कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सप्तकोसी उर्लिंदा १५ परिवार विस्थापित

१९ किलोमिटर तटबन्धसमेत जोखिममा, सय मिटरभन्दा बढी क्षेत्र कटान
डिल्लीराम खतिवडा, अवधेश झा

उदयपुर, सप्तरी — सप्तकोसीको भेल पश्चिम तटीय क्षेत्रतर्फ सोझिएपछि आइतबार सुनसरीको बराह क्षेत्र नगरपालिका–६, ९ र उदयपुरको बेलका नगरपालिका–२ र ३ मा पर्ने श्रीलंका टापुको चिलिया बस्तीका १५ परिवार विस्थापित भएका छन् ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका डलवास्थित कोसीको रिङ बाँध । तस्बिर : अवधेशकुमार झा

बराह क्षेत्र–६ का वडा सदस्य श्याम लिम्बूका अनुसार ११ परिवार आफन्तकहाँ सरिसकेका छन् । बाँकीलाई सार्ने तयारी भइरहेको छ । कटान भइरहेकाले चिलिया टापुमा बाढी पस्ने खतरा बढेको उनले बताए ।

भारतले कोसीमा निर्माण गरेको पाइलट च्यानलले बहावको धार परिवर्तन गर्दा पश्चिमी तटीय क्षेत्रमा दबाब बढेको हो । पूर्वी तटीय क्षेत्रमा बाँध मर्मत हुँदा कोसीको भेल पश्चिम हानिएको छ । बाँधको मर्मतसम्भार भारतीय कोसी योजनाअन्तर्गत हुने गरेको छ । बाँधलाई पानीको वेगबाट जोगाउने संरचना ‘स्पर नम्बर १३ आरडी’ को सामुन्ने पश्चिमपट्टि श्रीलंका टापुमा कटान भइरहेको बराह क्षेत्र नगरप्रमुख नीलम खनालले बताए । ‘बहाव दुई दिनअघिको तुलनमा कम भएको देखिन्छ, तर पश्चिम मोडिएकाले श्रीलंका टापुमा भेल पस्ने खतरा बढेको छ,’ उनले भने ।

चार दिनमा कोसीले सय मिटरभन्दा बढी क्षेत्रमा कटान गरेको स्थानीय बासिन्दाको भनाइ छ । कोसी ब्यारेजमा आइतबार २ लाख ७४ हजार ३ सय ६५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव रेकर्ड भएको छ भने ३९ ढोका खोलिएको छ ।

तटबन्ध भत्किने जोखिम

सात वर्षअघि भारतले कोसी ब्यारेजको २८ नम्बर ढोका सामुन्ने दक्षिणतर्फ पाइलट च्यानल खन्न सुरु गरेको थियो । च्यानलले सप्तरीको भूभाग डुबानमा पर्ने भन्दै स्थानीय विरोधमा उत्रिए पनि काम रोकिएन । कोसीको बहावलाई मध्य भागबाट बगाउन च्यानल खनिएको भारतीय पक्षको दाबी थियो । तर, कोसीको भेल गत वर्षदेखि पश्चिमी तटबन्धमा ठोक्किएर बग्न थालेको छ । त्यसले कोसीको पश्चिमी तटबन्धमाथि पानीको चाप बढेको छ । ‘भारतीय लापरबाहीले डलवानजिक कैयौं स्थानमा सिपेज भएर कोसीको पानी नदीबाट बाहिरिन थालेको छ,’ कोसीपीडित समाजका अध्यक्ष देवनारायण यादवले भने, ‘वर्षौर्ंदेखि पश्चिमी तटबन्ध मर्मत गरिएन । तटबन्ध होचो हुँदै गयो, नदीको सतहमा बालुवा जम्मा भएर अग्लो हुँदै गयो ।’

कोसीको धार पश्चिमी तटबन्धतर्फ मोडिएपछि कोसी ब्यारेजभन्दा दक्षिण १९ किलोमिटरसम्म नेपाली भूभागमा रहेको तटबन्ध जोखिममा छ । तीन दिनको निरन्तर वर्षापछि डलवानजिकको रिङ बाँध क्षतिग्रस्त बनेको छ । भर्खर बालुवा हालेर बनाएको उक्त बाँधका कैयांै स्थानमा रेनकट लागेर क्षति पुगेको छ । बाँधमुनिबाट पानी निस्किरहेको छ । ‘हामी तीन दिनदेखि राति निदाउन सकेका छैनौं,’ डलवाका चित्रनारायण साहले भने, ‘भारतीय ठेकेदार र प्राविधिकले हाम्रो घरमा कोसी ल्याएर राखिदियो ।’ रिङ बाँध भत्किए कोसीको धार सप्तरीको हनुमाननगर–कंकालिनी नगरपालिका हँुदै तिलाठी–कोइलाडी गाउँपालिका र राजविराज नगरपालिकाका केही भागमा सोझिने खतरा रहेको समाजका अध्यक्ष यादवले बताए ।

सम्झौताअनुसार कोसी नियन्त्रण र मर्मतको कार्य भारतीय पक्षले गर्नुपर्ने हो । तर, उनीहरू नेपाली प्राविधिक वा प्रशासनलाई मर्मतबारे जानकारी दिँदैनन् । नेपाली पक्षको कमजोरीका कारण पनि भारतीयको लापरबाही बढेको यादवको आरोप छ । ‘आफ्ना नागरिकलाई कोसीको डुबानबाट कसरी जोगाउने ? त्यसको चिन्ता नेपाल सरकारले गर्नुपर्दैन ?’ उनले प्रश्न गरे । भारतको लापरबाहीकै कारण २०६५ भदौ २ गते सुनसरीको पश्चिम कुसहामा कोसीको पूर्वी तटबन्ध भत्किएको थियो । त्यस्तै लापरबाहीका कारण पश्चिमी तटबन्ध भत्किने जोखिम बढेको छ । ‘भारतीय कोसी योजनाका प्राविधिक नेपालमा भइरहेका कामको विस्तृत इस्टिमेट नै दिँदैनन्,’ कोसी बक्राहा नदी नियन्त्रण आयोजनाका प्रमुख भिलानन्द यादवले भने, ‘विस्तृत इस्टिमेट भए कामबारे अनुगमन गर्न सकिन्छ । इस्टिमेट नै नभए कसरी थाहा पाउनु ?’

सम्पर्क तथा भूआर्जन कार्यालय विराटनगरका प्रमुख सन्तोष लिम्बूले पनि भारतीय पक्षले कोसीमा भइरहेका कामबारे विस्तृत जानकारी दिन आनाकानी गर्ने गरेको बताए । ‘मौखिक रूपमा केही कुरा भन्छन् । तर औपचारिक रूपमा कामबारे जानकारी माग्दा दिँदैनन्,’ उनले भने । हनुमाननगर–कंकालिनी नगरपालिकाका मेयर शैलेशकुमार साहले नेपालतर्फ भइरहेका काम र कोसीको स्थितिबारे जानकारी नहुँदा स्थानीयलाई सतर्क र सुरक्षित बनाउन असहज भइरहेको बताए ।

प्रकाशित : असार २९, २०७७ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्

मिर्गौला तस्करीमा प्रहरी नै

भक्तपुरका एक युवकलाई लाखौं रकमको प्रलोभन देखाएर नक्कली कागजात बनाई मिर्गौला तस्करी गरेको आरोपमा डाक्टर, प्रहरी, सरकारी कर्मचारी, जनप्रतिनिधिसहित १२ जना पक्राउ
जनकराज सापकोटा

काठमाडौँ — भक्तपुर बस्ने २७ वर्षीय युवकले एक दिन फेसबुकमा पैसा पाउने भए त मिर्गौला नै बेचिदिन्थें भन्ने आशयको स्टाटस लेखेका थिए । उक्त स्टाटस पढेपछि मजदुरी र ट्याक्सी चालक श्रीमान्को कमाइको भरमा जेनतेन गुजारा चलाउँदै आएकी भक्तपुर जगाती बस्ने रेश्मा राईले भक्तपुरमै बस्ने चिनेजानेकी एक दिदीले आफ्नो दाइका निम्ति मिर्गौला चाहिएको बताएको कुरा सम्झिन् । फेसबुकमा पहिलेदेखि नै साथी रहेकी रेश्माले ती युवकलाई सम्पर्क गरिन् ।

उनी मिर्गौला दिन्छु भन्ने मनसाय बनाएका युवकको कुरा लिएर नेपाल प्रहरीका निलम्बित सई योगेन्द्रराज थपलियाको सम्पर्कमा पुगिन् । योगेन्द्र ०७६ साउनमा काभ्रे बाङथली घर भई मनमैंजुको एक खाजा पसलमा काम गर्ने २४ वर्षीय युवकलाई भारत पुर्‍याएर मिर्गौला तस्करी गर्ने प्रयास गरेको घटनामा संलग्न भएको आरोपमा निलम्बनमा परेका थिए ।

योगेन्द्र र रेश्माले मिर्गौलाको खोजीमा रहेकी भक्तपुर नगरपालिका–६ बस्ने जमुना राजभण्डारीलाई सम्पर्क गरे । जमुना ललितपुर महानगरपालिका–३ बस्ने ५७ वर्षीय दाइको मिर्गौलाले काम नगर्ने भएपछि प्रत्यारोपण निम्ति मिर्गौला खोजिरहेकी थिइन् । केही पैसा खर्च गर्न सके सजिलै मिर्गौला पाइने बताएपछि उनले यो खबर दाइकहाँ पुर्‍याइन् । सामान्य व्यापार व्यवसायमा संलग्न रहेका मिर्गौला रोगीले केही लाख खर्च गरेर पाइन्छ भने आफू मिर्गौला लिन तयार रहेको बताए । उनीहरूबीच सहमति जुटेपछि स्ट्याटस लेख्ने युवकलाई फकाए, ‘केही लाख हात पर्छ । दुईवटा मिर्गौला बोकेर आखिर केही हुने पनि होइन, सोच्नु ।’ आर्थिक संकटको चेपुवामा परेका ती युवा पैसाको लोभमा परिहाले ।

नेपाल प्रहरीको मानव तस्करी नियन्त्रण ब्युरोका अनुसार त्यसपछि यो घटनामा गुल्मीको रेसुंगा घर भई काठमाडौंको टोखा नगरपालिका–२ बस्ने असई भीमप्रसाद खनाल जोडिएका थिए । अनुसन्धानका अनुसार भीमले मिर्गौला खोजिरहेका व्यक्तिलाई काठमाडौंको नोबेल अस्पतालका डाक्टर राकेशकुमार बर्मासँग भेटाइदिएका थिए । डाक्टर बर्माले चितवनको पुरानो मेडिकल कलेज भनिने भरतपुर मेडिकल कलेजमा मिर्गौला प्रत्यारोपण गर्ने चाँजोपाँजो मिलाएका थिए । त्यसपछि सई योगेन्द्र र असई भीमले प्रत्यारोपणका निम्ति आवश्यक पर्ने कागजात जुटाउने उपाय बताइदिएका थिए ।

मानव शरीर अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन २०५५ ले परिवार र एकाघरबाहेक व्यक्तिको मिर्गौला लिन वा दिन निषेध गरेको छ । मिर्गौला तस्करीमा अनुभव बटुलेका सई थपलियाकै सल्लाहमा मिर्गौला दिन तयार युवकलाई फर्जी कागजातका आधारमा आफन्ती बनाउने प्रक्रिया त्यसपछि सुरु भयो । मिर्गौला लिने पुरुषका अस्ट्रेलिया बस्ने एक भान्जा थिए । प्रहरी स्रोतका अनुसार तिनै भान्जाको कागजातका आधारमा युवकलाई नक्कली भान्जा बनाएर मिर्गौला लिने प्रक्रिया चालेको देखिन्छ । प्रहरीले सक्कली भान्जा अवैध मिर्गौला प्रत्यारोपणका बेला कहाँ थिए भनेर पनि अनुसन्धान गर्‍यो । ब्युरोका अनुसार अध्यागमनको तथ्यांकबाट उनी त्यतिबेला अस्ट्रेलियामा रहेको पत्ता लाग्यो । यही तथ्यले भान्जाको सक्कली कागजातका आधारमा नक्कली व्यक्ति खडा गरिएको पुष्टि भयो ।

डाक्टर बर्माले भनेअनुसार बिरामी ०७६ जेठ २० गते चितवनको भरतपुर मेडिकल कलेज (कलेज अफ मेडिकल साइन्सेज, टिचिङ हस्पिटल) मा भर्ना भएका थिए । अनुसन्धानमा संलग्न प्रहरीका अनुसार मिर्गौला प्रत्यारोपणका निम्ति जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, अस्पतालका प्रशासन प्रमुख, कानुन अधिकृत र कार्यकारी निर्देशकले तोकेका एक चिकित्सक रहेको स्वीकृति समितिले प्रत्यारोपणका निम्ति योग्य हुन आवश्यक कानुनी प्रक्रिया पूरा भएको पुष्टि गरेपछि मात्रै बिरामीलाई अस्पतालमा भर्ना गरिन्छ । तर यो घटनामा भने यस्तो समितिको स्वीकृतिभन्दा पहिले नै बिरामीलाई अस्पतालले भर्ना लिएको देखिन्छ ।

स्रोतले भन्यो, ‘डाक्टर नियमित रूपमा एजेन्टसँग सम्पर्कमा रहनु र समितिको स्वीकृति अगावै बिरामीलाई भर्ना लिइनुबाटै यो संगठित तबरबाट गरिएको अंग तस्करी हो भन्ने बुझिन्न र ?’ जेठ २७ गते मिर्गौला प्रत्यारोपण गरिएका ती बिरामीलाई जेठ २० गते अस्पतालले भर्ना लिएको देखिन्छ ।

भर्ना भएपछि मिर्गौला दिन भन्दै तयार पारिएका नक्कली भान्जाको नागरिकता र नाता प्रमाणितको कागजात सही रहे/नरहेको बुझ्न स्वीकृति समितिले जिल्ला प्रशासन कार्यालय ललितपुर र बिरामी बस्ने ललितपुर महानगरपालिका–३ का वडा कार्यालयमा पत्राचार गरेको थियो । बिरामीले पेस गरेका नागरिकता र नाता प्रमाणितको फोटोकपी कागजातलाई नै स्वीकृति समितिले किन स्वीकार गर्‍यो र त्यसैका आधारमा कागजातको वैधता जाँच्न जिल्ला प्रशासन कार्यालय (जिप्रका) ललितपुर र वडा कार्यालयलाई किन पत्राचार गर्‍यो भन्ने रहस्यमय देखिन्छ । जबकि मिर्गौला प्रत्यारोपणमा दाताको परिचय खुल्ने र बिरामीसँगको नाता खुल्ने कागजातहरूको सक्कल प्रति नै आवश्यक पर्छ ।

स्वीकृति समितिले पठाएको यस्तो पत्रको आधिकारिता प्रमाणित गर्नका निम्ति जिल्ला प्रशासनमा दर्ता गर्नुपर्ने हो । प्रहरी स्रोतका अनुसार जिल्ला प्रशासन कार्यालयमा त्यस्तो कुनै पत्र भने दर्ता भएको देखिन्न । जबकि जिप्रकाले नागरिकता सक्कली रहेको भन्दै प्रमाणित गरिएको कागजातचाहिँ स्वीकृति समितिमा पेस भएको देखिन्छ । स्रोतका अनुसार जिप्रकाका केही कर्मचारीको मिलेमतोका आधारमा लेटरप्याड र स्ट्याम्प दुरुपयोग गर्दै पत्र दर्ता नै नगरी सक्कल प्रमाणित गरिएको देखिन्छ । यस्तो काममा संलग्न जिप्रका ललितपुरका दुई कर्मचारी अनुसन्धानको घेरामा आए पनि उनीहरूभन्दा माथि अरू कोही जोडिएका छन् कि छैनन् भनेर थप अनुसन्धान भइरहेको छ । वडाध्यक्षले भने फोटोकपी पत्रको आधिकारिकता नै नचाँजी स्ट्याम्प ठोकेर प्रमाणित गरिदिएको देखिन्छ । स्रोतले भन्यो, ‘अहिलेसम्मको अनुसन्धानले वडाध्यक्षले पैसा नै खाएर त्यस्तो काम गरेको नदेखिए पनि अक्षम्य लापरबाही गरेको देखिन्छ ।’

वडा र प्रशासनले प्रमाणित गरेर कागजात स्वीकृति समितिमा पेस गरेको भोलिपल्टै अस्पतालले हतारहतार मिर्गौला प्रत्यारोपण गरिदिएको देखिन्छ । मिर्गौला तस्करीको यो खेलमा मिर्गौला दिने युवकलाई १० लाख दिने लोभ देखाइए पनि पटक–पटक गरेर २ लाखभन्दा धेरै दिइएन । असई भीम खनालले भने तारतम्य मिलाएको भन्दै दस लाखजति बुझेको देखिन्छ । मानव बेचबिखन नियन्त्रण ब्युरोका अनुसार सबै गरेर मिर्गौला लिने परिवारले २८ लाखजति खर्च गरेको खुल्छ । अनौठो त के छ भने यो घटनामा मुख्य रूपमा संलग्न भए असई भीम र सई योगेन्द्र आफैं पनि मिर्गौला प्रत्यारोपण गरेर बसेका व्यक्ति हुन् । अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार आफ्नो मिर्गौला फेर्ने क्रममा यी दुवै जनाले यसको तस्करीको तौरतरिका जानेबुझेको जस्तो देखिन्छ ।

झन्डै नौ महिना लामो अनुसन्धानपछि प्रहरीले अवैध मिर्गौला प्रत्यारोपणको घटनामा रेश्मा, असई भीम, सई योगेन्द्रका अलावा अन्य ९ जनालाई पनि पक्राउ गरेको छ । जसमा नेपाल मेडिकल काउन्सिलको कार्यकारी समितिका सदस्यसमेत रहेका मेडिकल कलेजका प्रमुख सञ्चालक अधिकृत डाक्टर सुप्रभात श्रेष्ठ, मेडिकल कलेजका कानुनी सल्लाहकार रमेश काफ्ले, जिप्रका चितवनमा कार्यरत अधिकृत रामचन्द्र ढकाल, काठमाडौंको नोबेल अस्पतालका डाक्टर राकेशकुमार बर्मा, अस्पतालका डाक्टर बालकृष्ण कालाखेती, ललितपुर महानगरपालिका वडा ३ का अध्यक्ष गोपाल महर्जन, जिप्रका ललितपुरका अवकाशप्राप्त खरिदार नवराज केसी, भक्तपुर नगरपालिका वडा नम्बर ६ बस्ने जमुना राजभण्डारी र जिप्रका ललितपुरका कार्यालय सहयोगी रहेका छन् । प्रहरीले पक्राउ परेकाहरूलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ अनुसार कारबाहीको प्रक्रिया अगाडि बढाएको छ ।

स्रोतका अनुसार मिर्गौला तस्करीको यो घटनामा सक्रिय सई योगेन्द्रको मेडिकल कलेजका उच्च कर्मचारीसँग पनि बारम्बार सम्पर्क देखिन्छ । प्रहरीले सई योगेन्द्रको कल डिटेलका आधारमा बारम्बार उनको सम्पर्कमा आएका शंकास्पदहरूको निगरानी गरेको थियो । स्रोतले भन्यो, ‘मिर्गौला रोगीले खाने र प्रत्यारोपणमा आवश्यक पर्ने महँगा औषधिहरूसमेत ल्याएर बेच्ने काममा पनि योगेन्द्र सक्रिय देखिन्छन् तर उनको सम्पर्क त्यत्तिकै आधारमा मात्रै अस्पतालका उच्च कर्मचारीसँग भएको मान्न सकिँदैन ।’

अवैध मिर्गौला तस्करीको झन्डै यस्तै प्रकृतिको घटनामा ब्युरोले गत असोज २९ गते ललितपुरको निदान अस्पतालका प्रमुख कार्यकारी अधिकृत, डाक्टरसहित जिल्ला प्रशासन कार्यालय ललितपुरका अधिकृतसहित पाँच जनालाई पक्राउ गरेको थियो । ब्युरोका प्रवक्ता एवं एसपी गोविन्द थपलियाका अनुसार निदान अस्पतालको घटनामा सबै सक्कली कागजात तयार पारेर मिर्गौला प्रत्यारोपण गर्ने बेलामा मात्रै फोटो फेरेर नक्कली दाता खडा गरिएको थियो । तर पछिल्लो तस्करीमा भने सुरुदेखि नै फर्जी कागजातहरू तयार पारेको देखिएको छ ।

प्रकाशित : असार २९, २०७७ ०८:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×