प्रहरी कार्यालयबाटै चिनियाँ नागरिकको म्याद थप

पुस ८, २०७६

मातृका दाहाल

काठमाडौँ — प्रहरीले सोमबार पक्राउ परेका १२२ चिनियाँ नागरिकलाई प्रहरी कार्यालयबाटै म्याद थप गरेको छ ।

महानगरीय प्रहरी परिसरका आयुक्त डीआईजी विश्वराज पाेखरेलका अनुसार काठमाण्डाै परिसरबाट ८४ र महाराजगञ्ज वृत्तबाट ३८ जनालाई ५ दिनको म्याद थपेको हाे । अनुसन्धानका 

क्रममा प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा उनीहरुलाई म्याद थप गरिएकाे हाे ।


साेमबार प्रहरीले १२२ जनालाई पक्राउ गरेकाेमा परिसरमा ४४ जना, दरबारमार्ग वृत्तमा १४, महाराजगञ्ज प्रहरी वृत्तमा ३८ जना, साेह्रखुट्टे प्रहरी वृत्तमा ११ र बालाजु प्रहरी वृत्तमा १५ जनालाई राखिएकाे थियाे ।

म्याद थपका लागि सरकारी वकिलको कार्यालय काठमाडाैं र जिल्ला अदालत काठमाडाैंकाे संयन्त्र प्रहरी कार्यालयमै पुगेकाे थियाे । भाषा समस्या र पक्राउ परेका आरोपितको संख्या धेरै भएका कारणले उनीहरुलाई अदालतमा उपस्थित गराउन समस्या भएकाले प्रहरी कार्यालयमै जिल्ला अदालत र जिल्ला सरकारी वकिलको कार्यालयको समन्वयमा म्याद थप गरिएकाे हाे ।

सरकारले नेपालमा बसेर गैरकानुनी गतिविधिमा संलग्न चिनियाँ नागरिकलाई देश निकाला गर्ने तयारी गरेकाे छ । नेपालमा बसेर गैरकानुनी गतिविधि गरेको अभियोगमा पक्राउ परेका १ सय २२ चिनियाँ नागरिकलाई अध्यागमन विभागले देशबाट निष्कासनकाे तयारी अघि बढाएको छ ।

मातृका दाहाल विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका छन् । उनी राष्ट्रिय सुरक्षा, सुशासन तथा सामाजिक जनचासाेका विषयमा समाचार लेख्छन् ।

Link copied successfully