देवतालाई मिल्ने खट मात्र बनाएर रातो मच्छिन्द्रनाथको रथारोहण 

वैशाख १३, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — अन्न र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथारोहण गरिएको छ । वैशाख शुक्ल प्रतिपदाको दिन शुक्रबार साँझ रातो मच्छिन्द्रनाथको रथारोहण गरिएको हो । लकडाउनका कारण पुरै रथ नबनाएपनि देवतालाई राख्न मिल्ने गरी खट बनाएर रथारोहण गरिएको छ ।

धुमधामसँग र विधिपूर्वक मच्छिन्द्रनाथको रथारोहण पुल्चोकमा बनाइएको रथमा गराइने चलन भएपनि यो वर्ष लकडाउनका कारण परम्परालाई निरन्तरता दिन मच्छिन्द्रनाथ राखिएकै स्थानमा रथारोहण गरिएको हो । लकडाउनले पुरै रथ बनाउन नसकिएपनि महामारी अवस्थाबाट मुक्त हुन सकियोस्, कसैलाई पनि रोग नलागोस् भनेर मच्छिन्द्रनाथको रथारोहण गरिएको मुख्य पुजारी कमलराज बज्राचार्यले बताए । नौं दिन अगाडिबाट व्रत बसेर विभिन्न स्थानमा पूजा गरिने र पुजा सकाएर आमाको मुख हेर्ने दिन कुटुबहाल दहमा गएर बास बसी भोलिपल्ट मच्छिन्द्रनाथ ल्याउने पराम्परा रहेको उनले बताए ।

लकडाउनका कारण रथ निर्माण नगरिएपछि यो वर्ष पाटनको त:बहालमा रहेको मन्दिरबाट मूर्तिलाई निकालेर त्यहीँको पाटनमा राखिएको छ । लकडाउनको अन्त्य र महामारीको परिस्थिति हेरेर रथ निर्माण गर्ने र जात्रा सञ्चालन गर्न बताइएको छ । तर यो वर्ष परम्परा अनुसार मच्छिन्द्रनाथको रथारोहण गरिएपनि नगर परिक्रमा भने गराइएन ।

लिच्छिवी राजा नरेन्द्रदेवका पालामा भारतको कारुप कामाख्या गइ रातो मच्छिन्द्रनाथलाई काठमाडौं उपत्यकामा ल्याइएको किंवदन्ती छ । गुरु गोरखनाथले नव नागको आसन बनाएर बसिदिएका कारण बाह्र वर्षासम्म पानी नपरी अनिकाल लागेपछि राजा नरेन्द्रदेव, तान्त्रिक बन्धुदत्त आचाजु, ललित ज्यापु तथा र्कोटक नागराजासमेत कामरुप कामाख्या गइ रातो मच्छिन्द्र नागलाई काठमाडौं उपत्यका ल्याएको किंवदन्ती पाइन्छ । आफ्नो गुरु मच्छिन्द्रनाथ देखेपछि गोरखनाथ गुरुको दर्शनका लागि जाने क्रममा नव नाग मुक्त भइ वर्षा र सहकाल लागेको विश्वास गरिन्छ ।

करिब दुई महिना चल्ने नेपालकै सबैभन्दा लामो रथयात्रा रातो मच्छिन्द्रनाथको रथलाई सुन्धारा, नुगल, लगनखेल हुँदै जावलाखेल पुर्‍याएर साइत अनुसार भोटो देखाइ मच्छिन्द्रनाथको मूर्तिलाई बुङ्मतीमा लगेपछि जात्रा समापन भएको मानिन्थ्यो । 

लकडाउन

कान्तिपुर

Link copied successfully