१ सय २२ चिनियाँलाई देश निकालाको तयारी

पुस ८, २०७६

मातृका दाहाल

काठमाडौँ — नेपालमा बसेर गैरकानुनी गतिविधि गरेको अभियोगमा पक्राउ परेका १ सय २२ चिनियाँ नागरिकलाई अध्यागमन विभागले देशबाट निष्कासनकाे तयारी अघि बढाएको छ ।

प्रहरीको अनुसन्धानमा रहेका चिनियाँ नागरिकमाथि प्रारम्भिक अनुसन्धान सकिएपछि अध्यागमन कानुनअनुसार चीन सरकारसमक्ष बुझाउने तयारी थालिएको हो ।


अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले भने, 'प्रहरीले सबै चिनियाँ नागरकिमाथि अनुसन्धान गरिरहेको छ । पक्राउ परेकामाथि प्रहरीले अनुसन्धान गरिरहेको छ, कसको के कसुरमा संलग्नता छ भन्ने खुलेपछि आवश्यक प्रक्रिया पुर्‍याएर अध्यागमन कानुनअनुसार उनीहरुलाई चीन फिर्ता पठाउँछौं ।’

यस विषयमा प्रहरीले नेपालस्थित चिनियाँ राजदूतावाससँग पनि परामर्श थालेको छ । केही साताअघि नै चीन सरकारले नेपालमा चीनविरोधी गतिविधिमा चिनियाँ गिरोह नै सक्रिय रहेको भन्दै कूटनीतिक माध्यममार्फत सरकारको ध्यानाकर्षण गराएको थियो ।

अमेरिकामा मस्ट वान्टेड सूचीमा रहेका अमेरिकी नागरिक नाथन बेडफोर्ड माकोब्स्कीलाई गएको असोज २ गते अमेरिकी सरकारले विमान चार्टड गरेर फिर्ता लगेको थियो । असोज १ गते नाथनलाई लिन अमेरिकाबाटै जहाज आएको थियो ।

सोमबार काठमाडौंका मनमैजु, बाँसबारी र बूढानीलकण्ठबाट करिब ५ सय ल्यापटपसहित एकैपटक १ सय २२ चिनियाँ नागरिक पक्राउ परेका थिए । पक्राउ परेकालाई फिर्ता लैजानेबारे चिनियाँ राजदूतावासले पनि सरकारी संयन्त्र मार्फत आन्तरिक परामर्श थालेको स्रोतको भनाइ छ ।

मातृका दाहाल विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका छन् । उनी राष्ट्रिय सुरक्षा, सुशासन तथा सामाजिक जनचासाेका विषयमा समाचार लेख्छन् ।

Link copied successfully