साना तथा मझौला उद्योगलाई आवश्यक पुँजी पाउनै सकस : ज्ञवाली

फाल्गुन २७, २०८१

कान्तिपुर संवाददाता

Small and medium industries can get the necessary capital: Gyawali

काठमाडौँ — लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले साना तथा मझौला उद्योगलाई आवश्यक पुँजी सहज रुपमा पाउनै सकस भइरहेको बताएका छन्। काठमाडौंमा आयोजित राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०८१ को दोस्रो दिनमा ज्ञवालीले 'नेपालमा लगानी, उत्पादन र उत्पादन अभिवृद्धि' विषयमा यस्तो बताएका हुन्।

एड्भान्स टेक्नोलोजी (उन्नत प्रविधि) को प्रयोग गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्न सकिने ज्ञवालीले बताए। 'कृषि तथा उत्पादन उद्योगमा पुराना प्रविधि प्रयोग भइरहेका छन्। अपग्रेड गर्न सकेको छैन,' उनले भने, 'परम्परागत कामका अभ्यासहरू भइरहेका छन्। उत्पादन क्षमता वृद्धि गर्न सकिरहेको छैन।'

अनौपचारिक क्षेत्रमा ठूलो संख्याका श्रम शक्ति आवद्ध भइरहेको भन्दै ज्ञवालीले उनीहरूको क्षमता अभिवृद्धि गर्न औपचारिक तवरबाट कोही जान नसकेको बताए। विश्व बैंकको २०२३ को तथ्यांक अनुसार नेपालको श्रमशक्ति ८४ लाख छ। 

त्यसमध्ये १५ वर्षभन्दा माथिका ३९.८ प्रतिशत मात्रै छन्। महिलाहरू २८.७ प्रतिशत र पुरुष ५३.९ प्रतिशत रहेको विश्व बैंकको प्रतिवेदनमा छ। नेपालमा बेरोजगारी दर १०.७० प्रतिशत छ। कृषिमा ६१.२१ प्रतिशत, सेवामा २१.२४ प्रतिशत र उद्योगमा १७.५६ प्रतिशत श्रमशक्तिले रोजगार पाइरहेको समेत ज्ञवालीले बताए। 

उनका अनुसार औपचारिक क्षेत्रमा ६२.२ प्रतिशत र अनौपचारिक क्षेत्रमा ३७.८ प्रतिशत श्रमशक्ति आवद्ध छ। नेपालमा श्रमशक्तिमा सहभागिता दर ४० प्रतिशत मात्रै रहेको उनले सुनाए। अन्य मुलुकमा श्रमशक्ति सहभागिता दर ७० प्रतिशतभन्दा बढी छ। यसलाई बढाउन जरुरी रहेको उनले जनाए।

'उत्पादन र उत्पादकत्व वृद्धि गर्ने विषयमा मूलभूत खाडल कहाँ रहेछ त्यो पत्ता लगाउन जरुरी छ,' उनले भने, 'रोजगारमूलक वा सिपमूलक शिक्षा प्रणालीमा हामी जान सकेका छैनौं। ठूलो संख्यामा ड्रप आउट दर छ। व्यवसायिक तथा सिप विकास कार्यक्रम सञ्चालन गर्ने भनेका छौं। त्यो पनि हुन सकेको छैन। अर्कोतर्फ त्यसबाट उत्पादीत जनशक्ति रोजगार पाइरहेका छैनन्।'

ऊर्जा, सूचना तथा प्रविधि, कृषि, पर्यटन, म्यानुफ्याक्चर्सलगायत विभिन्न उत्पादनशील क्षेत्र रहेको उनको भनाइ छ। प्रशस्त उत्पादनशील क्षेत्र भए पनि प्रयोग गर्न नसकेको उनले जनाए। अहिलेको मानव संसाधनलाई क्षमतायुक्त र सीपयुक्त बनाई उपयोग गर्नुपर्ने उनको बुझाइ छ। 'अहिले हामीसँग पर्याप्त मानव संसाधन छ, आगामी १० वर्षसम्म यी मानव संसाधनलाई प्रयोग गर्न सकेनौं भने यो जनसंख्या बुढ्यौलीतर्फ बढ्दै जान्छ,' उनले भने, 'बुढ्यौली भएपछि हामीले उपयोग गर्न सक्दैनौं।'

मानव संसाधन, नीति, नियमन तथा पूर्वाधारहरू आवश्यक भएपनि आन्तरिक रूपमै पुर्‍याउन सकिने उनले बताए। तर पुँजी र प्रविधि बाहिरबाट ल्याई उपयोग गर्नुपर्ने उनको भनाई छ।

कान्तिपुर संवाददाता

Link copied successfully