वीरगन्जमा प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार सुरु

भाद्र १५, २०७७

भूषण यादव

वीरगन्ज — नारायणी अस्पतालमा कोरोना संक्रमितको प्लाज्मा थेरापीबाट उपचार थालिएको छ । संक्रमतिको स्वास्थ्य सुधारोन्मुख रहेको चिकित्सकले जनाएका छन् । राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) तय गरेको मापदण्डअनुसार प्लाज्मा थेरापी विधिबाट अनुसन्धनात्मक उपचार सुरु गरिएको हो ।

सर्लाहीको चकरघट्टा गाउँपालिका–३ सुन्दरपुर निवासी ३५ वर्षीय पुरुष शनिबार वीरगन्जको नारायणी अस्पताल उपचारका लागि आएका थिए । एक हप्तादेखि ज्वरो, ५ दिनदेखि खोकी र दुईदिनदेखि श्वासप्रश्वासमा समस्या देखिएपछि आफन्तले नारायणी अस्पताल लिएर आएका थिए । आइतबार स्वाब परीक्षण गर्दा ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

‘गम्भीर किसिमको कोरोना संक्रमण भएकाले ती संक्रमित पुरुषमा अन्य लक्षणहरु पनि थिए,’ उपचारमा संलग्न डा.उदयनारायण सिंह भन्छन्, ‘अन्य विधि भन्दा प्लाज्मा थेरापी नै उपयुक्त लागेपछि आइतबार राति साढे १० बजेदेखि उपचार थाल्यौ ।’ करिब २ घण्टासम्म चलेको प्लाज्मा थेरापीपछि संक्रमित पुरुषको स्वास्थ्य सुधारोन्मुख रहेको डा.सिंहले दाबी गरे ।

‘कोरोना लागेर निको भएको १४ दिनपछि व्यक्तिको रगतमा एन्टीबडी निर्माण हुन्छ, रगतबाट प्लाज्मा निकालेर नयाँ संक्रमण भएको व्यक्तिलाई दिइन्छ,’ डा.सिंहले भने, ‘रिकभर्ड प्लाज्माले भाइरसलाई न्युट्रलाइज गर्छ ।’ कोरोनामुक्त भएका अस्पतालका  एकजना पूर्वस्टोरकिपरले आफ्नो रगत दिएका थिए । काठमाडौं उपत्यकाबाहिर बुटवल र धरानपछि वीरगन्जमा प्लाज्मा थेरापीबाट उपचार थालिएको हो । 

कोरोना भाइरस

भूषण

Link copied successfully