शंखरापुरको चुनावी माग वन्यजन्तु व्यवस्थापन

दीपेन्द्र विष्ट

शंखरापुर, काठमाडौँ — काठमाडौंको पूर्वउत्तर नगरपालिका शंखरापुरका मतदाताले वन्यजन्तुले दु:ख दिएको भन्दै व्यवस्थापन गर्नुपर्ने माग मेयरका उम्मेदवारसमक्ष राखेका छन् । शिवपुरी राष्ट्रिय निकुञ्जसँग जोडिएको उक्त नगरपालिकाका मतदाताले अन्नबाली वन्यजन्तुले खाएर दु:ख दिएको भन्दै व्यवस्थापनका लागि माग गरेका हुन् ।

शंखरापुरको चुनावी माग वन्यजन्तु व्यवस्थापन

‘लामो समयदेखि खेतबारी बाँझो छ, लगाएको अन्नबाली वन्यजन्तुले खाइदिन्छ भनेर जनताले गुनासो गरेका छन्, जता गए पनि उस्तै माग छ,’ एमालेका मेयर उम्मेदवार कृष्णलाल बजगाईंले भने, ‘निर्वाचन जित्यो भने यो बारेमा सोच्नु नै पर्ने हुन्छ, जनजीविकासँग जोडिएको माग हो, गम्भीरतापूर्वक सम्बोधन गर्छौं ।’

वडा नम्बर १, २, ३ र ४ नम्बरका जनताको पहिलो माग नै यही रहेको उनले बताए । यसअघि पनि एमालेले जितेको नगरपालिका भएको भन्दै उनले अबको थप जिम्मेवारी अपूरा विकास निर्माणका कामलाई निरन्तरता दिने र नयाँ काम गर्ने बताए । शंखरापुर क्षेत्र पर्यटकीय क्षेत्र नगरकोटसँग जोडिएको भन्दै उनले शंखरापुरको झुले लगायतको क्षेत्रमा पर्यटन विकास गर्न सकिने बताए । वातावरणीय हिसाबले उत्तिकै सम्भावना भएको क्षेत्र भएको भन्दै उनले व्यावसायिक कृषि आधुनिक तरिकाले अघि बढाउन सकिने बताए ।

‘साँखुमा चिसो हुन्छ, पटापमा गर्मी हुन्छ, जहरसिंहपौवामा चिसो हुन्छ,’ उनले भने, ‘तरकारी खेतीका लागि उत्तिकै उपयुक्त छ, कृषकलाई बीउबिजनलगायत नि:शुल्क कृषि सामग्री दिएर आधुनिक कृषि गर्न सकिन्छ ।’

एकीकृत समाजवादीका एलपी श्रेष्ठले पनि वन्यजन्तुको व्यवस्थापन मतदाताको पहिलो समस्या भएको बताए । ‘अधिकांश माथिल्लो क्षेत्र राष्ट्रिय निकुन्जसँग जोडिएको छ, त्यहाँ बँदेलको समस्या छ’ उनले भने, ‘किसानको खेतीपाती राति आएर सबै सखाप पारिदिन्छ, मैले जिते भने पहिलो प्राथमिकतामा बँदेलको निराकरण रहन्छ ।’ कृषिमा लागेका जनतालाई प्रोत्साहन गर्नु पर्ने भन्दै उनले वन्यजन्तुको व्यवस्थापन गर्नु पर्ने बताए ।

‘निकुञ्ज नजिकका जनताको बालीनालीको कसरी संरक्षण गर्न सकिन्छ भनेर योजना बनाउँदैछौं, किनभने, अब कसैले पनि गफ दिएर जनता पत्याउँदैनन् ।’ घरदैलो अभियानमा जाँदा जनताले रोजगारीको अवसर सिर्जना गरि दिन पनि अनुरोध गरिराखेको उनले बताए ।

‘अन्य विकास त विस्तारै हुंँदै गर्छ, हामीलाई रोजगारी दिनुपर्‍यो भन्छन्, त्यसकारण रोजगारीको वातावरण कसरी सिर्जना गर्नुपर्‍यो भनेर छलफल गरि राखेका छौं’ उनले भने, ‘पर्यटनको प्रचुर सम्भवना भएको क्षेत्र हो’ । नगरकोट–कातिके–झुले–चिसापानी– सुन्दरीजल हाइकिङ रुटको रुपमा विकास गर्न सके यसबाट पनि रोजगारीका अवसर सिर्जना गर्न सकिने उनले बताए ।

शंखरापुर ऐतिहासिक नगर भएकाले पनि धार्मिक, सांस्कतिक र पर्यटनको रुपमा विकास गर्न सकिने उनले बताए । शंखरापुर क्षेत्रलाई एजुकेशन हवको रुपमा विकास गर्न सकिने भन्दै उनले निर्वाचित भएपछि त्यसलाई तत्काल अघि बढाउने बताए । ‘काठमाडौं सहरबाट नजिकको सहर हो, हावापानी राम्रो छ’ उनले भने, ‘लगानीको वातावरण बनाइ दिनुपर्छ, शैक्षिक पूर्वाधारमा लगानी गर्ने मान्छे आउँछन्, त्यो वातावरण हामी बनाउँछौं ।’

माओवादी केन्द्रका मेयरका उम्मेदवार निरज केसीले पनि वन्यजन्तुको व्यवस्थापनको माग मतदाताले गरेको बताए । ‘राष्ट्रिय निकुन्जसँग जोडिएको छ’ उनले भने, ‘कसरी व्यवस्थापन गर्ने निकै समस्या छ ?, निर्वाचित भए भने त्यो जसरी पनि सम्बोधन गर्छौं’ । युवालाई रोजगारीका अवसर अघि बढाउने आफ्नो पहिलो प्राथमिकता रहेको उनले बताए । २३ हजार मतदाता रहेको शंखरापुरमा अघिल्लो निर्वाचनमा एमालेका सूर्वण श्रेष्ठले कांग्रेसका शंकर तिवारीलाई पराजित गरेका थिए ।

यसपटक कांग्रेस र एकीकृत समाजवादीबीच गठबन्धन भएको छ । मेयर एकीकृत समाजवादी र उपमेयर कांग्रेसको भागमा परेको छ । तीनै उम्मेदवारबीच त्रिपक्षीय भिडन्त रहेको कालिकाशरण माविका शिक्षक राजकुमार केसीले बताए । ‘यसै भन्न सकिने अवस्था छैन’ उनले भने, ‘तीन पक्षको उत्तिकै प्रतिस्पर्धा छ ।’

विशेषगरि साँखुको बजार क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीको पनि प्रभाव रहेको उनले बताए । ‘जनजीविका सवाल कुरा जनताका प्रमुख विषयवस्तु हुन्, जुन पार्टीले आकर्षक नारा दिन सक्छ, त्यसको नै जीत हुन्छ’ उनले भने, ‘विकास भन्ने निरन्तर चलिरहने प्रक्रिया हो, जुन उम्मेदवारले जिते पनि विकास गर्नैपर्छ ।’

प्रकाशित : वैशाख २३, २०७९ २०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?