१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

सभामुखमा सापकोटा नै किन ?

प्रधानमन्त्रीलाई भेटेरै शिवमायाले भनिन्– ‘मेरो के गल्ती थियो ? एक जना चारित्रिक अपराधमा जेल जाने, मलाई सजाय हुने भयो । मैले उपसभामुख छोड्‌नुपर्ने कारण के हो ? पार्टीले लिखित देओस् ।’
बिनु सुवेदी

काठमाडौँ — सभामुख चयनको विषयलाई लिएर सत्तारूढ दल नेकपामा देखिएको शक्तिसंघर्ष टुंगिएको छ । नेकपा सचिवालय बैठकले स्थायी कमिटी सदस्य अग्नि सापकोटालाई सभामुख उम्मेदवार बनाउने निर्णय गरेसँगै प्रतिनिधिसभालाई सभामुखको चुनाव गराउने बाटो खुलेको छ ।

सभामुखमा सापकोटा नै किन ?

सचिवालय बैठकले सापकोटालाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको महासचिव विष्णु पौडेलले जानकारी दिए । यसअघि नेकपाले सभामुखको उम्मेदवार तोक्न नसक्दा संसद् बैठक एक महिनामा चार पटकसम्म स्थगित भएको थियो । सचिवालय बैठकमा आइतबार अध्यक्ष पुष्पकमल दाहालले सभामुखका लागि सापकोटाको नाम प्रस्ताव गरेका थिए ।


यसअघि बारम्बार भएका बैठक सभामुखका बारेमा केन्द्रित भए पनि पात्र चयन प्रक्रियामा नपुग्दै अलमलिएपछि गतिरोध बढ्दै गइरहेको थियो । ‘अध्यक्ष दाहालले गर्नुभएको प्रस्तावमा आठै सदस्यले सहमति जनाएपछि अग्निजीको नाम अनुमोदन भएको हो,’ महासचिव पौडेलले भने, ‘हामीले दुई अध्यक्षलाई उम्मेदवार प्रस्ताव गर्नुस् भनेका थियौं, उहाँहरूले प्रस्ताव ल्याउनुभयो र सहमति गरियो ।’ सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ बैठकमा अनुपस्थित थिए ।

बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले सभामुखको उम्मेदवार सिफारिस गर्न कार्यकारी अध्यक्ष दाहाललाई आग्रह गरेका थिए । त्यसपछि दाहालले राजनीतिक पृष्ठभूमि र समन्वयकारी छविका कारण स्थायी कमिटी सदस्य सापकोटालाई सभामुखको उम्मेदवार तय गर्नुपर्ने प्रस्ताव गरेका थिए । दाहालको प्रस्ताव आएलगत्तै केही सचिवालय सदस्यले सर्वोच्च अदालतमा विचाराधीन उनीविरुद्धको मुद्दाबारे कुरा उठाएका थिए । ‘द्वन्द्वकालीन मुद्दाकै कुरा गर्ने हो भने त मेराविरुद्ध पनि छन्, बादलजीविरुद्ध पनि छन्,’ दाहालले जवाफ दिए, ‘त्यो द्वन्द्वकालीन मुद्दा भएको र त्यसको हल संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरूले गर्ने भएकाले त्यसमा समस्या हुन्छ जस्तो मलाई लाग्दैन ।’

उनले उजुरीकर्ता नै सत्य निरूपण तथा मेलमिलाप आयोगबाट मुद्दाको किनारा लगाउने विषयमा सहमत भएको ब्रिफिङ गरेका थिए । ‘अब अप्ठ्यारो हुन्न भन्ने तपाईंलाई लागेको छ भने समर्थन नै छ,’ ओलीले दाहाललाई भनेका थिए । ‘करिब डेढ घण्टाको छलफलपछि अग्निजी सभामुखका लागि उपयुक्त पात्र हुनुहुन्छ भन्ने निष्कर्षमा बैठक पुग्यो,’ सचिवालय स्रोतले कान्तिपुरसँग भन्यो ।


दाहालले भने - ‘कार्यकर्ताको मनोविज्ञान सम्बोधन भयो’

बैठकपछि अध्यक्ष दाहालले नेकपाभित्र विभिन्न शक्ति खेल्न खोजे पनि सफल हुन नसकेको निचोड निकालेका छन् । बैठकलगत्तै आफ्नै निवास खुमलटारमा केही स्थायी कमिटी सदस्यसँगको छलफलमा दाहालले पार्टीभित्रको मनोविज्ञानलाई सम्बोधन गर्न आफूहरू सफल भएको निचोड सुनाएका हुन् । ‘हामीलाई असफल बनाउन बाहिरी शक्ति जसरी खेलिरहेका थिए, त्यसलाई आजको निर्णयले चिर्न सफल भएको छ,’ उनको भनाइ उद्धृत गर्दै निजी सचिवालयका एक सदस्यले भने, ‘यो निर्णयले पार्टीलाई नयाँ ढंगले अघि बढाउने कुरामा बल पुगेको छ ।’

स्थायी कमिटी सदस्य जनार्दन शर्माले पनि पार्टीभित्रको मनोविज्ञान स्थापित गर्न नेताहरू सचेत देखिएको टिप्पणी गरे । शर्माले सभामुख चयनका सन्दर्भमा देखिएको असमझदारी अन्त्य गर्न समन्वयकारी भूमिका खेलेका थिए ।

दुवै अध्यक्ष आफूअनुकूल व्यक्तिलाई सभामुख बनाउनुपर्छ भन्नेमै केन्द्रित रहेर छलफल गरिरहँदा पूर्वमाओवादी र पूर्वएमाले नेताहरू विभाजितजस्तै भएका थिए । पूर्वएमालेमा अध्यक्ष ओली खेमा एकातिर थिए पनि सचिवालयकै अरू नेता पूर्वमाओवादीलाई सभामुख दिनुपर्छ भन्नेमा थिए । एकीकरणताका सभामुख पूर्वमाओवादीले पाएको र पार्टी अझै दुई भागमा छ भन्ने मनोविज्ञान भत्किनसकेकाले उनीहरूका पक्षमा माहोल थियो । ओली पक्षधर नेताहरू भने पार्टी एक भइसकेपछि ‘पूर्व–पश्चिम’ भनेर विभाजित हुन नहुने तर्क गरिरहेका थिए । यही पृष्ठभूमिलाई आधार मानेर दाहालले आइतबार साँझ आफूनिकटसँग भने, ‘पार्टी सम्पूर्ण रूपमा एक हुन समय लाग्छ भन्ने मनोविज्ञानलाई सम्बोधन गर्न नेकपा सफल भएको छ, हामी सफल भएका छौं ।’

सचिवालय बैठक बस्नुअघि दुई अध्यक्षबीच छुट्टै छलफल गरेका थिए । दाहालले सचिवालयमा प्रस्ताव लैजानुअघि अरू सदस्यसँग पनि छुट्टाछुट्टै परामर्श गरेकाले नाम सर्वसम्मत रूपमा चयन गर्न सजिलो भएको बैठक स्रोतको बुझाइ छ । आइतबारै दाहालले नेता नेपालसँग भेटेर र अरू सदस्यसँग फोनमा कुराकानी गरेका थिए । उसो त भैंसेपाटी भेलामा सहभागी भएका सदस्य सभामुख पूर्वमाओवादीलाई दिनुपर्छ भन्नेमै थिए । सुरुमा असहमत देखिएका वामदेव गौतम पछि सभामुख उम्मेदवारको प्रस्ताव कार्यकारी अध्यक्षले गर्नुपर्ने बताउँदै आएका थिए ।


सापकोटा नै किन ?

तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि पूर्वमाओवादी पक्षका धेरै नेताले सभामुखमा दाबी गरिरहेका थिए तर अध्यक्ष दाहालको पहिलो रोजाइ सापकोटा थिए । उनले सापकोटालाई आगामी सभामुखका लागि तयारी अवस्थामा बस्नसमेत भनिसकेका थिए । ‘यसका पछाडि दुईवटा कारण छन्,’ दाहालनिकट स्रोत भन्छ, ‘एक, सापकोटा अध्यक्ष कमरेडको सबैभन्दा निकट पात्र हुन्, द्वन्द्वकालीन मुद्दाकै कारण पार्टीमा योगदान गरेका नेताहरू कहिलेसम्म पछि परिरहने भन्ने उहाँको भनाइ थियो ।’

सापकोटालाई सभामुखमा अघि सारेर दाहाल द्वन्द्वका बेला भएका घटनालाई एउटा समझदारीमा टुंग्याउनुपर्छ भन्ने संकेत पनि दिन चाहन्थे । ‘यही पृष्ठभूमि बनाउन उहाँले टुँडिखेलबाटै सशस्त्र युद्धमा मारिएकामध्ये पाँच हजारको जिम्मेवारी लिन तयार छु भन्नुभएको हो,’ स्रोतको दाबी छ, ‘सशस्त्र संघर्षकालीन घटनाबाट अहिले शक्तिमा रहेका अधिकांश नेता अछुतो छैनन् भन्ने सन्देश उहाँले दिन चाहनुभएको हो ।’

यिनै तयारीका कारण सभामुख चयनका बेला देखिएका संघर्ष र भएका वादविवादमा सापकोटा कतै सहभागी भएनन् । यसबीचमा भएको नेकपा स्थायी कमिटी बैठकमा समेत उनले सन्तुलित अभिव्यक्ति दिएका थिए । ०५२ मा सशस्त्र संघर्ष थालेर ०६२/६३ पछि शान्तिपूर्ण राजनीतिमा आएको माओवादी पक्षबाट सभामुख हुने सापकोटा तेस्रो नेता हुन् । यसअघि ओनसरी घर्तीमगर र कृष्णबहादुर महराले संसद्को नेतृत्व लिइसकेका छन् ।


शिक्षकदेखि सभामुखसम्म

०१४ साल फागुन २४ गते सिन्धुपाल्चोकको कुविन्डेमा जन्मिएका सापकोटा ०३४ मा नेपाल कम्युनिस्ट पार्टीमा आबद्ध भए । १५ वर्षको शिक्षण पेसाबाट ०४८ मा राजीनामा दिएर उनी पूर्णकालीन राजनीतिमा होमिएका हुन् । ०५२ देखि माओवादीको भूमिगत राजनीति थालेका उनले विभिन्न ब्युरोको नेतृत्व गरेका थिए । ०६२ चैत १४ मा सिन्धुपाल्चोकको ठोकर्पामा भएको सभामा सेनाले हानेको गोली लागेर घाइते भएका उनी ०६४ को संविधानसभा चुनावमा सिन्धुपाल्चोक २ बाट विजयी भएका थिए ।

त्यसपछिका दुईवटा चुनावमा पनि सापकोटा सिन्धुपाल्चोकबाटै विजयी भएका हुन् । सापकोटा ०६८ मा पहिलोपटक सूचना तथा सञ्चारमन्त्री भए भने ०७२ को सरकारमा वन तथा भूसंरक्षणमन्त्री भएका थिए । अहिले नेकपाको स्थायी कमिटी सदस्य रहेका उनी सिन्धुपाल्चोक–१ बाट प्रतिनिधिसभा सदस्य छन् । सशस्त्र संघर्षयता राजनीतिक हिसाबकिताब र दाउपेचमा अध्यक्ष दाहाललाई सघाउँदै आएका सापकोटाले अब नेकपाको स्थायी कमिटीबाट राजीनामा दिएर संसदीय अभ्यासमा तटस्थ भूमिका निभाउनुपर्नेछ ।


उपभामुखको प्रश्न : मेरो के गल्ती थियो ?

सचिवालय बैठक बस्नुअघि उपसभामुख शिवमाया तुम्बाहाङ्फे प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेकी थिइन् । आइतबारको भेटमा पनि उनले प्रधानमन्त्रीसँग ‘मेरो गल्ती के थियो’ भनेर सोधेकी थिइन् । ‘एकजना चारित्रिक अपराधमा जेल जाने, मलाई सजाय हुने भयो,’ उनको भनाइ उद्धृत गर्दै उनीनिकट स्रोतले भन्यो, ‘मैले उपसभामुख छोड्नुपर्ने कारण के हो ? पार्टीले लिखित देओस् ।’

जवाफमा प्रधानमन्त्री ओलीले शक्तिसन्तुलन मिलाउनुपर्दा यस्तो निर्णय गर्नुपरेको बताएका थिए । यसअघि पनि तुम्बाहाङ्फे बारम्बार आफू सभामुखको स्वाभाविक दाबेदार रहेको बताउँदै आएकी थिइन् । उनलाई केही समयसम्म प्रधानमन्त्री ओलीको साथ पनि थियो तर सभामुख चयनको सन्दर्भलाई लिएर संसद्लाई अरू लामो समय बन्धक बनाउन नहुने निष्कर्षमा पुगेपछि ओलीले तुम्बाहाङ्फेलाई सम्झाएका थिए ‘तर उहाँ प्रधानमन्त्रीज्यूको जवाफबाट सन्तुष्ट हुनुहुन्न,’ स्रोतले कान्तिपुरसँग भन्यो ।

तुम्बाहाङ्फेसँग सोमबार बिहान नेकपा नेतृत्वले छलफल गर्ने र त्यसका आधारमा संसद्को कार्यतालिका बनाउने निधो भएको छ । सभामुखबारे दुई अध्यक्षबीच खिचातानी हुँदा पुस ४ देखि रोकिएको संसद् बैठक सोमबारका लागि डाकिएको छ । नेकपा नेताहरूसँगको छलफलपछि तुम्बाहाङ्फेले राजीनामा दिने तयारी छ । उनको राजीनामापछि ज्येष्ठ सदस्य महन्थ ठाकुरमार्फत सभा सञ्चालन गर्ने तयारी छ । ठाकुरलाई पनि अध्यक्षता गर्नका लागि तयारी अवस्थामा बस्न संसद् सचिवालयले खबर गरिसकेको छ । ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्ने बैठकले सभामुख निर्वाचनको मिति तोक्नेछ ।

प्रकाशित : माघ ६, २०७६ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?