कोरोना संक्रमणबाट बझाङमा एक जनाको मृत्यु

श्रावण १३, २०७७

वसन्तप्रताप सिंह

बझाङ — कोरोना संक्रमणबाट बझाङमा एक जनाको मृत्यु भएको छ । बुङ्गल नगरपालिका वडा नं ३, का ६५ वर्षीय पुरुषको मृत्यु कोरोना संक्रमणको कारण भएको स्वास्थ्य कार्यालय बझाङले जनाएको छ ।

साउन ९ गते नै मृत्यु भए पनि उनमा कोरोना संक्रमण भएको पुष्टि भने १२ गते मात्रै भएको हो । गत असार २४ गते भारतको बेङ्लोरबाट आएका मृतक पुरुष १४ दिन क्वारेन्टाइनमा बसेर असार ६ गते मात्रै घर फर्किएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नारायण जोशीले बताए ।

क्वारेन्टाइनमा रहँदा स्वास्थ्य अवस्था सामान्य रहेकोले उनको स्वास्थ्य परीक्षण गरिएको थिएन । ‘आठ गतेसम्म पनि उनलाई कुनै पनि लक्षण देखिएको थिएन, फोकल पर्सन जोशीले भने ‘९ गते एक्कासि सास फेर्न गाह्रो भएर मृत्यु भएको हो ।’

कुनै रोगको लक्षण नदेखिएका उनको मृत्यु भएपछि कोरोना संक्रमणको शंका लागेर स्वाब परीक्षण गरिएको थियो । डडेलधुरा अस्पतालमा गरिएको परीक्षणको नतिजा तीन दिन छि (साउन १२ गते) मात्रै आएको थियो ।

स्थानीयले परम्परागत तरिकाले मृतक पुरुषको दाहसंस्कार गरेका थिए । दाहसंस्कारमा सहभागीहरुमा पनि कोरोनाको संक्रमण सरेको हुन सक्ने भएकोले कन्ट्रयाक्ट ट्रेसिङ गरी सबैको स्वाब परीक्षण गर्ने तयारी भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । 

कोरोना भाइरस

वसन्तप्रताप सिंह कान्तिपुरका बझाङ संवाददाता हुन् ।

Link copied successfully