काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ खरिद प्रक्रियाका सम्बन्धमा संसदीय समितिको अध्ययनलाई सरकारले सहयोग गर्ने बताएका छन् ।
स २१ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले संसदीय समितिलाई सरकारले आवश्यक सबै कागजपत्र उपलब्ध गराउने बताएका हुन् ।
संसदीय समितिले कुरा उठाइसकेपछि सरकारले त्यसलाई नमान्ने कुरा नहुने भन्दै समितिलाई पनि तथ्यगत भएर सरकारलाई सुझाव दिन उनले आग्रह गरे । तथ्यांकको सुरक्षा लगायत दृष्टिले दीर्घकालीन महत्वको विषय भएकाले छलफल गरेर छिटो टुंगोमा पुर्याउन पनि उनले समितिलाई आग्रह गरे ।
उनले भने, “सेक्युरिटी प्रिन्टिङका सम्बन्धमा लेखा समितिले पत्र लेखेको छ । आजै अर्थ समितिको पनि पत्र आएको मैले सूचना पाएको छु । फ्रान्स सरकार र नेपाल सरकारले जर्मन सरकारसँग गरेका पत्राचार तथा सम्पूर्ण प्रस्ताव लगायत डकुमेन्ट हामीले पठाइदिन्छौँ । उहाँहरुले राम्रोसँग छलफल गरेर पठाइदिनुभयो भने हामीलाई सहयोग नै पुग्छ । गलत छ भन्यो भने तथ्यगत रुपमा भन्दिनुपर्यो । यसमा कोठाभित्र बसेर निर्णय नहोस् ।”
उनले आवश्यकता महसुस गरेर सरकारले सूचना प्रविधि विधेयक बनाएर संसदमा पठाएको उल्लेख गर्दै विषयगत समिति अर्न्तगतको उपसमितिले ३६ वटा विषयमा विधेयकलाई सम्मृद्ध बनाएको र ८ वटा बुँदा प्रमुख प्रतिपक्षी दलका विषयलाई सम्बोधन गरिएको दाबी गरे ।
“लोकतन्त्र ओठे भक्ति” नभएको उल्लेख गर्दे उनले लोकतन्त्रलाई कहिँबाट पनि प्रभाव पार्नुहुन्न भन्नेमा सरकार दृढ रहेको स्पष्ट पारे । उनले विधेयका सम्बन्धमा अनावश्यक भ्रम छर्ने काम भएको पनि दाबी गरे ।
