३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

त्रिशूल जात्रा क्षमा पूजामा सीमित

प्रशान्त माली

काठमाडौँ — पशुपति क्षेत्रमा मनाइने प्रख्यात त्रिशूल जात्रा कोभिड–१९ महामारीका कारण क्षमा पूजामा सीमित भएको छ । परम्परा अनुसार जात्रा प्रत्येक वर्ष भलभल अष्टमीका दिन पशुपति क्षेत्र विकास कोष अमालकोट कचहरी कार्यालयबाट सञ्चालन गर्ने गरिन्छ ।

त्रिशूल जात्रा क्षमा पूजामा सीमित

जात्रामा जयबागेश्वरी, वत्सलेश्वरी मन्दिर र बज्रघरबाट पाँच जना बालक कुमार र कुमारीको रुपमा त्रिशूलमा घोपेर बेग्लाबेग्लै खटमा राखी नगर परिक्रममा गराइन्छ ।

मल्लकालीन राजा नरेन्द्रदेवका पालाका ५ वटा भोटो प्रदर्शन गरिन्छ । ललितपुरको जावलाखेलमा प्रत्येक वर्ष रातो मत्स्येन्द्रनाथको जिम्मामा रहेको भनिएको बहुमूल्य ऐतिहासिक भोटो देखाए जसरी त्रिशूल जात्राका दिन पशुपति क्षेत्रमा लाखे (नार्गजुन डाडाका राक्षस) का छोराको भनिएको भोटो नगर परिक्रमा गर्ने चलन छ ।

तान्त्रिक बन्धुदत्त आचाजुको छोराको शवयात्रा गरिन्छ । बन्धुदत्त आचाजु रातो मत्स्येन्द्रनाथलाई भारतको कामरुपकामक्ष पर्वतबाट नेपाल ल्याउने तीन जनामध्ये तान्त्रिक हुन् । तर, महामारीका कारण भोटो र शवयात्रा पनि रोकियो । जयबागेश्वरी मन्दिरका जजमान विनोद वैद्यले कोभिडको तेस्रो लहर फैलिन सक्ने खतरालाई मध्यनजर गरेर जात्रा स्थिगित गरेको बताए । ‘जात्रामा बालक अनिवार्य रुपमा सहभागी गराउनुपर्छ,’ उनले भने, ‘तेस्रो लहर पनि बालबालिका केन्द्रित छ ।’

वैद्य गुठीका गुठीयार छत्रानन्द वैद्यका अनुसार देवमाला वंशावलीमा जात्राबारे यस्तो उल्लेख छ । तन्त्रशास्त्रमा निपुण बन्धुदत्त आचाजुले ६ महिनासम्म कोठा खोलेर नहेर्नु भनी समाधिमा बसे । शरीर मात्र बन्द कोठामा छोडी हंस (आत्मा) मात्र अमृत लिन गए । अमृत लिएर फर्कँदा बाटोमा आफू मरेको भनी लाससमेत जलाइसकेको खबर बाटोमा त्रिशूल जात्रा हेरेर फर्केका मानिसबाट थाहा पाएपछि अमृतको कलश घोप्ट्याई त्यहीं सिद्ध भएको मानिन्छ । त्यसरी सिद्ध भएको ठाउँमा शिलामूर्ति छ । शिलामूर्ति रहेको ठाउँ हाल अन्तर्राष्ट्रिय सम्मलेन भवन अगाडि उत्तर दक्षिणमा छकुबकुको नामबाट परिचित छ । जात्रा कोभिडका कारण गत वर्ष पनि स्थगित भएको थियो ।

प्रकाशित : असार १८, २०७८ १७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?