अझै तीन दिन वर्षाको सम्भावना- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अझै तीन दिन वर्षाको सम्भावना

रासस

काठमाडौँ — जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको जनाएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिकै रहेकाले सोमबारसम्म उक्त प्रणालीको असर रहने भएको हो ।

हाल देशभर सामान्य बदली रही सबै प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै प्रदेश नम्बर १, २, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको औँल्याएको छ ।

आइतबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । सोमबार देशैभर सामान्यदेखि पूर्ण बदली रही सबै प्रदेशमा हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश १, २, वाग्मती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २१ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २७ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।

आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम नौ दशमलव सात डिग्री र सबैभन्दा बढी दिपायलको अधिकतम तापक्रम ३३ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ ।

प्रकाशित : असार २७, २०७७ १४:१५
प्रतिक्रिया
पठाउनुहोस्

क्यारेबियन प्रिमियर लिग अगस्ट १८ देखि

रासस

काठमाडौँ — नेपाली खेलाडी सन्दीप लामिछानेले खेल्ने क्यारेबियन प्रिमियर लिग (सीपीएल)लाई ट्रिनिडाड एण्ड टोबागोले अनुमति दिएको छ । यसअघि ट्रिनिडाड एण्ड टोबागोको सरकारले अनुमिति नदिँदा सीपीएल हुने नहुनेबारे अन्योल थियो । अब उक्त प्रतियोगिताका लागि अनुमति पाएपछि सीपीएल हुने पक्का भएको हो । 

अगामी अगस्ट १८ देखि सेप्टेम्बर १० तारिखसम्म सञ्चालन हुने सीपीएल दर्शकबिना रंगशालामा खेलाइनेछ । सीपीएलको पहिलो र दोस्रो संस्करण विभिन्न खेल मैदानमा खेलाइँदै आएकामा यसपाली तेस्रो संस्करण भने ट्रिनिडाड एण्ड टोबागोको दुई मैदानमा खेलाउन त्यहाँको सरकारले अनुमति दिएको छ ।

सीपीएलमा भाग लिने खेलाडीको प्रतियोगिताअघि कोरोना संक्रमित भए नभएको परीक्षण गरिने आयोजकले जनाएको छ । खेलाडी र प्रशिक्षकमा कोरोना संक्रमण देखिएमा पूरै टोलीलाई १४ दिनको सेल्फ आइसोलेसनमा राखिने बताइएको छ । आयोजक सीपीएल र त्यहाँको सरकारबीच गए राति प्रतियोगिता सञ्चालनको मापदण्डबारे सहमति भएको छ ।

उक्त प्रतियोगिताका लागि १९ वर्षीय सन्दीप एक लाख ३० हजार अमेरिकी डलरमा अनुबन्धित भएका छन् । उनलाई जमैका तलावाजले अनुबन्ध गरेको हो । जमैका तलावाजले उनलाई दोस्रो चरणमा छनोट गरेको थियो । उक्त प्रतियोगिताका लागि २३ देशका ५३७ खेलाडीले नाम दर्ता गराएका थिए । सन्दीपले सीपीएलका लागि आफ्नो अनुबन्धित मूल्य ९० हजार अमेरिकी डलर तोकेका थिए ।

सन्दीप सीपीएलका लागि तेस्रो पटक अनुबन्धित भएका हुन् । यसअघि उनी सीपीएलको पहिलो संस्करण सन् २०१८ मा सेन्ट किट्स एन्ड नाभिस प्याट्रियट्सका लागि पाँच हजार तथा दोस्रो संस्करण सन् २०१९ मा बार्बाडोस ट्राइडेन्सका लागि ७० हजार अमेरिकी डलरमा अनुबन्धित भएका थिए ।

सम्बन्धित समाचार

प्रकाशित : असार २७, २०७७ १४:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×