भक्तपुरका ७ वटा वडामा परेन दलित महिला उम्मेदवारी

मनोनयन परेका वडामा पनि उम्मेदवार पार्टीबाट आए, स्वतन्त्रमा उठ्ने भएनन्

वैशाख १४, २०७९

कान्तिपुर संवाददाता

भक्तपुर — आसन्न स्थानीय तह निर्वाचनका लागि चार स्थानीय तहको ३८ वडामध्ये ८ वटा वडामा दलित महिला सदस्य पदमा उम्मेदवारी नै परेको छैन । भक्तपुर नगरका १० मध्ये ७ वटा र मध्यपुर थिमिको एउटा वडामा दलित महिला पदमा उम्मेदवारी नै परेन । मध्यपुर थिमि–४ र भक्तपुर नगरका १, २, ३, ४, ७, ८ र ९ नम्बर वडामा उम्मेदवारी नपरेको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका सूचना अधिकारी भीमबहादुर बीसीले बताए ।

उम्मेदवारी परेका वडाहरूमा पनि मुख्य भनिएका दलहरूका तर्फबाट मात्र दलित महिला पदका लागि मनोनयन दाखिल भएको छ । कार्यालयका अनुसार जिल्लाको मध्यपुर थिमिको वडा नम्बर १, २, ३, ९ र १० मा २/२, ५ मा १, ६ मा ३ र ८ वडामा ४ जना दलित महिला सदस्यको उम्मेदवारी परेको छ । भक्तपुर नगरको ५ र १० मा १/१ र ६ वडामा २ जनाको मात्र उम्मेदवारी परेको छ । चाँगुनारायणको १ र ३ वडामा २/२, २, ७ र ९ वडामा ४/४ जना, ४ वडामा ६, ५ मा ५ र ६ मा ३ जना दलित महिलाको उम्मेदवारी परेको छ । त्यस्तै, सूर्यविनायकको १, २, ३, ४ र १० वडामा ३/३, वडा नम्बर ५, ७, ८ र ९ मा ४/४ तथा ६ वडामा २ जना दलित महिला सदस्यको उम्मेदवारी परेको बीसीले बताए । 

स्थानीय तह निर्वाचन २०७९ का लागि १ हजार १ जनाको उम्मेदवारी परेको जिल्लाका चार नगरमा दलित महिला पदका लागि ९० जनाको उम्मेदवारी परेको छ । भक्तपुर नगरको तीनवटा वडामा ४ जनाको मात्र उम्मेदवारी परेको छ । जसमध्ये, भक्तपुर नगर–५ मा सरिना द्योला र १० मा विष्णुमाया कामी नेमकिपाका तर्फबाट एकल उम्मेदवार भएको निर्वाचन कार्यालयले जनाएको छ । मध्यपुर थिमि–५ मा कांग्रेसका तर्फबाट दलित महिला सदस्य पदका लागि लक्ष्मी देउला (पोडे) को एकल उम्मेदवारी परेको छ । अन्य दलबाट मनोनयन दर्ता नभए पनि उम्मेदवारविरुद्ध उजुरी गर्ने समयावधिसम्म निर्विरोध घोषणा गर्न नमिल्ने निर्वाचन अधिकृतको कार्यालय मध्यपुर थिमिकी निर्वाचन अधिकृत मैया कँडेलले बताइन् ।

 स्थानीय तह निर्वाचन ऐन–२०७३ ले स्थानीय तहका प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्ष एक पद र वडामा निर्वाचित पाँचमध्ये एक जना खुलाबाट महिला र एक जना दलित महिला अनिवार्य गरेको छ । कानुनले कोटा तोकेका कारण मात्रै दलित महिलाले उम्मेदवार बन्ने अवसर पाएको देखिन्छ । कतिपय व्यक्ति दलितको पहिचान नै दिन नखोज्ने र भक्तपुर नगरभित्र दलित बस्ती नै कम भएकाले उम्मेदवारी नपरेको नेमकिपाका जिल्ला अध्यक्ष एवं प्रदेश सांसद सुरेन्द्रराज गोसाईंले बताए । 

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully