उपत्यकामा एकैदिन ६१ जनालाई कोरोना, लक्षणसहितका संक्रमित बढ्दै- समाचार - कान्तिपुर समाचार

उपत्यकामा एकैदिन ६१ जनालाई कोरोना, लक्षणसहितका संक्रमित बढ्दै

अतुल मिश्र

काठमाडौँ — राजधानीमा मंगलबार ६१ जना नयाँ संक्रमित फेला परेका छन् । काठमाडौं उपत्यकामा एकै दिन संक्रमण पुष्टि हुनेको संख्या अहिलेसम्मकै धेरै हो । त्यति मात्र होइन, थपिएका यी नयाँ संक्रमितमध्ये एक चौथाइमा लक्षणसमेत देखिएको छ । राजधानीलगायत मुलुकका विभिन्न भागमा केही दिनयता लक्षण भएका संक्रमित फेला पर्ने क्रम बढेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तमकुमार कोइरालाका अनुसार उपत्यकामा पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि भएका मध्ये १५ जनामा लक्षण देखिएको छ । उनीहरूमा मुख्य रूपमा ज्वरो, सुक्खा खोकी, स्वाद थाहा नपाउने, टाउको दुख्ने, घाँटी दुख्नेजस्ता लक्षण रहेका छन् ।

नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा कार्यरत ३२ जना प्रहरीमा मंगलबार संक्रमण पुष्टि भएको छ । कन्ट्याक्ट ट्रेसिङका क्रममा उनीहरूमा संक्रमण रहेको पत्ता लागेको हो । संक्रमित प्रहरी प्रधान कार्यालयभित्रै बस्ने गरेको उल्लेख गर्दै वरिष्ठ जनस्वास्थ्य अधिकृत कोइरालाले भने, ‘केही दिनअघि हेड कन्सटेबललाई कोरोना देखिएको थियो, त्यसपछि कन्ट्याक्ट ट्रेसिङ गर्दा ३ जनालाई देखिएको थियो । प्रहरीलाई त्यहीँ भित्रैबाट कोरोना सरेको देखिएको छ ।’

राजधानीमा कोरोना पुष्टि भएकामा दुई चिनियाँ नागरिकसमेत छन् । मंगलबार कोरोना पोजिटिभ देखिएका एक चिनियाँ नागरिक ठमेलको होटलमा बस्दै आएका थिए भने अर्का बौद्घमा घर भाडा लिएर बसिरहेका थिए । न्युरोड क्षेत्रका २ जना व्यापारीमा समेत संक्रमण देखिएको छ । यस्तै बैतडी, नुवाकोट, बुटवल, वीरगन्ज, सर्लाहीबाट कामको सिलसिलामा राजधानी आएका एक–एक जनामा कोरोना संक्रमण देखिएको छ ।

कान्ति बाल अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पतालमा उपचाररत एक–एक जनामा कोरोना संक्रमण देखिएको छ । ‘प्रहरी, बिरामी, व्यापारी, चिनियाँ नागरिक, राजधानी बाहिरबाट आएका बाहेक अरूमा पनि कन्ट्याक्ट ट्रेसिङ गर्दा संक्रमण पाइएको छ,’ कोइरालाले भने । उनका अनुसार नयाँ संक्रमितमध्ये ५९ जना काठमाडौंका र भक्तपुर एवं ललितपुरका एक–एक जना छन् ।

संक्रमणको विस्तार रोक्न जनस्वास्थ्यका विभिन्न प्रक्रिया कडाइसाथ लागू नगरिए समुदायमा कोरोना फैलिन सक्ने चेतावनी राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका छाती रोग विशेषज्ञ डा. नवीनप्रकाश शाहले दिए । ‘समुदायमा कोरोना संक्रमण फैलिए जो मर्छ, मरोस्, जो बाँच्छ, बाँचोस् भनेर छाड्नु वा कडा लकडाउन, कर्फ्यु लगाउनुको विकल्प रहँदैन,’ उनले भने, ‘लक्षणसहितको कोरोनाको केस बढ्दै जानु मुलुकका लागि चिन्ताको अवस्था हो ।’

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार कोरोनाका सामान्य लक्षण ज्वरो, सुक्खा खोकी र थकान हुन् । जीउ दुख्नु, नाक बन्द हुनु, टाउको दुख्नु, आँखा दुखेर सुन्निनु, घाँटी दुख्नु, पखाला लाग्नु, स्वाद वा सुँघ्ने क्षमतामा कमी हुने, छालामा बिमिरा, औंला र खुट्टाको औंलाको रङ परिवर्तित हुनु पनि यसका लक्षण हुन् ।

मुलुकमा लकडाउन कायमै रहेका बेला असार ३१ देखि साउन ६ गतेसम्म ३० हजार ९६ नमुनाको पीसीआर परीक्षण गरिएकामा ९ सय ३३ जनामा कोरोना पोजिटिभ देखिएको थियो । लकडाउन हटेपछि साउन ७ देखि १३ गतेसम्म २० हजार ७२ नमुना परीक्षण गर्दा १ हजार ६९ जनामा संक्रमण देखिएको छ । हाल देशभरिमा ५ हजार १ सय २९ जना सक्रिय संक्रमित छन् भने १५ हजार ३ सय ३१ जना क्वारेन्टाइनमा छन् । काठमाडौं प्रवेश गर्ने तीन वटा नाकाबाट धमाधम नमुना संकलन गरिँदै छ । साउन १३ गते दिउँसो ४ बजेसम्म फर्पिङबाट ९ सय ५५, थानकोटबाट २ हजार ९ सय १४ र साँगाबाट ९ सय ४४ गरी ४ हजार ८ सय १३ नमुना संकलन गरिएको छ ।

यसैबीच मुलुकभर मंगलबार ३ सय ११ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म पुष्टि भएका संक्रमितको संख्या १९ हजार ६३ छ । संक्रमण पुष्टि भएर निको हुनेहरू १३ हजार ८ सय ७५ जना छन् ।

प्रकाशित : श्रावण १४, २०७७ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्

ओलीले कसैलाई नभन्‍नू भन्दै बालुवाटार बोलाउनु भएको हो : नेपाल

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले आफूले अहिले कुनै पनि पदका लागि बार्गेनिङ नगरेको प्रस्ट पारेका छन् । उनले पार्टीलाई विधि र पद्धतिबाट चलाउन आफू कटिबद्ध रहेको र अहिलेको छलफल र परामर्श पनि त्यसैका लागि केन्द्रित रहेको बताए ।

‘कुनै पदका लागि मेरो लडाइँ हैन, पार्टीको विचार र पद्धतिलाई राम्रो बनाउन र पार्टीमा संस्कार र संस्कृतिको विकासका लागि म लडिरहेको छु,’ नेपालले कान्तिपुरसँग भने, ‘पार्टी र सरकार दुवैले जनताको मन जित्नुपर्छ ।’

नेता नेपालले आफू र नेकपाका अध्यक्ष पुष्पकमल दाहालबीच फाटो ल्याउन विभिन्न हल्ला चलाइएको बताएका छन् । ‘९ गते राति मलाई प्रधानमन्त्रीले नै फोन गरेर सुटुक्क आउनुस् भनेर बोलाउनुभएको थियो तर म उहाँले भनेझैं सुटुक्क गएको होइन,’ उनले भने, ‘त्यो बैठकमा उहाँलाई मैले ०७५ जेठ २ को सहमतिअनुसार सरकार छाड्नुस्, प्रचण्डजीलाई प्रधानमन्त्री बनाऔं भनें, उहाँले सम्भव छैन भन्नुभयो । पार्टी अध्यक्षबाट छोड्नुस् भनें, त्यो पनि सम्भव छैन भन्नुभयो । मैले तपाईंले भनेझैं मंसिरमा पार्टी महाधिवेशन गर्न सम्भव छैन भनेको हुँ तर मलाई अध्यक्ष बनाउन ग्यारेन्टी गर्नुस् भनेको हैन ।’

यसअघि ओली पक्षीय नेताहरूले दाहाल र नेपालबीच भएको भेटमा महाधिवेशनबाट नेपाललाई अध्यक्ष बनाउन ओलीले सघाउने र ओलीलाई पाँचै वर्ष प्रधानमन्त्रीमा नेपालले सघाउने विषयमा छलफल भएको बताएका थिए । तर नेपालका अनुसार उक्त बैठकमा पनि उनले मंसिरमा महाधिवेशन सम्भव नहुने तर्क राखेका थिए ।

‘म मेरो प्रस्तावमा बालुवाटार गएको हैन, केपी ओली आफैंले कसैलाई नभन्नु भन्दै बोलाउनुभएको थियो, मैले त्यतिखेरै षड्यन्त्रको गन्ध पाइसकेपछि प्रचण्ड कमरेडलाई मलाई बोलाउनुभएको छ, म जाँदै छु भनिदिएँ,’ नेपालले भने, ‘भोलिपल्ट उहाँले प्रचण्ड नजिकको एक जनालाई तपाईं माधव नेपाललाई किन विश्वास गर्नुहुन्छ ? उहाँ सुटुक्क यहाँ आउनुभएको थियो भन्नुभएछ । म बुर्का र मास्क लगाएर गएको होइन, सुटुक्कै गएको पनि होइन ।’ ओली पक्षीय नेताहरूले ओली प्रधानमन्त्री रहँदासम्म महाधिवेशन हुन नदिने भनिरहेको उनले बताए ।

सम्बन्धित समाचार

प्रकाशित : श्रावण १४, २०७७ ०७:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×