३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

तोकिएका केन्द्रबाट हजार नमुना संकलन

फातिमा बानु

काठमाडौँ — सरकारले स्वाब संकलन केन्द्र तोकेका उपत्यकाका विभिन्न अस्पतालबाट बुधबार १ हजार ६८ स्वाब नमुना संकलन भएको छ । मन्त्रालयले संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरूको नमुना संकलनका लागि मंगलबार १४ वटा अस्पताललाई केन्द्र तोकेको थियो ।

तोकिएका केन्द्रबाट हजार नमुना संकलन

पाटन, सिभिल, त्रिवि शिक्षण, शुक्रराज ट्रपिकल, वीरेन्द्र सैनिक, स्टार, प्रहरी, भक्तपुर, केएमसी, वीर, एपीएफ, प्रसूति गृह, कोरियामैत्री र ह्याम्स स्वाब संकलनका लागि तोकिएका अस्पताल हुन् । केन्द्र तोकिएपछि अन्य दिनभन्दा बढी नमुना संकलन भएको अस्पतालले जनाएका छन् ।

पाटन अस्पतालमा बुधबार ७० वटा नमुना संकलन भयो । केन्द्र नतोक्दा पनि यो अस्पतालबाट यति नै स्वाब संकलन हुने गरेको कोभिड कमिटी संयोजक डा. आशिष श्रेष्ठले बताए ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ३ सय स्वाब संकलन भएको छ । कोरोना परीक्षण भन्नासाथ अधिकांश व्यक्ति टेकु पुग्ने भएकाले भीड नियन्त्रण चुनौतीपूर्ण भएको निर्देशक डा. सागरकुमार राजभण्डारीले बताए ।

सरकारले थापाथलीस्थित प्रसूति गृहलाई स्वाब संकलन केन्द्र तोके पनि पीसीआर उपकरण नभएकाले परीक्षण गर्न सम्भव छैन । अस्पतालमा भर्ना भएका सुत्केरी र गर्भवतीबाहेक अन्य कसैको स्वाब संकलन नभएको अस्पतालका प्रशासन प्रमुख रानु थापाले बताइन् । बानेश्वरस्थित सिभिल अस्पतालमा भीटीएम नभएका कारण बुधबार स्वाब संकलन भएन । मन्त्रालयले भीटीएम उपलब्ध गराएपछि स्वाब संकलन हुने निर्देशक डा. दीर्घराज आरसीले बताए ।

कोरोना संक्रमणको शंका लागेका, संक्रमण फैलिएको जिल्लाबाट आएका वा संक्रमितको सम्पर्कमा आएका व्यक्तिलाई परीक्षणका लागि कहाँ जाने, के गर्ने भन्ने अन्योल बढेपछि केन्द्र तोकिएको मन्त्रालयका प्रवक्ता डा. समीरकुमार अधिकारीले बताए । संक्रमणको शंका लागेर अस्पताल पुगेका र परीक्षण निर्देशिका मापदण्डभित्र परेका सबैको अनिवार्य पीसीआर परीक्षण गरिने उनले जानकारी दिए । परीक्षणको दायरा बढाउनका लागि सरकारले हालसम्म तीनपटक निर्देशिका (नेसनल टेस्टिङ गाइडलाइन फर कोभिड–१९) संशोधन गरेको छ ।

साउन १४ गते संशोधित नयाँ निर्देशिकाअनुसार कोरोनाको लक्षण देखिएका, कन्ट्याक्ट ट्रेसिङमा परेका, कडाखाले श्वासप्रश्वासका रोगी, विदेशबाट फर्केका, फ्रन्टलाइनमा खटिने कर्मचारी, आईसीयूमा भर्ना भएका बिरामी र दीर्घरोगीको अनिवार्य रूपमा निःशुल्क परीक्षण हुन्छ । ‘कति संख्यामा नमुना स्वाब संकलन गर्ने भनेर तोकिएको छैन,’ उनले भने, ‘अर्को सूचना जारी नभएसम्म ती अस्पतालबाट स्वाब संकलन भइरहनेछ ।’

सरकारले अहिले कोरोना परीक्षणका लागि निजी अस्पताललाई पनि स्वीकृति दिएको छ । निजीमध्येबाट नमुना परीक्षणका लागि सानेपास्थित स्टार र धुम्बाराहीस्थित ह्याम्स अस्पताल पनि केन्द्र तोकिएका छन् । तर, यी अस्पतालमा शुल्क तिरेर मात्रै परीक्षण हुन्छ । दैनिक २ सय पीसीआर परीक्षण हुने स्टारमा बुधबार २ सय ७६ स्वाब संकलन भएको अस्पतालका व्यवस्थापन निर्देशक डा. शैल रूपाखेतीले बताए । ह्याम्समा पहिलो दिन ८९ वटा नमुना संकलन भयो । अन्य दिनभन्दा बुधबार धेरै स्वाब संकलन भएको निर्देशक डा. ज्योतिन्द्र शर्माले बताए ।

त्रिवि शिक्षण अस्पतालमा पनि अन्य दिनभन्दा बढी नमुना संकलन भएको कोभिड कमिटी संयोजक डा. सन्तकुमार दासले बताए । दैनिक एक सय स्वाब संकलन हुने त्रिविमा केन्द्र तोकेको पहिलो दिन १ सय २० वटा नमुना संकलन भएको उनले जानकारी दिए ।

वीर अस्पतालमा १ सय १४ वटा नमुना संकलन भयो । दैनिक दुई सय वटासम्म नमुना संकलन हुने गरेको अस्पतालका निर्देशक डा. केदारप्रसाद सेन्चुरीले बताए । भक्तपुर अस्पतालमा भने पहिलो दिन ९ वटा नमुना संकलन भएको मेसु डा. सुमित्रा गौतमले बताइन् । दैनिक ५० भन्दा बढी स्वाब संकलन हुने सशस्त्र प्रहरी अस्पताल बलम्बुमा ३९ वटा नमुना संकलन भएको प्रवक्ता डा. प्रवीण नेपालले बताए । नेपाल कोरिया मैत्री अस्पतालबाट ५१ स्वाब लिइएको छ । छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल, काठमाडौं मेडिकल कलेज र प्रहरी अस्पतालमा स्वाब संकलनका लागि बाहिरबाट सर्वसाधारण नपुगेको अस्पतालले जनाएका छन् ।

प्रकाशित : श्रावण २२, २०७७ ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?