कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आजबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा केही खुकुलो

काठमाडौँ — उपत्यकाका तीनवटै जिल्ला प्रशासनले कोरोना महामारी नियन्त्रण गर्न जारी केही आदेशलाई खुकुलो बनाउँदै निषेधाज्ञा जेठ ३१ सम्म लम्ब्याएका छन् ।

आजबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा केही खुकुलो

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले शुक्रबार (आज)बाट लागू हुने गरी खाद्य पसल, सार्वजनिक निर्माण तथा भन्सार विन्दुबाट छुटेका सवारी साधनलाई सञ्चालन गर्न दिने निर्णय गरेका छन् । आदेश बुधबार नै सार्वजनिक गरिए पनि शुक्रबारबाट लागू हुने भएको हो ।

केही क्षेत्रलाई सर्तसहित खुला गर्न दिइने छ । जेठ १४ गतेबाट लागू गरिएको खाद्य पसल बन्द गर्ने यसअघिको आदेश शुक्रबारबाट हटेको छ । एक साता यता उपत्यकामा खाद्य पसल पनि बन्द थिए । प्रशासनको उक्त निर्णयमा राजनीतिक र जनस्तरबाटै विरोध भएको थियो । शुक्रबारबाट खाद्यन्नलगायत उपभोग्य बस्तु बिहान ९ बजेसम्म किनबेच गर्न पाइने छ । तरकारी, फलफूल, दंधडेरी, माछामासु खाद्य, किराना, डिपार्टमेन्टल स्टोर/ग्रोसरीबाट दैनिक उपभोग्य बस्तु किनबेचका लागि बिहान ९ बजेसम्म खोल्न दिइने छ ।

दैनिक उपभोग्य बस्तुसम्बन्धी स्थानीय ढुवानीका साधन राति ९ बजेदेखि विहान ९ बजेसम्म र निर्माण सामग्रीसम्बन्धी सबारी राती ९ बजेदेखि बिहान ४ बजे सडकमा गुड्न दिइने छ । जनप्रतिनिधि, संवैधानिक निकायका पदाधिकारी तथा सचिव, न्यायाधीश, मन्त्रालयका सचिव, विभागीय प्रमुख तथा सहसचिवहरुलाई सम्बन्धित कार्यालयको परिचयपत्रका आधारमा हिँडडुल गर्न दिइने छ ।

सवारी साधन मर्मतका लागि वर्कसपहरु राति ९ बजेदेखि विहान ९ बजेसम्म सञ्चालन गर्न पाइने छ । अत्यावश्यक सेवा बाहेकलाई सरकारी कार्यालय, सार्वजनिक संस्थान र बिमालगायत कार्यालयका सेवामा पनि रोक लगाइएको छ । अन्य क्षेत्रमा लगाइएको रोकलाई अबको निषेधाज्ञामा निरन्तरता दिइएको छ ।

प्रकाशित : जेष्ठ २१, २०७८ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?