काठमाडौँ — ७० करोड रुपैयाँ कमिसन मोलमोलाइ गरेको टेप सार्वजनिक भएपछि राजीनामा गरेका पूर्वमन्त्री गोकुल बाँस्कोटाले अडियो रेकर्ड गरेका विजयप्रकाश मिश्रविरुद्ध जिल्ला अदालत काठमाडौंमा गाली–बेइज्जतीको मुद्दा दायर गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले टेप प्रमाणित नरहेको भनी अभिव्यक्ति दिएको भोलिपल्टै बाँस्कोटाले आफ्ना वारेसमार्फत मुद्दा हालेका हुन् । उनले मिश्रविरुद्ध ‘झूटा लाञ्छना लगाई गाली–बेइज्जती गरेको’ आरोपमा हदैसम्मको सजाय र क्षतिपूर्तिको माग गरेका छन् । उनले क्षतिपूर्तिको रकम किटान गरेका छैनन् तर मुद्दा गर्दा लागेको खर्च मिश्रबाटै भराई पाउनुपर्ने मागदाबी गरेका छन् ।
मुद्दामा पूर्वमन्त्री बाँस्कोटाले पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहालको नाम दुई ठाउँमा अर्थपूर्ण रूपमा उल्लेख गरेका छन् । लगानी बोर्डमा स्वीट्जरल्यान्डको केभीए नोटासिसका प्रतिनिधिले प्रस्ताव पेस गर्दा बोर्ड अध्यक्ष दाहाल नै रहेको विवरण पनि मुद्दामा राखिएको छ । दाहाल नेतृत्वको मन्त्रिपरिषद्ले सुरक्षण मुद्रण विकास समिति गठन गरेको जनाउँदै उनले त्यसकै आधारमा सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा दुई वर्षभित्र सुरक्षित छापाखाना स्थापना गरी राहदानी, बैंक नोट, अन्तःशुल्क स्टिकर, हुलाक टिकट, लालपुर्जा छापिने उल्लेख गरेको तर्क गरेका छन् ।
नीति तथा कार्यक्रममा समावेश भएको विषय कार्यान्वयन गर्नु आफ्नो कर्तव्य हुने भन्दै बाँस्कोटाले त्यसपछि विभिन्न निजी कम्पनीबाट सुरक्षण मुद्रणको जानकारी दिन भने प्रतिनिधिहरू भेट्न आउने गरेको दाबी गरेका छन् । ‘जानकारी दिन आउने व्यक्तिसँग सम्भावित लागत, गुणस्तर, अवधि, तुलनात्मक लाभलगायतका विषयमा जानकारी लिने गरेको थिएँ,’ फिरादपत्रमा बाँस्कोटाले भनेका छन्, ‘यसै क्रममा जानकारी दिने भन्दै मिश्रले मलाई भेटेका हुन् ।’
म विरुद्ध लगाइएको झुट्टा लाञ्छना र गालिबेइज्ज्तीको विरूद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौंमा न्याय माग गदै मुद्दा दायर गरेको जानकारी सबैमा गराउँदछु । धन्यवाद ।
— Gokul Prasad Baskota (@GokulPBaskota) February 28, 2020
बाँस्कोटाले तत्कालीन प्रधानमन्त्री दाहाल लगानी बोर्डको अध्यक्ष भएका बेला २०७३ पुस २४ गते गरिएको निर्णयबाट माघ २ गते सुरक्षण मुद्रणको सम्भाव्यता अध्ययन गर्न पत्र पाएको व्यक्तिका रूपमा मिश्रले आफूलाई जानकारी गराएको बताएका छन् । मिश्रले नाजायज प्रस्ताव राखेपछि उनको हितमा कुनै काम नगरेको र गर्न नदिएको उनले दाबी गरेका छन् । आफूले २०७५ वैशाख २३ गते एक सञ्चारमाध्यममा ‘हो, मान्छे आउँछन्, यति करोड कमिसन आउँछ सही गर्दिनुपर्यो भनेर’ भनी अन्तर्वार्ता दिएको दाबी गरेका छन् । उनले २०७६ पुस २३ गते पत्रकार महासंघ भक्तपुरको कार्यक्रममा पनि ‘म मन्त्री भएदेखि को कमिसन दिन आए भन्ने कुराको डायरी लेख्दै छु’ भनेको उल्लेख गरेका छन् ।
मन्त्री बाँस्कोटाको विवादास्पद अडियो सार्वजनिक [सुन्नुहोस् अडियो]
विभिन्न कम्पनीका प्रतिनिधिहरू बदनियतका साथ आफ्नो स्वार्थ पूरा गर्न सक्रिय भएपछि आफूले सुरक्षण मुद्रण ‘सरकार–सरकार (जी टु जी) मात्रै खरिद गर्ने विधि अपनाएको दाबी गरेका छन् । बाँस्कोटाको दाबीअनुसार मिश्रले झूटा प्रमाण खडा गरी अडियो टेप सार्वजनिक गरेका हुन् । उनले मिश्रसँग आफ्नो कुनै कुराकानी र छलफल भएको भए पनि सहमतिबिना यान्त्रिक उपकरण प्रयोग गर्नु अपराध रहेको जिकिर गरेका छन् ।
