काठमाडौँ — राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन-२०८१ मा सामाजिक सुरक्षा कोष र ७ वटा निजी क्षेत्रका छाता संगठनबीच सामाजिक सुरक्षा कोषमा आबद्ध हुनेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । कोषका अनुसार ६ वर्षको अवधिमा २० लाख मानिस सामाजिक सुरक्षा कोषमा आबद्ध भइसकेका छन् भने साढे पाँच लाख औपचारिक क्षेत्रमा श्रमिकहरू आबद्ध छन् ।
होम नेट नेपाल, नाडा अटोमोबाइल्स एसोसियन अफ नेपाल, होम इन्टरप्राइजेज नेपाल, गार्मेन्ट एसोसियसन अफ नेपाल, ग्रील तथा स्टिल व्यवसायी महासंघ, नेपाल वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासंघ, नेपाल वैदेशिक रोजगारी व्यवसायी संघबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
सम्मेलनको पहिलो दिन सरकार र विभिन्न १० वटा निजी क्षेत्रका छाता संगठनबीच युवा जनशक्तिलाई रोजगार सिर्जना र तालिम प्रदानका लागि समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।
सम्मेलनमा राष्ट्रिय सीप विकास प्रतिष्ठान र कम्प्युटर एसोसिएसन महासंघ (क्यान), होटल संघ नेपाल (हान), नेपाल निर्माण व्यवसायी महासंघ, नाडा अटोमोबाइल्स एसोसियन अफ नेपाल, नेपाल तयारी पोसाक उद्योग संघ, ग्रिल तथा स्टिल व्यवसायी महासंघ, नेपाल सुनचाँदी व्यवसायी महासंघ, एकोर इन्टरनेसनल ट्रेनिक प्रालि, ग्लोबल क्वालिफिकेसन र मदरल्यान्ड स्किल एकेडेमीबीच सोसम्बन्धी समझदारीमा हस्ताक्षर भएको हो ।
सोही अवसरमा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत एकीकृत श्रम बजार सूचना प्रणाली विस्तारका लागि श्रम तथा रोजगार मन्त्रालय र स्विस एजेन्सीबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।
