झापामा अस्पताल चाहर्दाचाहर्दै एक बिरामीको मृत्यु- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

झापामा अस्पताल चाहर्दाचाहर्दै एक बिरामीको मृत्यु

आकस्मिक सेवा आवश्यक रहेका बिरामीको उपचार गर्न पीसीआर रिपोर्ट माग
पर्वत पोर्तेल

काँकडभिट्टा — झापामा एक बिरामीको अस्पताल चाहर्दाचाहर्दै मृत्यु भएको छ । कनकाई नगरपालिका–५ का १७ वर्षीय रोशन सुनारको यहाँका विभिन्‍न अस्पतालले उपचार गर्न नमान्दा मृत्यु भएको हो । 

केही दिन अघि फुटबल खेल्ने क्रममा बलले छातीमा लागेर घाइते भएका रोशनलाई स्वास फेर्न समस्या भएपछि उपचारका लागि अस्पताल लगिएको थियो । विर्तामोडका विभिन्न अस्पताल लगिएको तर भेन्टिलेटरको सुविधा भएको कुनैपनि निजी अस्पतालले भर्ना नलिएकै कारण मृत्यु भएको बुवा ताराकुमार सुनारले दाबी गरे ।

'स्वास्थ्य स्थिति बिग्रिँदै गएपछि पहिला विर्तामोडको विर्ता सिटी अस्पताल पुर्याइयो । तर, अस्पतालले कोरोना परीक्षणको पीसीआर रिपोर्ट भए मात्रै उपचार गर्ने जनायो,' उनले भने, 'त्यसपछि विर्तामोडकै कनकाई अस्पतालले पो उपचार गर्ला कि भनेर बिरामीलाई त्यहाँ पुर्याइयो । तर, कनकाई अस्पतालले पनि विर्ता सिटीले झै पीसीआर रिपोर्ट नभएका कारण उपचार गर्न नसक्ने भन्दै बिरामीलाई गेटबाटै फर्काइदियो ।'

मंगलबार बिहान करिब २ बजेतिर बिरामी लिएर अभिभावक भद्रपुरस्थित मेची प्रादेशिक अस्पताल पुगे । मेचीले उपचार सुरु त गर्‍यो । तर, शरीरमा अक्सिजनको मात्रा कम हुँदै गएको भन्दै उनलाई तत्काल भ्यान्टिलेटरमा राखेर उपचार गर्नुपर्ने चिकित्सकले जानकारी दिँदै त्यस्तो सुविधा भएको अस्पतालमा लैजान सुझाव दिए । भेन्टिलेटर नभएकै कारणले गर्दा मेची प्रादेशिक अस्पतालले उनलाई नजिकैको ओम साई पाथिभरा अस्पतालमा रेफर गरेको थियो ।

उक्त अस्पतालले समेत कोरोना लागेको आशंका गर्दै सुनारको उपचार गर्न मानेन ।

त्यसपछि अभिभावकले पुन: सुनारलाई मेची अस्पताल नै लगे । अन्तत: इमरजेन्सी कक्षमा उपचार हुँदै गर्दा उनको निधन भयो । मेची अस्पतालका चिकित्सक डा. गोविन्द कँडेलका अनुसार मृतकको पीसीआर टेष्ट हुँदै छ । साँझसम्म रिपोर्ट आउने उनले बताए । कोरोना निगेटिभ आए मात्रै परिवारलाई शव हस्तान्तरण गरिने डा. कँडेलले जनाए ।

प्रकाशित : श्रावण २७, २०७७ १८:५१
प्रतिक्रिया
पठाउनुहोस्

सगरमाथा सफाई अभियानलाई विश्‍व कीर्तिमानको प्रमाणपत्र

सुरज कुँवर

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसहित नौं वटा संस्था मिलेर २०७६ वैशाखको पहिलो सातादेखि सुरु गरिएको ४६ दिन लामो सगरमाथा सफाई अभियानलाई गिनिज वर्ल्ड रेकर्डले विश्‍व कीर्तिमानको प्रमाणपत्र दिएको छ । 

गिनिज वर्ल्ड रेकर्डले सफाई अभियानलाई सबैभन्दा लामो सगरमाथा सफाई अभियानको उल्लेख गर्दै यो अभियानको नेतृत्व गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डियन मन्त्रालयलाई प्रमाणपत्र प्रदान गरेको पर्यटन विभागकी निर्देशक मिरा आचार्यले कान्तिपुरसँग बताइन् ।

‘प्रमाणपत्र हस्तान्तरण गर्ने गिनिजको कार्यक्रम थियो तर कोरोना महामारीका कारण उनीहरु नेपाल आउन सकेनन्’ निर्देशक आचार्यले भनिन्, ‘मन्त्रालयका तर्फबाट प्रमाणपत्र आज (मंगलबार) मैले बुझें ।’

अभियानमा मन्त्रालयबाहेक नेपाली सेना, वन विभाग, नेपाल पर्यटन बोर्ड, प्रदेश १ को उद्योग, पर्यटन, वन, तथा वातावरण मन्त्रालय थिए । त्यस्तै यसमा अभियानमा सोलुखुम्बुको पासाङ ल्हामु गाउँपालिका, सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, सगरमाथा प्रदूषण नियन्त्रण समिति र नेपाल पर्वतारोहण संघ सहभागी थिए । यी सबै निकायले यो अभियानका लागि २ करोड ३२ लाख बजेट विनियोजन गरेका थिए ।

स्थानीय तहको पहलमा पहिलोपकट सगरमाथा हिमाल सफाईमा पुगेको टोलीले ५ हजार ३ सय ८० मिटरमा रहेको सगरमाथा आधार शिविरदेखि ७ हजार ९ सय मिटर उचाई (साउथकोल) सम्म सफाई गरेको थियो । त्यसक्रममा सफाई टोलीले चार वटा अलपत्र आरोहीहरुको शव फेला पारेको थियो । १० हजार ३ सय ८६ किलोग्राम फोहोर संकलन गरिएको थियो ।

अभियानमा १२ जना शेर्पाहरु खटाइएका थिए । त्यस्तै कुनै समस्या परेमा उद्धार टोली र हेलिकप्टर पनि तैनाथ गरिएको थियो । उनीहरुले संकलन गरेको फोहोर आधार शिविरबाट हेलिकप्टरले ओखलढुंगा र काठमाडौं ओसारेका थिए । फोहोरलाई काठमाडौंमा पुन: प्रयोग गर्ने उद्योगलाई हस्तान्तरण गरिएको थियो ।

चार शवलाई त्यसताका मनाङ एयरको हेलिकप्टरबाट लुक्ला हुँदै शिक्षण अस्पताल महाराजगंजमा ल्याइएको थियो । यो अभियानको नेतृत्व तत्कालीन पर्यटन विभागका महानिर्देशक दण्डुराज घिमिरेले गरेका थिए । अभियान मे २९ तारिखमा पर्ने अन्तर्राष्ट्रिय सगरमाथा दिवसका दिन बिर्सजन गरिएको थियो ।

प्रकाशित : श्रावण २७, २०७७ १८:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×