काठमाडौँ — मुलुकभित्रै रोजगारी सिर्जना गर्न सरकार, निजी क्षेत्रलगायत एकजुट भएर अघि बढ्नुपर्ने सरोकारवालाहरूले बताएका छन् । सोमबार काठमाडौंमा आयोजित दुईदिने राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०८१ को पहिलो सत्र 'आन्तरिक रोजगारी सिर्जनाका लागि सम्भावित क्षेत्रको पहिचान र प्रवर्द्धन' मा वक्ताहरूले यस्तो बताएका हुन् ।
नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले ऊर्जा क्षेत्रको सम्भावना भएकाले उद्योगसँगै घरपरिवारमा पनि बिजुलीको स्थिर हुनुपर्ने बताए । उद्योगीहरूलाई सीमा क्षेत्रबाट हुने अनधिकृत व्यापारले पनि समस्या निम्त्याइरहेको उनले जनाए । 'अनौपचारिक क्षेत्रलाई पनि विस्तारै कर छुटलगायत सुविधा दिएर करको दायरमा ल्याउनुपर्नेछ,' उनले भने, 'निजी क्षेत्रलाई कानुनले दिएको सुविधा एउटा ऐनले दिने र अर्को ऐनले काट्ने गरेको छ ।' मुलुकमै रोजगारी सिर्जना गर्न सकिने उनले जनाए ।
होटल एसोसियसन अफ नेपाल (हान) का अध्यक्ष विनायक शाहले पछिल्लो समय एकपछि अर्को पाँचतारे होटलहरू खुलिरहेकाले ३५ लाख पर्यटकलाई सेवा दिन सक्षम भइसकेका बताए । 'आगामी ५ देखि १० वर्षमा ५० लाख पर्यटकलाई सेवा दिने क्षमता राख्छौं,' उनले भने, '१० लाख जनालाई रोजगारी दिन सक्छौं । तर हामीसँग दक्ष जनशक्ति छैन ।' अहिले दैनिक २५ सय जना भाइबहिनीहरू भविष्य खोज्न विदेश गइरहे पनि होटल क्षेत्रमा दक्ष जनशक्तिको अभाव रहेको उनले सुनाए ।
गुणस्तरीय सेवा र उत्पादन कडा मेहनत साथ काम गर्ने श्रमिकका कारण मात्रै हुने भन्दै नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुँवरले इन्सेन्टिभ समयसँगै लैजानुपर्ने बताए । यहाँ श्रमिक नपाउने अवस्था तर विदेश जानेको लाइन देखिनु विडम्बनापूर्ण भएको उनको भनाइ छ । रोजगारी मर्यादित भए/भएन हेर्न जरुरी रहेको उनले बताए ।
नेपाल उद्योग वाणिज्य महासंघ एसोसियटतर्फका उपाध्यक्ष ज्योत्सना श्रेष्ठले सरकार, रोजगारदाता र नागरिक समाजलगायतको भूमिकामा स्पष्ट नहुँदा औद्योगिक क्षेत्रको विकास हुन नसकेको महसुस भएको बताइन् । विद्युत् आपूर्ति कम हुने, खराब सडकलगायत विविध कारणले औद्योगिक उत्पादनको मूल्यमा असर परेको उनको बुझाइ छ ।
अर्थतन्त्रमा सुस्तता र अस्थिर नीतिका मुलुकमा रोजगारी सिर्जना गर्न नसकेको नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालका अध्यक्ष करण चौधरीले बताए । व्यवसाय फस्टाउन नसकेको, तलबवृद्धि गर्न नसक्नेलगायत विविध कारणले अटोमोबाइल्स क्षेत्रमा रोजगारी सिर्जना नभएको उनले सुनाए ।
एफओकाकार्यक्रम विशेषज्ञ अरुण जीसिले ५६ प्रतिशत कृषकले अहिले पनि परम्परागत धानका बीउ प्रयोग गरिररहेका बताए । उनले कृषिमा उत्पादन र उत्पादकत्व अभिवृद्धिबारे जानकारी दिइएको थियो ।
