रौतहट बम विस्फोट काण्ड : न्यायका लागि १२ वर्षमा ७२ पल्ट काठमाडौं

कान्तिपुर संवाददाता

रौतहट — रौतहट बम विस्फोटको एक सातासम्म भोकप्यासै नभनी छटपटाएका श्रीनारायण र रुक्साना खातुन त्यसपछि घटनाको निष्पक्ष छानबिन हुनुपर्ने भन्दै अगाडि आए । घटनाको ११ दिनपछि श्रीनारायण र रुक्सानाले आलमसहित ५ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिए । तर तत्कालीन एसपी लक्ष्मण न्यौपाने (जो पछि टीकापुरमा भएको आन्दोलनमा मारिए) ले उनीहरूको जाहेरी दर्ता गरेनन् । 

रौतहट बम विस्फोट काण्ड : न्यायका लागि १२ वर्षमा ७२ पल्ट काठमाडौं

प्रत्यक्षदर्शी एवं पीडितका परिवार भने घटनाको राति नै एसपी न्यौपाने, तत्कालीन प्रमुख जिल्ला अधिकारी दुर्गा भण्डारी र सशस्त्रका तत्कालीन एसपी रामकृष्ण लामा फरहदवास्थित गोठमा पुगेको दाबी गर्छन् । घटनाको भोलिपल्टै एसपी न्यौपानेले कान्तिपुरकर्मीलाई घटनै नभएको दाबी गरेका थिए । मानवअधिकारकर्मी, विपक्षी दल र सञ्चारकर्मीको चासो बढेपछि एसपी न्यौपानेले घटनास्थलको मुचुल्का उठाए तर जिप्रकामा रहेको घटनाको पुरानो फाइलमा न घटनास्थलको तस्बिर भेटिन्छ न अन्य घटनाको पूर्ण विवरण नै । घटनास्थलको भनिएको उक्त मुचुल्कामा बम विस्फोट भन्ने नै उल्लेख छैन । घटनापछिका दिनहरूमा प्रहरीको भूमिका शंकास्पद मात्रै होइन, शक्तिकेन्द्रमा रहेका आलमको स्वार्थ पूरा हुने गरी नाम मात्रको कागजी प्रक्रिया अगाडि बढाइएको देखिन्छ ।


घटनाबारे अनुसन्धान गर्नुपर्ने माग बढ्दै गएपछि एसपी न्यौपानेले २०६५ वैशाख १६ मा इँटाभट्टाको माटो र वैशाख १७ मा इँटा निकालेर परीक्षणका लागि प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाएका थिए । कान्तिपुरसँग सम्पर्कमा आएका केही प्रहरी अधिकारीहरूले आलमको स्वार्थलाई बल पुर्‍याउने गरी तत्कालीन एसपी न्यौपानेले शव पोलिएको भन्दा फरक इँटाभट्टाको माटो र इँटा परीक्षणमा पठाएका थिए ।


मृतक ओसीकी आमा रुक्सानाले घटनाको केही दिनपछि विस्फोट भएको गोठ नजिकै छोराको स्वेटर, मोजा र जुत्ता फेला पारेकी थिइन् । उनले उक्त सामग्री प्रहरीलाई अनुसन्धानका लागि भन्दै दिएकी पनि थिइन् । तर आलमको राजनीतिक प्रभावमा परेको प्रहरी प्रशासनले घटनाको गम्भीर अनुसन्धान अगाडि बढाउनै चाहेन ।


आलम र उनका मान्छेहरूले श्रीनारायण र रुक्सानालाई अनुसन्धानका निम्ति बिन्ती बिसाउँदै नहिँड्न भन्दै कैयन् पटक धम्काए । ज्यानै मार्नेसम्मको धम्की पनि उनीहरूले कैयन् पटक पाए । श्रीनारायणले सुनाए, ‘पैसाको प्रलोभन दिएनन् कि, ठूलाबडासँग जोरी नखोज भन्दै धम्काएनन् कि ? के मात्रै गरेनन् तर मैले हरेस खाइनँ ।’ जाहेरी दर्ता नभएपछि उनीहरूले हुलाकबाट जाहेरी पठाए । आलमको शक्ति प्रभावमा परेको प्रहरीले अन्तमा मुद्दा दर्ता त गर्‍यो तर असार ९ गते नाटकीय शैलीमा एकै दिन पक्राउ पुर्जी जारी गरियो, पक्राउ गरियो र कर्तब्य ज्यान जस्तो गम्भीर मुद्दामा त्यही दिनमै अनुसन्धान सकेको नाटक गरेर सरकारी वकिलको कार्यालयमा मुद्दाको फाइल पेस गरियो । सरकारी वकिलको कार्यालयले उही रफ्तारमा त्यसै दिनै आलमसहित पाँचै जनालाई कागज गरेर हाजिरी जमानीमा छाडिदियो । सरकारी वकिलको कार्यालयको यही निर्णयलाई महान्यायाधिवक्ताको कार्यालयले २०६५ असार ३० गते सदर गरिदियो ।


एसपी न्यौपाने सरुवा भएपछि जिल्ला प्रहरीको नेतृत्व सम्हाल्न २०६५ साउन ६ गते एसपी जयबहादुर चन्द रौतहट आए । करिब चार महिना मात्रै जिल्ला प्रहरीको नेतृत्व सम्हालेका उनले यो मुद्दामा कपोकल्पित ब्यहोरा उल्लेख गरी ‘सम्मानित अदालतसमक्ष दर्ता गराउन दर्ता भएको रिट निवेदन खारेजभागी छ’ भन्दै सर्वोच्चलाई लिखित जवाफ पठाए । कर्तब्य ज्यान जस्तो गम्भीर प्रकृतिको मुद्दाको विस्तृत प्रकृति र विवरण नै नबुझी आखिर किन एसपी चन्दले त्यस्तो लिखित जवाफ सर्वोच्चलाई पठाए ? कान्तिपुरको यही प्रश्नमा उनले त्यसबारे आफूलाई पूरै जानकारी नभएको तर्क गरे । उनले भने, ‘मलाई यसबारे खासै यादै भएन । मैले आलमलाई किन जोगाउनुपर्‍यो र ?’ उनले शक्तिकेन्द्रको प्रभावमा परी आफूले आलमलाई जोगाउन लागिपरेको भन्ने आरोप वकबास भएको बताए ।

यति हुँदा पनि श्रीनारायण र रुक्सानाले हिम्मत हारेनन् । उनीहरूले सरकारी वकिलको कार्यालय र महान्यायाधिवक्ताको निर्णयउपर सर्वोच्च अदालत धाए । श्रीनारायण खेतीपातीको आयस्ताबाट जोगिएको बाटो खर्च बोकेर प्रत्येक महिना केही साताको अन्तरमा काठमाडौं धाउँथे । उनले औंला भाँचेर हिसाब सुनाए, ‘त्यसपछिका वर्षमा म ७२ पटक काठमाडौं धाएँ ।’


उनी र रुक्सानाले न्यायको याचना गर्दै कहिले पत्रकार सम्मेलन गरे, कैयन् पटक राष्ट्रिय मानवअधिकार आयोग धाए, कैयन् पटक अनेकन कानुन व्यवसायीसँग सहयोगको हात पसारे । महिनौंको दौडधुपपछि २०६९ जेठ १६ मा तत्कालीन न्यायाधीश सुशीला कार्की र भरतबहादुर कार्कीको संयुक्त इजलासले मुद्दा नचल्ने सरकारी वकिलको कार्यालय र महान्यायाधिवक्ता कार्यालयको निर्णय खारेज गरिदियो ।


यसपछिका प्रत्येक वर्ष सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले जिल्ला सरकारी वकिलको कार्यालयलाई उक्त घटनाबारे अनुसन्धान अगाडि बढाउन भन्दै निर्देशनात्मक पत्र पठाइरह्यो ।


२०६९ जेठ १६ यता निर्देशनालयले ५ पटक आदेश कार्यान्वयन गर्न भन्दै सरकारी वकिलको कार्यालयलाई पत्र पठाएको देखिन्छ । त्यस्ता सबै पत्रलाई औपचारिक प्रक्रिया दिएजसरी सरकारी वकिलको कार्यालयले जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरेको पनि देखिन्छ । कागजी प्रक्रिया मात्रै पुर्‍याउन जिप्रकाले अनुसन्धान अधिकृत तोक्ने तर अनुसन्धानलाई अगाडि नबढाउने गरेको देखिन्छ ।


घटना यताको झन्डै १२ वर्षमा १५ एसपीले जिल्ला प्रहरी कार्यालयको नेतृत्व सम्हाले । प्रहरीमा प्रत्येक नेतृत्व फेरिँदा श्रीनारायण आशावादी अनुहार लिएर गौरस्थित प्रहरी कार्यालय पुग्थे र घटनाको पूरै वृत्तान्त कहेर अनुसन्धानको याचना गर्थे । उनले सुनाए, ‘मुखले गर्दिन कसैले भनेनन् तर अनुसन्धान कसैले अगाडि बढाएनन् ।’ उनले २०६९ असोज २५ मा सरुवा भएर आएका एसपी महेशविक्रम शाहले अनुसन्धान अगाडि बढाउन खोजेको तर उनको पनि चार महिनापछि नै सरुवा भएको सुनाए । न्यायको खोजीको दौडिरहेका बेला २०६७ माघ ८ मा ओसीकी आमा रोक्सानाको गोली प्रहार गरी हत्या भयो । दुर्गा भगवती गाउँपालिकाको छतौनास्थित माइतबाट सरुअठास्थित घर फर्किरहेका बेला उखुबारीमा लुकेर बसेका केही मान्छेले रुक्सानामाथि गोली दागेका थिए । उनको त्यहीँ सास गयो ।


त्यसपछि त श्रीनारायणलाई मुद्दा मामिलाको चक्करमा नलागेर आलमसँग मिल्न कैयन्ले दबाब दिए । उनका अनुसार बडर्हवा गाउँस्थित आफ्नो ज्वाइँमार्फत आलमका भाइ महताबले दस लाख रुपैयाँ लिएर चुपचाप बस्न खबर पठाएका थिए । तर श्रीनारायणले यस्तो सल्लाह दिनेलाई भनिदिए, ‘मैले छोरा हुर्काएको हुँ । खसीबाख्रा पालेको होइन र त्यसको मूल्य हुँदैन । पैसाले गएको ज्यान फर्केर आउँदैन ।’ ओसीका ससुरा समसुल मियाँ बाबु गुमाएका १४ र १२ वर्षका नातिहरूको अनुहार हेर्दा झलझली मारिएका ज्वाइँ सम्झिन्छन् । उनले मलिनो स्वरमा सुनाए, ‘ज्वाइँ भएको भए यति ठूलो संकट पर्दैनथ्यो ।’


डीएसपीबाट बढुवा भएर एसपी भएलगत्तै गत फागुनमा रौतहट प्रहरीको नेतृत्व सम्हाल्न आएका एसपी भूपेन्द्र खत्रीले नसुल्झिएका पुराना फाइलहरूको अनुसन्धान थालेका हुन् । उनले सुरुमै आलम जोडिएको घटनाको अनुसन्धान थाले । गत २५ गते फरहदवा गाउँबाट आफन्तीको बिहेमा निस्केका आलम उनकै मृतक काकाको सम्झनामा राजपुरबाट मूल बाटोमा निस्कने ठाउँमै बनाइएको शेख इद्रिस गेटबाट पक्राउ परे । कान्तिपुरसँगको कुराकानीमा एसपी खत्रीले घटनाको गम्भीर अनुसन्धान जारी रहेको बताउँदै भने, ‘गम्भीर विषय भएकाले अनुसन्धान नसकिएसम्म केही बोल्न मिल्दैन ।’


छोराको न्यायका निम्ति करिब १२ वर्षसम्म अनवरत दौडेका श्रीनारायणले छोराको मृत्युको पुष्टि हुने पर्याप्त आधार पाइसक्दा पनि काज किरिया गरेका छैनन् । उनले दोषीलाई कारबाही भएर न्याय नपाएसम्म किरिया नगर्ने सुनाए । भने, ‘मैले पण्डितसँग पनि सोधपुछ गरेँ । १२ वर्ष कटेर १३ वर्ष लागेपछि पनि किरिया गर्न हुन्छ भनेका छन् ।’


विष्णुभक्त रहेका उनले घटना पछिको वर्षौंसम्म अनेकन प्रलोभन, धम्की र दबाब सहेर पनि आफू न्याय खोज्न विचलित नभएको सुनाए । उनले न्यायका निम्ति लड्दा जम्मा भएको एक झोला कागजातको पोको खोले । त्यसमा घटनाबारे अखबारमा छापिएका समाचारका कटिङदेखि अदालतको आदेश र अनेकन सरकारी परिपत्र थिए अनि थियो मृतक छोराको त्रिलोकको गम्भीर अनुहार । उनले आँखाको डिलभरी भइसकेको आँसु पुछ्दै मलिनो स्वरमा भने, ‘भगवानले त सबै देखेकै होलान् । देर हुन्छ तर अन्धेर हुँदैन भन्ने विश्वासमा बाँचेको छु ।’


प्रकाशित : कार्तिक २, २०७६ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?