सरकारले रोजगारी सिर्जना गर्नुपर्छ भन्ने भाष्य बदल्नुपर्छ : वाग्ले

फाल्गुन २६, २०८१

कान्तिपुर संवाददाता

The comment that the government should create jobs should be changed: Wagle

काठमाडौँ — काठमाडौं विश्वविद्यालयका रजिस्ट्रार अच्युत वाग्लेले सरकारले रोजगारी सिर्जना गर्नुपर्छ भन्ने भाष्य अब बदल्न जरुरी रहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित दुई दिने राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनमा सम्बोधन गर्दै वाग्लेले यस्तो बताएका हुन् ।

'सरकारले पनि रोजगारी सिर्जना गर्छौं भन्ने भाष्य छोड्नुपर्छ,' उनले भने, 'सरकार र नीति निर्माता सबैले बदल्नुपर्छ ।' निजी क्षेत्रले उद्यमशीलता सिर्जना गरेर रोजगार प्रवर्द्धन गर्ने र सरकारले सहयोग गर्ने उनले सुनाए । 

निजी क्षेत्रले नेतृत्व गरको अर्थतन्त्र चलाउन उत्पादकत्व, उत्पादनशीलता, उद्यमशीलता र रोजगारी प्रवर्द्धनमा जोड दिनुपर्ने उनको भनाइ छ । 'निजी सम्पत्तिमाथिको अधिकार निर्वाध रुपमा प्रयोग गर्ने वातावरण हुँदैन । तबसम्म रोजगारी सिर्जना गर्ने कुरा रहँदैन,' उनले भने, 'सरकारले अवलम्बन गर्ने आर्थिक मोडल निजी क्षेत्रमैत्री र लगानीमैत्री भएन भने हामी अगाडि बढ्न सक्दैनौं ।' 

नेपाल न्यून लगानी, न्यून उत्पादकत्व, न्यून रोजगारीको दुष्चक्रमा परेको वाग्लेको बुझाइ छ । सरकारी तथ्यांक अनुसार राष्ट्रिय उत्पादनको ९३ प्रतिशत उपभोग गरिररहेका छौं । कुल ७ प्रतिशत बचत गरिरहेको उनले जनाए । '७ प्रतिशतबाट हामी कति लगानी गर्न सक्छौं,' उनले भने, 'मुलुकमा सार्वजनिक लगानी, देशभित्रको निजी लगानी र विदेशी लगानीको वातावरणले सुनिश्चित गर्न सक्नु पर्छ ।'

कान्तिपुर

Link copied successfully