संसद् बैठक सुरु, नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति

जेष्ठ २, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त सदनमा आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन् ।

संसद् भवन नयाँ बानेश्वरमा जारी बैठकमा राष्ट्रपति भण्डारीले सरकारको तर्फबाट आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छन् । यसअघि राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षका लागि नेपाल सरकारको नीति तथा कार्यक्रमको प्रति हस्तान्तरण गरेकी थिइन् । संविधानबमोजिम हरेक वर्ष जेठ १५ मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुने भएकाले त्यसको दुई साताअघि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास छ । यसअघि संसद्‍मा पूर्वबजेट छलफल भइसकेको छ । 

राष्ट्रपतिको सम्बोधन सकिएपछि साँझ ६ बजे दोस्रो बैठक बस्ने कार्यतालिका छ ।

कोभिड–१९ संक्रमण जोखिमका कारण नीति तथा कार्यक्रम पेस गर्ने संसद् बैठकमा यस वर्ष विदेशी कूटनीतिक नियोगका प्रतिनिधिहरुलाई बोलाइएको छैन । संसद् सचिवालयले सामाजिक दूरी कायम गरेर बस्न सिट नपुग्ने भएकाले उनीहरुलाई यस बर्ष नबोलाइएको जनाएको छ । विगतमा सरकारको वार्षिक कार्यक्रम पेस गर्ने बैठकमा उनीहरुलाई बोलाउने प्रचलन थियो ।

बैठकमा केही सरकारी कर्मचारी, संवैधानिक नियोगका पदाधिकारीलाई बोलाइएको छ । तर पीसीआर परीक्षण गरेकाहरू मात्र उपस्थित छन् । 

नीति तथा कार्यक्रम

कान्तिपुर

Link copied successfully