ओमानमा खोपका लागि नाम दर्ता गर्न नेपाली कामदारलाई अनुरोध- प्रवास - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ओमानमा खोपका लागि नाम दर्ता गर्न नेपाली कामदारलाई अनुरोध

कान्तिपुर संवाददाता

काठमाडौँ — ओमानस्थित गैरआवासीय नेपाली सोसल क्लब (एनआरएन)ले कोरोना भाइरसविरुद्धको खोप लगाउनका लागि नाम दर्ता गर्नको लागि ओमानमा कार्यरत नेपाली कामदारलाई आग्रह गरेको छ ।

फाइल तस्बिर : एफपी

ओमानमा व्यक्तिगत रुपमा सिधै अस्पतालमा गई खोप लगाउन नपाउने भएपछि सोसल क्लबले खोप लगाउनका लागि ओमान सरकारसँग सहजीकरण गरेको हो । कम्पनी वा घरमा काम लगाउने रोजगारदाताले खोप नलगाइदिएका कामदारलाई तुरुन्तै क्लबको सम्र्पकमा आउन अनुरोध गरिएको क्लबका अध्यक्ष विकल झाले बताए ।

‘व्यक्तिगत रुपमा कामदार आफै अस्पताल जाँदा खोप पाउने अवस्था छैन । रोजगारदातामार्फत खोप लगाउनुपर्ने अवस्था छ । जसको रोजगारदाताले खोप लगाउन प्रबन्ध गरेको छैन । उहाँहरु क्लबको सम्र्पकमा आउन अनुरोध गरिएको छ’, झाले कान्तिपुरसँग भने,‘विशेषगरी घरेलु कामदारहरु खोप पाउनबाट वञ्चित छन् ।’

क्लबले खोप लगाउनुपर्ने कामदारको सूची दिएको आधारमा ओमान सरकारले अस्पतालमा खोप लगाइदिने झाले बताए । ‘हामीले खोप लगाउनुपर्ने कामदारको नाम यहाँको निकायमा दिनेछौं । त्यस निकायले सूचीअनुसार तोकिएको अस्पतालमा खोप पठाइदिन्छ । त्यहा गएर खोप लगाउनुपर्नेछ,’ उनले भने ।

ओमानले कामदारका लागि खोप नि:शुल्क ब्यवस्था गरिएको छैन । कामदार आफैले खोपको रकम भुक्तानी गर्नुपर्नेछ । जसमा अस्पतालमा भर्नाबापत ३ र खोपबापत २० रियाल गरी २३ रियाल (झन्डै ७ हजार रुपैयाँ) भुक्तानी गर्नुपर्नेछ । ओमानमा करिब १५ हजार नेपाली कामदार कार्यरत छन् ।

प्रकाशित : जेष्ठ २१, २०७८ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्

चुरे विनाशले बनायो सुकुम्बासी

‘जहींतहीं रुख काटेको छ, खोल्सा खहरेमा ट्याक्टर लगेर ढुंगा निकालेको छ, चुरे सबै मासिन लाग्यो, जोगाउने कोही भएन’
राजकुमार कार्की, डिल्लीराम खतिवडा

सिन्धुली, उदयपुर — दुधौली नगरपालिका–२ गागनका किसान शम्भु दनुवारलाई अहिले कमला खोंचको फाँटमा मकै बाली देख्दा ईर्ष्या जाग्छ । कुनै दिन आफ्नो खेतमा यसैगरी मकैको घोगा हेरेर उनी दंग पर्थे ।

उदयपुरको चौदण्डीगढी नगरपालिका–६ स्थित चुरे क्षेत्र । चौदण्डीगढीका साथै जिल्लाका कटारी, त्रियुगा र बेलका नगरपालिका क्षेत्रमा अवैध उत्खनन र निकासी बढेको छ । तस्बिर : डिल्लीराम खतिवडा/कान्तिपुर

चुरे विनाशका कारण आएको कमला नदीको बाढीले उनको दुई बिघा खेत बगर बनाएको छ । उनी अहिले नदी कटानबाट जोगिएका फाँट खेतमा मजदुरी गरेर जीवन निर्वाह गर्न बाध्य भएका छन् ।

‘धान, मकै गरेर वर्षमा तीन बाली भित्र्याउँथे,’ दनुवारले भने, ‘अहिले बगर हेरेर चित्त बुझाउनुपरेको छ ।’ गैरसरकारी संस्थाबाट १४ हजार ४ सय रुपैयाँ ऋण लिएर उनी हाल गोरु किनेर टायर गाढा चलाइरहेका छन् । उनका अनुसार कमला नदीले गाउँमा रहेका झन्डै दुई सय परिवारको चार सय बिघा खेत बगाएको छ । उनीहरूको अवस्था पनि सुकुम्बासीसरह छ ।

चुरे विनाशले गर्दा कमला खोंच क्षेत्रमा कमला नदीको बाढीले बर्सेनि उर्वरभूमि कटान गरेपछि यहाँका सयौं भूमिपति कृषक अहिले सुकुम्बासी बनेका छन् । बाँकी रहेको खेत नदी कटानको चपेटामा परेको छ । चुरेमा भएको विनाशले गर्दा नयाँ खहरे आएर कमला नदीमा मिसिने र सतह बढ्दा बाढीले खेत बगाएको दनुवारले बल्ल बुझ्दै छन् । ‘जहींतहीं रूख काटेको छ, खोल्सा खहरेमा ट्र्याक्टर लगेर ढुंगा निकालेको छ, त्यही भएर बाढी बढेको भन्ने सुनेको छु,’ उनले भने, ‘चुरे सबै मासिन लाग्यो, जोगाउने कोही भएन ।’

चुरेमा विनाश र खहरेबाट अवैध ढुंगा झिकेपछि कमला नदीको सतह बढ्दा बर्सेनि दुधौली नगरपालिकाको हत्पते, निपाने, हर्षाही, टाँडी, सिर्थौली र कमलामाई नगरपालिका–८ देखि १४ वडासम्मका किसान कटानबाट प्रताडित बन्दै आएका छन् । गत वर्षामा कमला नदीले १० बिघाभन्दा बढी धान खेत बगरमा परिणत गरेको हत्पतेकै किसान रेखनाथ दाहालले सुनाए । उनका अनुसार कमला नदी कटानको समस्या बढ्दो रूपमा देखापरेको दुई दशकभन्दा बढी भए पनि त्यसलाई नियन्त्रण गर्न कुनै पनि निकायबाट प्रभावकारी काम हुन सकेको छैन ।

सिन्धुलीको कमलामाई नगरपालिका–४ मा पर्ने चुर क्षेत्रमा खनिएको सडकको ट्रयाक । तस्बिर : राजकुमार/कान्तिपुर

अर्का किसान चोक्ता दनुवारले कमला नदीमा आएको बाढीले १० कट्ठा खेत बगाएको दुःख पोखे । हाल उनी दैनिक मजदुरी नगरे चुलोमा आगो बाल्न नसक्ने अवस्थामा छन् । उनका अनुसार चुरेबाट निस्किएका खहरे र कमला नदीको कटानबाट सयौं बिघा उर्वर जमिन बगरमा परिणत भएको छ । ‘एकातिर तटबन्ध बनायो, अर्कोतिरबाट बाढीले भत्काउँछ,’ उनले भने, ‘चुरे मास्ने काम रोक्न सके दीर्घकालीन नियन्त्रण हुन्थ्यो ।’

चुरे क्षेत्रबाट नदीजन्य पदार्थको अवैध उत्खनन र निकासीले उदयपुरमा पनि सुकुम्बासीको संख्या बढाएको छ । चुरेबाट बग्ने नदी, खोला खहरेमा आउने बाढीपहिरोले घरखेत बगाउँदा सुकुम्बासी हुने क्रम बढेको हो । कमलादेखि सप्तकोसीसम्म फैलिएको चुरे तलका कटारी, त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिका क्षेत्रमा नदीजन्य पदार्थको अवैध उत्खनन र निकासी हुने गरेको छ ।

चुरे दोहन रोक्न नसक्दा मानवसँगै अन्य जीवजन्तुको भविष्य खतरामा पर्दै गएको छ । चुरे आसपासका क्षेत्र मरुभूमीकरण मात्र नभई बाढीपहिरोको विपद्बाट धेरै बस्ती जोखिममा परेको कटारी नगरपालिका–१ बेलसोतका कर्णबहादुर कार्कीले बताए । ‘वातावरणीय प्रतिकूलताको प्रभावले सबैभन्दा बढी चुरे क्षेत्रमा आश्रित मधेस र भित्री मधेसका सर्वसाधारण प्रभावित छन्,’ उनले भने ।

चुरे दोहन गर्ने सरकारको नीति राष्ट्रघाती छ : पूर्वराष्ट्रपति यादव

चुरेको अनियन्त्रित दोहनले खेती योग्य जमिन मरुभूमीकरण हुँदै गएकाले हिजोका जमिनदार अहिले सुकुम्बासी भएका छन । अनियन्त्रित उत्खनन, मापदण्डविपरीत सञ्चालित क्रसर नियन्त्रण लगायतमा खासै प्रयास नभएको त्रियुगा नगरपालिका–३ भुल्केका नरुद्दिन मियाँले बताए । ‘घरखेत त्रियुगा नदीले बगाएपछि धेरै स्थानीय सुकुम्बासी भए,’ उलने भने, ‘तिनै सुकुम्बासी चुरे जंगल फँडानी गरेर बसोबास गरिरहेका छन् ।’

गणतन्त्र नेपालको पहिलो राष्ट्रपति डा. रामवरण यादवले नौ वर्षअघि तराई–चुरेका सर्वसाधारणबीच सामाजिक सद्भाव बढाएर चुरे संरक्षण गर्ने कार्यक्रम अघि सारेका थिए । उनले ‘राष्ट्रपति चुरे तराई–मधेस कार्यक्रम’ अघि बढाए । यो कार्यक्रम लागू भएपछि चुरे क्षेत्र उत्खननका लागि नियम र मापदण्ड बनाइएका थिए । तर चुरे क्षेत्रमा तीव्र रूपमा उत्खनन गर्ने कार्य रोकिएन । चुरे क्षेत्र भएर बग्ने नदी प्रणाली संरक्षण र भूक्षयकरण बेलैमा रोक्न नसक्ने हो भने भविष्यमा यस क्षेत्रमा जीवजन्तु नै संकटमा पर्ने स्थानीय बताउँछन् । चुरे विनाशको प्रमुख कारण ढुंगा–गिट्टी उत्खनन र वन जंगलको विनाश नै रहेको त्रियुगा नगरपालिका– ६ का ७९ वर्षीय बृषलाल दाहालले बताए ।

उदयपुरमा अहिले झन्डै ५२ हजार परिवार सुकुम्बासी छन् । तीमध्ये अधिकांश चुरे क्षेत्र अतिक्रमण गरेर बसेको डिभिजन कार्यालय गाईघाटको तथ्यांकमा देखिन्छ । ५२ हजार हेक्टर खेतीयोग्य जमिन (सर्वसाधारणको लालपुर्जा भएको) त्रियुगा नदीले पुरेर मरुभूमि भएको छ ।

प्रकाशित : जेष्ठ २१, २०७८ १०:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×