कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ओली-दाहाल छलफल निष्कर्षविहीन

ओलीले राजीनामाबाहेकका एजेन्डामा मात्र छलफल चाहेका छन् तर प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने अडान दाहालले छाडेका छैनन् ।
कान्तिपुर संवाददाता

काठमाडौँ — सत्तारूढ नेकपाभित्र चुलिएको आन्तरिक विवादको गाँठो फुकाउने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालबीच अझै कुरा मिलेको छैन । दुई दिनयता एक्लाएक्लै छलफलमा बसिरहेका ओली र दाहाल मंगलबारसम्म कुनै निष्कर्षमा पुग्न नसकेका हुन् ।

सहयोगी नेताहरू समेत राखेर छलफल थालेका उनीहरूले सोमबार आफूहरूले नै विवाद मिलाउने ढंगले छलफल अघि बढाएका थिए । तर मंगलबारको छलफलमा पनि उनीहरू एकअर्काका मुख्य मागप्रति लचक नभएको नेताहरूले बताएका छन् ।

बालुवाटारनिकट स्रोतका अनुसार प्रधानमन्त्री ओलीले अझै पनि दाहालसँग राजीनामाबाहेकका एजेन्डामा मात्र छलफल गर्न भनिरहेका छन् । तर अध्यक्ष दाहालले ओलीले राजीनामा दिनुपर्ने अडान छाडेका छैनन् । प्रधानमन्त्री ओलीले आफूविरुद्ध घेराबन्दी गरेर राजीनामाको विषय उठाएकाले यो विषयमा छलफल नै नगर्न भनेका छन् । सहमति खोज्नका लागि पार्टीको स्थायी कमिटी बैठक सुचारु गरी त्यहीं छलफल गर्न दाहालले ओलीसँग आग्रह गरेका छन् ।

सरकारको विषयमा पार्टी कमिटीभित्रै कुरा उठेकाले त्यसलाई त्यहींबाट टुंगाउनु र निचोडमा पुग्नु उपयुक्त हुने दाहालको अडान छ । राजीनामाकै विषय पनि त्यहाँ उठेकाले कमिटीमै बसेर सहमति खोज्न सकिने प्रस्ताव दाहालले ओलीलाई राखेका छन् । त्यसैले ओली बुधबारका लागि तय भएको स्थायी कमिटी बैठक सुचारु गर्न भने तयार भएको स्रोतले जनाएको छ । बुधबार नेकपा स्थायी कमिटीको बैठक बोलाइएको छ । बैठकमा पार्टीले यसअघि नै तय गरेका कोरोना नियन्त्रणलगायतका एजेन्डामा केन्द्रित हुनुपर्ने र अन्य विषयमा नेताहरू बसेर एउटा समझदारी बनाएर जानुपर्ने पक्षमा ओली छन् ।

प्रधानमन्त्री ओलीसँग ठोस कुरा नमिलेपछि दाहालले मंगलबार वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेर बुधबारको बैठकलगायतका विषयमा कुरा गरेका छन् । दाहालले विगतमा जस्तै ओलीसँग मिलेर नेपाल पक्षलाई धोका दिने हुन् कि भन्ने आंशका बढेपछि त्यसलाई हटाउन उनले नियमित रूपमा नेपालसँग भेटिरहेका छन् । दाहाल र नेपाल पक्ष सकेसम्म ओलीलाई प्रधानमन्त्री पदबाटै राजीनामा गराउने भन्नेमा अहिलेसम्म एकमत छन् ।

दुइटै पदबाट राजीनामा दिनुपर्ने भन्ने माग यसअघि राखिए पनि अब एउटा पदबाट हटाउँदाचाहिँ प्रधानमन्त्री पद रोज्नुपर्ने उनीहरूको निष्कर्ष छ । त्यही निष्कर्षका आधारमा दाहालले दुई दिनअघिको बैठकमा ओलीलाई प्रधानमन्त्रीबाट हट्न प्रस्ताव गरेका थिए । त्यही प्रस्ताव उनले मंगलबार पनि दोहोर्‍याए । अहिले ओलीलाई सत्तामा रहिरहन दिँदा पार्टी पनि बदनाम हुने र आफूहरूमाथिको पेलान पनि जारी रहने बुझाइ दाहाल र नेपालको छ ।

प्रकाशित : असार २४, २०७७ ०६:३५
प्रतिक्रिया
पठाउनुहोस्

अझै बनेन कोरोना अस्पताल

कान्तिपुर संवाददाता

बिर्तामोड — झापामा कोभिड अस्पताल निर्माणमा ढिलाइ भएको छ । प्रदेश सरकारले भद्रपुर नगरपालिकास्थित मेची अस्पतालको निर्माणाधीन भवनमा कोभिड अस्पताल बनाउने निर्णय गरे पनि अहिलेसम्म प्रक्रिया अघि बढाएको छैन ।

कोभिड अस्पताल निर्माणका लागि छनोट गरिएको झापाको भद्रपुर नगरपालिका ८ स्थित मेची अस्पतालको निर्माणाधीन भवन । तस्बिर : अर्जुन/कान्तिपुर

अस्पताल बनाउन ढिलाइ भएपछि जिल्लामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकालाई मोरङको गोठगाउँ, विराटनगर र सुनसरीको धरान पठाउने गरिएको छ । संक्रमितलाई जिल्ला बाहिरका अस्पतालमा पठाउनुपर्दा खर्चको भार बढेको कचनकवल गाउँपालिकाका अध्यक्ष अन्जार आलमले बताए । कचनकवलले संक्रमितलाई अस्पताल पठाउन २७ सिट क्षमताको एउटा मिनी बस नै भाडामा लिएको छ । ‘एक दिनमा २७ जनासम्म संक्रमितलाई विराटनगर र धरानको अस्पतालमा पुर्‍याउनुपर्दा बस नै भाडामा लिनुपर्‍यो,’ आलमले भने, ‘जिल्लामै कोभिड अस्पताल निर्माण भएको भए गाडी भाडाको खर्च धेरै हदसम्म कम गर्न सकिन्थ्यो ।’

जिल्लामा पहिलो पटक वैशाख १२ मा दमक नगरपालिका–३ का ६२ वर्षीय वृद्धमा संक्रमण पुष्टि भएको थियो । जेठ ५ यता जिल्लामा संक्रमितको संख्या बढेर गएको हो । जिल्लाका १५ वटै पालिकामा संक्रमण पुष्टि भए पनि भद्रपुरमा निर्माण गर्ने भनिएको कोभिड अस्पताल निर्माणमा ढिलाइ भएको हो । प्रदेश सरकारले कोभिड–१९ बारे शुक्रबार सार्वजनिक गरेको एक प्रतिवेदनमा झापामा कोभिड अस्पताल निर्माण गर्ने उल्लेख छैन । उसले भद्रपुरस्थित मेची अस्पतालमा एक सय शैयाको तथा मेचीनगरस्थित धाइजन हेल्थ पोस्टमा २५ शय्याको आइसोलेसन केन्द्र स्थापना तथा स्तरोन्नति गर्ने उल्लेख गरेको छ । आइसोलेसनका लागि मेची अस्पतालमा तयारी अन्तिम चरणमा पुगेको तथा धाइजनमा बजेट निकासा भइसकेको प्रतिवेदनमा उल्लेख छ ।

जिल्ला कोरोना भाइरस संक्रमण रोकथाम, अनुगमन तथा समन्वय समितिका संयोजक सोमनाथ पोर्तेलले कोभिड अस्पताल निर्माणमा ढिलाइ भए पनि प्रक्रिया चलिरहेको बताए । मेची अस्पतालको निर्माणाधीन भवनमा आवश्यक पूर्वाधार बनाउने काम भइरहेको उनले दाबी गरे । ‘निर्माणाधीन भवनमा अस्पताल बनाउने तयारी गरिएकाले केही ढिलाइ भएको हो । तर, कोभिड अस्पतालकै लागि शौचालय, ढोका, झ्याल र फिनिसिङ गर्ने काम धमाधम भइरहेको छ,’ उनले भने । साउन पहिलो हप्तादेखि जिल्लामै कोभिड अस्पताल सञ्चालनमा ल्याउनेगरी काम गरिरहेको उनको भनाइ छ । भद्रपुरमा ५० शय्याको कोभिड अस्पताल निर्माण गर्ने गरी जिल्ला समन्वय समितिका प्रमुखसमेत रहेका पोर्तेलले पहल गरिरहेका छन् ।

प्रकाशित : असार २४, २०७७ ०६:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×