अनुमति नलिई कर्मचारीहरुको आरडीटी परीक्षण गराएको भन्दै मदिरा उद्योग सिल

असार ९, २०७७

भूषण यादव

वीरगन्ज — अनुमति नलिई आरडीटी परीक्षण गर्ने एक मदिरा उद्योगलाई सिल गरिएको छ । उद्योगभित्र आफ्ना कर्मचारीको आरडीटी टेस्ट गरेको पाइएपछि वीरगन्ज महानगरपालिका– २१ लिपनीविर्ता स्थित हिमालयन डिस्टिलरी प्रालिलाई स्थानीय प्रशासनले सोमबार दिउँसो सिल गरेको हो ।

आरडीटी परीक्षणका लागि प्रदेशको स्वास्थ्य निर्देशानालयबाट अनुमति लिएर मात्र गर्नुपर्ने प्रावधान छ । तर, उक्त डिस्टिलरीले अनुमति नलिई उद्योगभित्र आरडीटी परीक्षण गरेको थियो । उद्योगकै एक अहेब मार्फत आरडीटी परीक्षण गराइरहेको जानकारी प्रशासनलाई आएको थियो ।

स्वास्थ्य कार्यालय र सुरक्षाकर्मीको टोली सोमबार दिउँसो उद्योग पुग्दा एक अहेबले कर्मचारीहरुको रगत झिकेर आरडीटी किटमा परीक्षण गरेको पाइएको थियो । स्वास्थ्य निरीक्षक जयमोद ठाकुरका अनुसार सरकारबाट अनुमित नलिई आरडीटी टेस्ट गरेको पाइएपछि स्थानीय प्रशासनको निर्देशनमा उद्योग सिल गरिएको हो । 

उद्योग आफैंले गरेको आरडीटी परीक्षणमा कूल १ सय ७० कर्मचारी मध्ये ५ जनाको रिर्पोट पोजिटिभ आएको थियो । नारायणी अस्पतालमा पुनः ती पाँचजनाको आरडीटी परीक्षण गर्दा त्यसमध्येका चारजनामा पोजिटिभ रिर्पोट आएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदन कुमार उपाध्यायले जनाए ।

उद्योगले आरडीटी किट समेत सरकारले स्वीकृति प्रदान नगरेको प्रयोग गरेको पाइएको छ । ‘अनुमित नलिई आरडीटी गरेको उक्त उद्योगले सरकारले स्वीकृती नै प्रदान नगरेको आरडीटी किट पनि प्रयोग गरेको छ,’ उनले भने, ‘नारायणीको आरडीटी परीक्षणमा पोजिटिभ आएका ४ जनालाई आइसोलेसनमा राखिएको छ ।’

सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले अनुमित नलिई आरडीटी परीक्षण गरेको पाइएपछि मदिरा उद्योगलाई सिल गरिएको बताए । ‘अनुमति नलिई आरडीटी किट कहाँबाट ल्याए त्यसको अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘आरडीटीमा पोजिटिभ देखिएकालाई नारायणीको आइसोलेसनमा राखिएको छ ।’

कोरोना भाइरस

भूषण

Link copied successfully