तीन सातापछि पनि रहिरहन्छ संक्रमण 

२८ दिनदेखि पीसीआर परीक्षण पोजिटिभ, शरीरमा भाइरस रहँदासम्म संक्रमण फैलाउन सक्‍ने मान्यता रहेकाले उपचाररत संक्रमितलाई डिस्चार्ज नगरिएको चिकित्सकको दाबी

वैशाख ५, २०७७

अतुल मिश्र

काठमाडौँ — मुलुकमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएकामा पीसीआर विधिबाट परीक्षण गर्दा २८ दिनमा समेत नतिजा ‘पोजिटिभ’ देखिएको छ । जसका कारण हाल विभिन्न अस्पतालमा उपचार गराइरहेका संक्रमितहरूलाई डिस्चार्ज गरिएको छैन ।

‘१५ जना नै ठीक हुनुहुन्छ, उहाँहरूमा खोकीलगायतको लक्षण देखिएको छैन,’ इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक एवं भाइरोलजिस्ट डा. वासुदेव पाण्डेले भने, ‘उहाँहरूको घाँटीको र्‍यालको नमुना पीसीआर परीक्षण गर्दा पोजिटिभ देखिएकाले अस्पतालमै राखिएको हो ।’ नेपालमा हालसम्म पीसीआर परीक्षणबाट २८ दिनसम्ममा समेत पोजिटिभ देखिएको उनले बताए ।

पीसीआर परीक्षणबाट ‘कोभिड–१९’ पोजिटिभ देखिँदासम्म अर्थात् पीसीआरबाट शरीरमा भाइरस रहेको जानकारी हँुदासम्म ती व्यक्तिले संक्रमण फैलाउन नसक्नेबारे हालसम्म स्पष्ट नभएकाले समेत डिस्चार्ज नगरिएको डा. पाण्डेले बताए । कोभिड–१९ नयाँ भाइरस भएकाले यसबारे अझै धेरै कुरा स्पष्ट भइनसकेको र पीसीआर प्रतिवेदन पोजिटिभ आएसम्म संक्रमितले अन्य व्यक्तिमा रोग सार्न सक्ने मान्यता रहेकाले आइसोलेसन गरी अस्पतालमै उपचारमा राखिएको हो ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मेडिसिन विभागका प्रमुख प्रा. डा. संजीवकुमार शर्माका अनुसार युरोपेली गाइडलाइनअनुसार कोभिड–१९ संक्रमित व्यक्तिमा लक्षण हराएपछि २४ घण्टाको अन्तरालमा गरिएको दुई वटा पीसीआर परीक्षण प्रतिवेदन नेगेटिभ आए मात्र अस्पतालबाट डिस्चार्ज गर्न सकिन्छ । ‘पीसीआरमा भाइरस देखिनु भनेको शरीरमा भाइरस छँदै छ भन्ने हो,’ उनले भने, ‘विभिन्न अध्ययनहरूले ४५ देखि ५४ प्रतिशत व्यक्तिमा २१ देखि ३९ दिनसम्म पीसीआर परीक्षण प्रतिवेदन पोजिटिभ देखाएको छ ।’

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका भाइरोलोजिस्ट डा. श्रवणकुमार मिश्रले चीनबाट फर्किएका विद्यार्थीमा पहिलो पटक देखिएको कोभिड–१९ को केसमा १४ दिनपछि पीसीआर परीक्षणको नतिजा ‘नेगेटिभ’ देखाएको बताए । सेती अस्पतालमा भर्ना भएकी दोस्रो संक्रमितलाई पीसीआर परीक्षण गर्दा २५ दिनदेखि ‘पोजिटिभ’ देखिइरहेको छ ।

पहिलो केसपछि हालसम्म देखिएका १५ वटा केसमा पीसीआर परीक्षण गर्दा शरीरमा लामो समयसम्म भाइरसको उपस्थिति देखिएको छ । ‘पीसीआर परीक्षण पोजिटिभ आउँदासम्म त्यो व्यक्तिले रोग सार्न सक्छ भन्ने मान्यताअनुुसार संक्रमण विस्तार नहुने उपाय अपनाउनुपर्छ,’ त्रिवि शिक्षण अस्पताल बायोकेमिस्ट्री विभागका डा. विनोदकुमार यादव भन्छन्, ‘द्रुत परीक्षण किट (एन्टिबडी आधारित) मा भएको आईजीएमले तुरुन्त संक्रमण भएको र आईजीजीले विगतमा संक्रमण भएको देखाउँछ ।’

द्रुत परीक्षण किट र पीसीआर परीक्षण दुवैले ‘नेगेटिभ’ देखाए कोभिड–१९ संक्रमण नरहेको बुझ्नुपर्ने डा. मिश्रले बताए । यस्तै द्रुत परीक्षण किटबाट पोजिटिभ देखिए र पीसीआर परीक्षणबाट नेगेटिभ देखिए यसले पहिले ती व्यक्तिलाई कोभिड–१९ संक्रमण भएको र हाल निको भएको बुझ्नुपर्छ । यस्ता व्यक्तिबाट अन्य व्यक्तिमा संक्रमण हुने सम्भावना शून्यप्राय: हुन्छ । द्रुत परीक्षण किट र पीसीआर परीक्षण दुवैवाट पोजिटिभ देखिएका व्यक्तिमा सक्रिय संक्रमण रहेको ठान्नुपर्छ । यस्ता व्यक्तिमा भाइरस बिस्तारै कम हुने स्थितिमा हुन सक्छ र ती व्यक्तिले संक्रमणको विस्तार गर्नमा मुख्य भूमिका खेल्ने गरेका छन् ।

यति मात्र नभई पीसीआर परीक्षणबाट पोजिटिभ र द्रुत परीक्षणबाट बारम्बार निगेटिभ देखिने व्यक्तिमा भाइरसविरुद्घ एन्टिबडी (रोग प्रतिरोधक क्षमता) बन्न नसकेको अवस्था रहेको उनले बताए । संक्रमित यस्ता व्यक्तिको शरीरको प्रतिरक्षा प्रणाली कमजोर भए जटिल स्थितिसमेत आउन सक्ने उनले औंल्याए । ‘द्रुत परीक्षण किटबाट २१ दिनभन्दा पछि समेत पोजिटिभ देखिए ‘चिन्ता लिनुपर्दैन,’ डा. पाण्डेले बताए । विशेषज्ञहरूका अनुसार कोभिड–१९ संक्रमणको सुरुको अवस्थामा पीसीआर परीक्षणबाट पोजिटिभ देखिए पनि उक्त संक्रमणविरुद्घ शरीरमा एन्टिबडी नबनेकाले द्रुत परीक्षण किट (एन्टिबडी आधारित) बाट परिणाम निगेटिभ नै आउँछ ।

शरीरमा कोभिडविरुद्घ एन्टिबडी बन्न थालेको बीचको अवस्था (संक्रमणको करिब ३–४ सातासम्म) मा द्रुत परीक्षण किट र पीसीआर दुवैबाट परीक्षण गर्दा परिणाम पोजिटिभ देखिन्छ । यसपछि अर्थात् सामान्यतया संक्रमणको करिब चार सातापछि रोग निको भएर शरीर भाइरस मुक्त भएपछि पीसीआर परीक्षण गर्दा निगेटिभ देखाउँछ भने द्रुत परीक्षण किटबाट जाँच्दा पोजिटिभ नै आउँछ । तर शरीरमा भाइरस वा एन्टिबडी देखिने समय व्यक्ति–व्यक्तिबीच फरक हुन सक्ने विज्ञहरू औंल्याउँछन् ।

हाल शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकुमा दुई जना, पाटन अस्पतालमा दुई जना, बागलुङ अस्पतालमा दुई जना, वीरगन्जमा चार जना र धनगढीमा पाँच जना संक्रमित उपचाररत छन् ।

२४ घण्टामा ३६९ पीसीआर परीक्षण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार २४ घण्टामा देशभरि रहेका विभिन्न केन्द्रमार्फत ३ सय ६९ वटा नमुनाको पीसीआर परीक्षण भएको जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबार नियमित पत्रकार सम्मेलनमा २४ घण्टामा देशभरिमा ३ सय ६९ पीसीआर परीक्षण गरिएको बताए । हालसम्म जम्मा ७ हजार २ सय ४० नमुनाको पीसीआर परीक्षण गरिएको छ । यस्तै द्रुत परीक्षण किटबाट पछिल्लो २४ घण्टामा ३ हजार २ सय ६३ परीक्षण भएको थियो । हालसम्म द्रुत परीक्षण किटबाट १२ हजार १ सय ९२ नमुनाको परीक्षण गरिएको छ ।

ताप्लेजुङ, इलाम, ओखलढुंगा, खोटाङ, सोलुखुम्बु, डोल्पा, मनाङ र रुकुम पूर्व गरी आठ जिल्लामा मात्र द्रुत परीक्षण गर्न बाँकी रहेको डा. देवकोटाले बताए । उनले वीरगन्जको छपकैयामा चार सय जनाको द्रुत परीक्षण किटबाट जाँचिएकामा सबैको नतिजा ‘नेगेटिभ’ आएको बताए ।

पाँच जनाको आरडीटी रिपोर्ट पोजिटिभ

र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट परीक्षण गर्दा हेटौंडाका चार र मुगुका एक जनामा कोरोना पोजिटिभ देखिएको छ । हेटौंडा उपमहानगरपालिका–४ वासुदेव सभागृहमा भएको र्‍यापिड टेस्टमा एक महिला र ३ पुरुषको नतिजा पोजिटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय हेटौंडाका प्रमुख प्रणय उपाध्यायले बताए । उनका अनुसार सो क्रममा ४० जनाको जाँच गरिएको थियो । 

उनीहरूमध्ये भारत विहार घर भई हेटौंडा–४ आफन्तकहाँ आएकी ५५ वर्षीया एक महिला, भारत गएर फर्किएका हेटौंडा–२ का ६७ वर्षीय एक वृद्ध, हेटौंडा–५ का २४ वर्षीय एक युवक र साउदी अरबबाट फर्किएका ३२ वर्षीय एक युवक छन् । उनीहरूलाई पोलिमरेज चेन रियाक्सन (पीसीआर) जाँचका लागि स्वाब संकलन गरिएको छ । उक्त स्वाब हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको ल्याबमा परीक्षण हुनेछ । आरडीटीमा पोजिटिभ पाइएका परिवार, नियमित सम्पर्क हुनेहरूको पनि स्वाब संकलन गरिएको छ । यसैगरी हेटौंडा–१५ मा गरिएको आरडीटीमा भने सबैको रिपोर्ट नेगेटिभ पाइएको छ । 

यस्तै, मुगुका आरडीटी किटबाट परीक्षण गर्दा एक जनामा कोरोना पोजिटिभ देखिएको छ । लकडाउनअघि भारतबाट आएका खत्याड गाउँपालिकाको खुमाले गाउँका ती व्यक्तिमा पोजिटिभ देखिएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयकी निर्देशक रीता भण्डारीका अनुसार भारतबाट उनीसहित ५५ जनाको टोली गाउँमा पुगेको थियो । उनीहरूको पनि आरडीटी किटबाट परीक्षण गरिने उनले बताइन् । 

मुगुका जिल्ला स्वास्थ्य प्रमुख डा. निर्मल नगरकोटीका अनुसार बिहीबारसम्म जिल्लाभर ९० जनाको आरडीटी परीक्षण गरिएको छ । आरडीटी पोजिटिभ भएका व्यक्तिमा कोरोना भाइरसको कुनै लक्षण देखिएको छैन । परिवारका अन्य सदस्यको पनि आरटीडी किटबाट परीक्षण गरेपछि शुक्रबार स्वाब संकलन गरिने डा. नगरकोटीले बताए ।

संक्रमित वृद्धाको तेस्रो परीक्षण ‘नेगेटिभ’

कोरोना संक्रमित बागलुङकी ६५ वर्षीया महिलाको बिहीबार गरिएको तेस्रो परीक्षणको नतिजा ‘नेगेटिभ’ आएको छ । अर्की संक्रमित १९ वर्षीया युवतीको भने चौथौ स्वाब परीक्षणको नतिजा पनि ‘पोजिटिभ’ आएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

युवतीको चैत १५ र वृद्धाको चैत १९ देखि बागलुङस्थित धौलागिरी अञ्चल अस्पतालको आइसोलेसन वार्डमा उपचार भइरहेको छ । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. शैलेन्द्र पोखरेलले शुक्रबार पनि महिलाको स्वाब परीक्षणका लागि नमुना पठाउने तयारी भइरहेको बताए । ‘नेगेटिभ आएको २४ घण्टापछि अर्को स्वाब परीक्षण गर्दा पनि नेगेटिभ आएमा डिस्चार्ज गर्न सकिन्छ,’ पोखरेलले भने । उनीहरूको अवस्था भने सामान्य रहेको र कुनै पनि औषधि दिनु नपरेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौंले बताए । चैत ४ मा फ्लाइट–क्यूआर ६५२ को कतार एयरवेजको विमानमा आएका दुवै जनामा कोरोना संक्रमण भेटिएको थियो । 

प्रताप विष्टसुवास विडारी (मकवानपुर), कलेन्द्र सेजुवाल (सुर्खेत), लालप्रसाद शर्मा (पोखरा)

कोरोना भाइरस

अतुल मिश्र कान्तिपुर दैनिकमा प्रमुख उप-सम्पादकका रुपमा कार्यरत छन् । उनी स्वास्थ्थ तथा विज्ञान विषयमा विगत २५ वर्ष देखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully