जीओ अटोमोबाइल्स प्रालि र लक्ष्मी ईमोबिलिटीले संयुक्त रूपमा आयोजना गरेको ‘केई ग्राहक भेट र्याली’ मा ५६ वटा केई गाडी र १९३ जना इन्फ्लुएन्सर सहभागी थिए ।
What you should know
काठमाडौँ — केई नेपालका आधिकारिक आयातकर्ता जीओ अटोमोबाइल्स प्रालि र लक्ष्मी ईमोबिलिटीले संयुक्त रूपमा ‘केई ग्राहक भेट र्याली’ आयोजना गरेका छन्। शनिबार आयोजित विशेष कार्यक्रममा केईका प्रयोगकर्ताहरूले थापाथलीबाट क्लब हिमालय नगरकोटसम्म रमाइलो अनि अर्थपूर्ण यात्रा गरेका थिए।
र्यालीमा ५६ वटा केई गाडी र १९३ जना इन्फ्लुएन्सरसहित सहभागी थिए।
यस कार्यक्रमको मुख्य उद्देश्य ग्राहकहरूबीचको सम्बन्ध अझ मजबुत बनाउनुका साथै वातावरणमैत्री यात्राको प्रवर्द्धन गर्नु थियो।
सहभागीहरूले रमाइला खेलहरू, समूहगत गतिविधिहरू र प्रकृतिसँग नजिकको अनुभव लिँदै यात्रा रमाइलो बनाएका थिए।
क्लब हिमालय पुग्नेबित्तिकै सहभागीहरूलाई स्वागत कार्यक्रम, अन्तरक्रियात्मक सत्र र भेटघाटका अवसरहरू प्रदान गरियो।
कार्यक्रममा सीपीआरसम्बन्धी सचेतना तथा तालिम सत्र पनि सञ्चालन गरिएको थियो । जहाँ स्वास्थ्यकर्मीहरूले आपतकालीन अवस्थामा कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा व्यावहारिक ज्ञान दिएका थिए। यस तालिमले सडक सुरक्षा र जिम्मेवार ड्राइभिङप्रति सहभागीहरूमा थप जागरूकता ल्याएको थियो। कार्यक्रमको अन्त्य मनोरञ्जनात्मक प्रस्तुति र समूहगत क्रियाकलापहरूसँग सम्पन्न भयो। यस पहलमार्फत केईले ग्राहक सन्तुष्टि, सुरक्षा सचेतना र सामाजिक जिम्मेवारीप्रतिको आफ्नो दृढ प्रतिबद्धता झल्काएको छ।
गोल्छा अर्गनाइजेसनका निर्देशक आकाश गोल्छाले र्यालीमा देखिएको सहभागिताप्रति अत्यन्त उत्साह व्यक्त गर्दै भने, ‘ग्राहकहरू यति ठूलो संख्यामा सहभागी हुनु आफैंमा विद्युतीय गाडीप्रतिको बढ्दो आकर्षणको स्पष्ट संकेत हो। यसले नेपाली बजारमा ईभीप्रतिको विश्वास र रुचि दुवै बढिरहेको देखाउँछ।’
केईले हाल नेपालमा आफ्ना नयाँ विद्युतीय मोडेलहरू बजारमा ल्याएको छ। नया मोडेलले नवप्रवर्तन र गतिशीलताको नयाँ अनुभव प्रदान गर्दछ।
