अहिले जसरी सरकारी संस्थालाई गाह्रो छ त्यो भन्दा कम गाह्रो निजी अस्पताललाई छ भन्न मिल्दैन,' उनले भने ।

सरकारले प्रत्येक अस्पतालमा कोरोना संक्रमितको उपचार गर्नका लागि निश्चित प्रतिशत बेड छुट्याउन निर्देशन दिएको छ । अन्य रोगका बिरामीलाई कोरोना संक्रमण भए पनि सोही अस्पतालमा भर्ना गरेर उपचार गर्नुपर्ने सरकारको निर्देशन छ । जसले संक्रमण फैलाउने स्वास्थ्यकर्मीहरूको भनाइ छ ।

भिडियोः

प्रकाशित : भाद्र २४, २०७७ १५:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?