सलहका दुई वटा झुन्ड फेरि नेपाल प्रवेश गरे

असार २८, २०७७

दुर्गालाल केसी, गोविन्द पोखरेल

काठमाडौँ, दाङ — आइतबार सलहका दुई वटा झुन्ड नेपाल प्रवेश गरेका छन् । सलह सूचना केन्द्रका प्रमुख एवं किट विज्ञ रामकृष्ण सुवेदीले आइतबार बिहान साढे ९ बजे र दिउँसो गरेर दुई वटा झुन्ड दाङमा देखिएको बताए ।

झुन्ड धेरै ठूलो नभएर एक/दुई लाखको संख्यामा रहेको सुवेदीले बताए । दिउँसो दाङको राप्ती गाउँपालिकामा सलहको झुन्ड देखिएको हो । दिउँसो देखिएको झुन्ड अहिले आकाशतिर उडिरहेका छन् ।  

यो झुन्ड भारतको बहराइच क्षेत्र हुँदै नेपाल प्रवेश गरेको केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख सुवेदीले कान्तिपुरसँग भने,' भारतको उत्तर प्रदेशस्थित बहराइचमा देखिएको झुन्डबाट टुक्रिएर नेपालतिर आएको हाम्रो अनुमान छ ।'

केन्द्रले प्रक्षेपण गरेको ठूला झुन्ड भने नेपाल प्रवेश गरेको छैन । यसअघि सलह सूचना केन्द्रले भारतको राजस्थानबाट उत्तरपूर्वतर्फ हावा बहन थालेपछि झुन्ड नेपाल प्रवेश गर्ने अनुमान गरेको थियो । 

दाङमा सलह प्रवेश गरेपछि राप्ती गाउँपालिकाले कृषकहरुलाई खबर गरेर सचेत हुन आग्रह गरेको छ । गाउँपालिकाले कृषि विज्ञ टोली पठाएको अध्यक्ष नुमानन्द सुवेदीले जानकारी दिए । अहिले मकैबारी र धानखेतमा किसानहरुले भाँडाको आवाज र आगो बालेर धुँवा निकाल्ने काम गरिरहेको बताए । 

सलह

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

गोविन्द पोखरेल विज्ञान, वन, वातावरण, प्रविधि लगायतका क्षेत्रमा कलम चलाउँछन् ।

Link copied successfully