एलईभी०१ एससीको मूल्य ५९ लाख ९५ हजार, एलईभी ०१ सीईको मूल्य ६४ लाख ९५ हजार र एलईभी एक्सको मूल्य ८४ लाख ९५ हजार रुपैयाँ
काठमाडौँ — ब्लु कर्पोरेसन प्रालिले एक वर्षदेखि काठमाडौंका विभिन्न स्थानमा सोरुम सञ्चालन गर्दै आएको छ ।
यसले अहिले काठमाडौंको ज्ञानेश्वरमा एलएस अटोका नाममा नयाँ सोरुम उद्घाटन गरेको छ । उक्त अवसरमा नयाँ गाडी एलईभी एक्स लन्च गरेको छ ।
प्योर इलेक्ट्रिक प्लेटफर्म बनेको यो ईभीमा ब्याट्री प्याक पोजिसन साइड बडीभन्दा अझै माथि रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘यसको ब्याट्री प्याक र ग्राउन्डबीचको दूरी २२१ एमएम छ । एलएस अटो एलईभी ०१ र एलईभी एक्समा एसभोल्टको हनिकम्ब आर्किटेक्चरमा डिजाइन गरिएको लिथियम आयन फस्फेट ब्याट्री प्याक जडान गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसको ब्याट्री प्याक अन्य ईभीहरूमा जस्तो बाहिरबाट झुन्डिएको देखिँदैन ।’
ब्याट्री प्रविधिमा एसभोल्टको ब्याट्री एनसीएम तथा ब्लेड ब्याट्री भन्दा ८ प्रतिशतले बढी दक्ष रहेको कम्पनीको भनाइ छ ।
विश्वको सबैभन्दा ठूलो डिजाइन हाउस संघाइ लन्च अटोमोटिभ टेक्नोलोजीअन्तर्गतको एलएस अटो एक नयाँ ऊर्जा सवारी साधन कम्पनी रहेको विज्ञप्तिमा उल्लेख छ । २५ वर्षदेखि विभिन्न ब्रान्डको अटोमोबाइलको डिजाइन, इन्जिनियरिङ, प्रोटोटाइप विकास तथा परीक्षण उत्पादन जस्ता सम्पूर्ण काम (टर्नकी प्रोजेक्ट) गर्दै आएको छ । कम्पनीले आफ्नै अटोमोबाइल ब्रान्डको ईभी तयार गरेको हो ।
संघाइ लन्च अटोमोटिभले चीनमा अटोमोबाइल मात्र होइन, उच्च गतिमा चल्ने रेल, हेलिकप्टर डिजाइनसम्ममा सहभागिता जनाएको छ ।
जियाङसी प्रान्तमा यो कम्पनीको वार्षिक १ लाख ५० हजार उत्पादन क्षमता भएको आफ्नै कारखाना रहेको विज्ञप्तिमा उल्लेख छ । कम्पनीले युरोपेली बजार लक्षित गर्दै टर्कीमा समेत उत्पादन प्लान्ट स्थापना गर्दै छ ।
कम्पनीले अहिलेसम्म नेपालसहित यूएई, मोरिसस, टर्की, इजिप्ट, नाइजेरिया, कजाकिस्तान र अन्य ११ देशमा आफ्नो उपस्थिति जनाइसकेको बताइएको छ ।
एलईभी सिरिज कम्पनीले पहिलो मोडेलको रूपमा एलईभी ०१ क्रसओभर इलेक्ट्रिक एसयूभी ल्याएको हो ।
एलईभी०१ एससीको मूल्य ५९ लाख ९५ हजार, एलईभी ०१ सीईको मूल्य ६४ लाख ९५ हजार र एलईभी एक्सको मूल्य ८४ लाख ९५ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
