धरान — धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचार गर्दागर्दै विराटनगर महानगरपालिका ११ बस्ने ४३ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार चार वर्षदेखि उच्च रक्तचापको दीर्घरोगी रहेकी संक्रमित महिलालाई भदौ १८ गते प्रतिष्ठानमा भर्ना गरिएको थियो । संक्रमित महिलाको मृत्यु शुक्रबार राति भएको हो । योसहित प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेको संख्या २२ पुगेको छ ।
प्रतिष्ठानको कोभिड अस्प्तालमा भर्ना हुनुअघि उनलाई श्वासप्रश्वासमा कठिनाई हुनुका साथै पेट र छाती दुख्ने समस्या भएपछि विराटनगरको न्यूरो अस्पतालमा गरिएको थियो । कोरोना संक्रमणको आशंका गरी स्वास्थ्यकर्मीहरुले स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि भदौ १७ गते विराटनगरस्थित प्रादेशिक प्रयोगशालामा पठाएका थिए ।
कोरोना पोजिटिभ पुष्टि भएपछि थप उपचारका लागि प्रतिष्ठानमा रिफर गरिएको थियो । मृतक महिलाको शवको व्यवस्थापन स्वास्थ्य मन्त्रालयको प्रोटोकलअनुसार भइरहेको छ ।
