१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

देउवाले फेरे बोली- ‘आलमको मुद्दामा अनुसन्धान गर्न सघाउँछौं’

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका पूर्वमन्त्री एवं सांसद मोहम्मद आफताव आलमको मुद्दामा निष्पक्ष अनुसन्धान गर्न पार्टीले सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् । कांग्रेसद्वारा शुक्रबार आयोजित कार्यक्रममा आलमको बचाउमा उत्रिएका देउवा भोलिपल्टै विज्ञप्ति जारी गरेर आफ्नो अभिव्यक्तिबाट पछि हटेका हुन् । 

देउवाले फेरे बोली- ‘आलमको मुद्दामा अनुसन्धान गर्न सघाउँछौं’

पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा शुक्रबार भक्तपुरमा आयोजित प्रशिक्षण कार्यक्रममा देउवाले आलमको बचाउ गर्दै सरकारविरुद्ध आक्रामक अभिव्यक्ति दिएका थिए । १२ वर्षअघिको मुद्दा ब्युँताएर सरकारले कांग्रेसविरुद्ध षड्यन्त्र गरेको भन्दै आलमको बचाउमा अभिव्यक्ति दिएपछि उनको सर्वत्र आलोचना भएको थियो । शनिबार विज्ञप्ति निकालेर देउवाले अघिल्लो दिनको आफ्नो अभिव्यक्ति सच्याएका हुन् । ‘कुनै पनि गम्भीर मुद्दामा प्रक्रियागत ढिलासुस्ती हुँदा निर्दोष सावित हुने या दोषी ठहर हुने सत्यतथ्य अन्वेषण गर्ने कार्यमा बाधा पुग्छ,’ देउवाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘१२ वर्ष पुरानो मुद्दामा मैले यही संकेत गरेको हुँ ।’


देउवाले विज्ञप्तिमा कानुनी राज्यमा विश्वास गर्ने पार्टीले जरुरी अनुसन्धानको विपक्षीमा उभिन नसक्ने प्रस्ट पारेका छन् । ‘मोहम्मद आफताव आलममाथिको मुद्दामा पूर्वाग्रह र दबाबबाट मुक्त रहेर अनुसन्धान गर्ने कार्यमा कांग्रेसको सहयोग रहन्छ,’ देउवाले भनेका छन्, ‘निर्दोष कोही दण्डित नहुने र दोषीलाई उन्मुक्ति हुन नहुने हाम्रो प्रस्ट मान्यता म सार्वजनिक रूपले प्रस्ट्याउन चाहन्छु ।’


अनुसन्धानमा सघाउनु कांग्रेसको कर्तव्य : प्रवक्ता शर्मा

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पूर्वमन्त्री एवं पार्टीका सांसद आफ्ताव आलम मुद्दाको निष्पक्ष अनुसन्धान प्रक्रियामा आफ्नो पार्टीले सहजतापूर्वक सघाउने बताएका छन् । शर्माले शनिबार ट्वीट गरी आफ्नो पार्टीको संघर्ष विधिको शासन र दबाबमुक्त कानुनी राज्यका लागि भएको उल्लेख गर्दै स्थापनाकालदेखिको संस्थागत मान्यताअनुरूप आलम प्रकरण अनुसन्धानमा कांग्रेसले सघाउने जनाएका हुन् ।


‘हाम्रो संघर्ष विधिको शासन र दबाबमुक्त कानुनी राज्यका लागि थियो, हो र रहनेछ । अनुसन्धानमा सहजतापूर्वक सघाउनु हाम्रो कर्तव्य हो । स्थापनाकालदेखिको हाम्रो संस्थागत मान्यता कस्तै परिस्थितिमा किमार्थ बदलिन्न । यही नै हाम्रो स्थायी धारणा, स्थायी विश्वास र स्थायी बाटो पनि हो,’ उनले ट्वीटमा भनेका छन् ।


उनले यसअघि अनुसन्धानमार्फत निर्दोष या दोषी ठहर हुने कानुनी प्रक्रियालाई सबैले सघाउने पार्टी केन्द्रको धारणा रहेको र आलम प्रकरणमा समेत यही सत्य लागू हुने जनाएका थिए । आलम पक्राउको विरोधमा आन्दोलनमा उत्रिएको रौतहट कांग्रेसले समेत पार्टीको केन्द्रीय धारणाअनुरूप अनुसन्धान प्रक्रियामा सहयोग गर्ने शर्माले उल्लेख गरेका थिए ।

यो पनि पढ्नुहोस्:

कांग्रेस नेता आलम पक्राउ प्रकरण : ‘जिउँदै जलाइयो, राजनीतिको आडमा ढाकछोप’

रौतहट बम विस्फोट काण्ड : न्यायका लागि १२ वर्षमा ७२ पल्ट काठमाडौं

रौतहट बम विस्फोट काण्ड : न्यायको अन्तहीन पर्खाइ

प्रकाशित : कार्तिक ३, २०७६ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?