होम आइसोलेसनमा बस्नेले नियम मान्दैनन्

होम आइसोलेसनमा बस्नेले घरबाहिर ननिस्कने, दीर्घरोगी, ६० वर्ष कटेका र गर्भवती तथा सुत्केरी महिलाबाट टाढा बस्नुपर्नेलगायत १४ वटा नियम पालना गर्नुपर्छ

श्रावण ३२, २०७७

फातिमा बानु

काठमाडौँ — ललितपुरका एक संक्रमित शुक्रबार दिउँसो टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगे । उनलाई सात दिनअघि संक्रमण पुष्टि भएको थियो । लक्षण नदेखिएका कारण चिकित्सकले उनलाई घरमै बस्नु भनेर पठाएका थिए । आफ्नै सवारीसाधनमा आएका उनलाई चिकित्सकहरूले ‘संक्रमित मान्छे यसरी घुम्नु हुँदैन, घरमै आराम गर्नुस्’ भनेर सम्झाएपछि मात्रै उनी फर्किए । 

उनीजस्तै होम आइसोलेसन पठाइएका संक्रमित बिनाकारण घरबाहिर निस्कने गरेको, दैनिकजसो आफूहरूकहाँ आउने गरेको अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीले बताए । ‘कोही स्वाब परीक्षण गर्न आएको भन्छन्, कोही रगत जाँच गरिदिनु भन्छन्,’ उनले भने । लक्षण नभएकालाई १४ दिन घरमै बस्नु भने पनि बेवास्ता गरेकाले उनीहरूलाई घरको साटो आइसोलेसन सेन्टरमै राखेर निगरानी गर्नुपर्ने उनको भनाइ छ । ‘सरकारसँग अहिले आइसोलेसन सेन्टर छैन भने कुनै पार्टी प्यालेस भाडामा लिएर भए पनि व्यवस्थापन गर्नुपर्‍यो,’ उनले भने, ‘लक्षण नभएका संक्रमित जथाभावी हिँडे अरूलाई संक्रमण सार्ने र भोलि आउटब्रेक हुने सम्भावना हुन्छ ।’ 

संक्रमण पुष्टि भएका तर लक्षण नभएका कतिपय संक्रमित घर जानै नमान्ने अस्पतालमा कार्यरत एक चिकित्सकले बताए । ‘घर गए समाजले अपहेलना गर्ला भन्ने डरका कारण घर जाँदिन भनेर जिद्दी गर्छन्,’ उनले भने, ‘अस्पतालका सबै बेड लक्षणसहितका संक्रमित राखेर भरिइसक्यो, हामीले के गर्ने ?’ आइसोलेसन सेन्टर नहुँदा भाडा बस्ने, घरमा छुट्टै बस्ने कोठा र शौचालय नहुनेहरू मारमा परेका छन् । 

लक्षण नभएको भनेर घर पठाइएका संक्रमितमा पछि लक्षण देखिने र यस्तो समस्या आएपछि कहाँ जाने, कसलाई भन्ने अन्योल भएपछि संक्रमित आफैं अस्पताल पुग्ने गरेको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालका प्रवक्ता डा. प्रवीण नेपालले बताए । ‘हामीले होम आइसोलेसनको निगरानी गर्न भ्याउँदैनौं । हाम्रो जिम्मेवारीमा पनि पर्दैन,’ उनले भने । कतिपय संक्रमतिलाई टोलवासीले निकालेका कारण पनि फर्केर अस्पताल आउने गरेको उनले बताए । 

दुई महिनायता कोरोना संक्रमणको लक्षणसहितका बिरामी बढ्न थालेपछि अस्पतालका आइसोलेसन बेड भरिन थालेका छन् । अस्पतालमा ठाउँ नभएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘कोभिड–१९ संक्रमितहरूको आइसोलेसनसम्बन्धी स्वास्थ्य मापदण्ड २०७७’ अनुसार अस्पतालमा हुने अनावश्यक भीडभाड कम गर्न लक्षण छ । मन्त्रालयका अनुसार शनिबारसम्म ८ हजार ३७५ संक्रमित आइसोलेसनमा छन्, तीमध्ये ५२३ जना घरमा बसेका छन् । होम आइसोलेसनमा रहनेले बाहिर ननिस्कने, दीर्घरोगी, ६० वर्ष कटेका र गर्भवती तथा सुत्केरी महिलाबाट टाढा बस्नुपर्नेलगायत १४ वटा नियम पालना गर्नुपर्छ । स्वास्थ्य समस्या देखिए स्थानीय तहका स्वास्थ्यकर्मीलाई जानकारी गराउनुपर्ने भनिए पनि संक्रमित आफैं अस्पताल पुग्ने गरेको कोभिड अस्पतालका चिकित्सक बताउँछन् । 

लक्षण भएका तर घरमा बस्ने ठाउँ नभएकालाई कोभिडबाहेक प्रहरी, आर्मी र निजी अस्पतालमा बेडको व्यवस्था हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । कीर्तिपुरको आयुर्वेद तालिम केन्द्र, मनमोहन मेडिकल कलेज दहचोक र भक्तपुरको खरिपाटीमा आइसोलेसन सेन्टर बनाइएको र थप अरू पनि बन्ने उनको भनाइ छ । 

सम्बन्धित समाचार :

कोरोना भाइरस

फातिमा

Link copied successfully