म्याग्दी — बाढीपहिरोबाट स्थलमार्गको सम्पर्क टुटेको धौलागिरि र मालिका गाउँपालिकामा सञ्चारसम्पर्क पनि विच्छेद भएको छ । पहिरोको कारण विद्युत् सेवा बन्द भएको र खराब मौसमले सोलार ब्याट्री पनि चार्ज नहुँदा टेलिकमका रिपिटर स्टेसनमा ‘पावर ब्याकअप’ सकिएर सञ्चारसम्पर्क टुटेको हो ।
नेपाल टेलिकम बेनी कार्यालयका अनुसार शुक्रबारदेखि मंगला गाउँपालिकाको बाबियाचौर, मालिकाको रुन्मा, धौलागिरिको ताकम र मुनास्थित रिपिटर स्टेसनमा विद्युत् आपूर्ति बन्द छ । ‘ब्याकअप पावरले केही समय त काम गर्यो तर बादल लागेकोले सोलार ब्याट्री पनि चार्ज हुन नपाएकाले सञ्चार विच्छेद भएको हो,’ टेलिकम प्रमुख विष्णुदेव साहले भने, ‘घाम राम्रो लागेर सोलार चार्ज भए केही समय चल्छ । तर मोबाइल टावरलाई बढी विद्युत् चाहिने भएकोले लामो समय थेग्न सक्दैन ।’
बेनीदेखि पश्चिम दरवाङ हुँदै बिम, ताकम, मुना क्षेत्रमा वितरित केन्द्रीय प्रसारण लाइनमा समस्या आएपछि शुक्रबारदेखि मालिका र धौलागिरि गाउँपालिकाभरि विद्युत् सेवा अवरुद्ध छ । मर्मतपछि मंगलबार दिउँसो ३ बजेतिर मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरसम्म भने विद्युत् आपूर्ति भएको छ । त्यस स्थानमाथि दरवाङसम्म सेवा सञ्चालन गर्न ‘ठाउँठाउँमा जम्पर काट्दै विद्युत् पठाएर खराबी खोजिरहेको’ बेनीस्थित विद्युत् प्राधिकरणको कार्यालयले जनाएको छ । सडक सहज नहुँदा ‘विद्युत् फल्ट (खराबी)’ खोज्नै समस्या भइरहेको प्राविधिकहरु बताउँछन् । दरवाङमाथिको सडक पूर्णरूपमा अवरुद्ध भएकोले सेवा सुचारु गर्न समस्या थपिएको प्राधिकरणको भनाइ छ ।
यसैबीच, पहिरो प्रभावित क्षेत्रमा सडक र पैदलमार्गसमेत अवरुद्ध भएपछि सदरमुकाम बेनीबाट रघुगंगा गाउँपालिकाको पाखापानी, भेडीखाल्टा, मल्कवाङ, मलम्पार हुँदै लेकको बाटो मराङसम्म राहत पुर्याउने प्रयास भइरहेको छ । पहिरोबाट विस्थापितहरु दुई दिन लाग्ने सोही घुमाउरो बाटो हिँड्दै आफन्त खोज्दै सदरमुकाम क्षेत्र आउन थालेका छन् ।
गत बिहीबार रातिको बाढीपहिरोका कारण दुर्गम धौलागिरि गाउँपालिकामा १९ र मालिका गाउँपालिकामा ८ जनाको मृत्यु भएको थियो । दुवै पालिकाका २/२ जना बेपत्ता छन् । ७ सय ५० जनाभन्दा बढी विस्थापित भएका छन् । सडक क्षतविक्षत भएका कारण पीडितहरु समक्षा अझै राहत पुर्याउन सकिएको छैन । उनीहरुलाई गुम्बा, विद्यालय, सामाजिक भवन, आफन्त र छिमेकीकहाँ राखिएको छ । पीडितहरुलाई पहिरोबाट जोगिएका स्थानीय पसल र छिमेकबाट खाद्यान्न जुटाइरहेको मालिका गाउँपालिकाकी उपाध्यक्ष थरमाया बिडालुले बताइन् ।
