मधेशका मुख्यमन्त्री : होटलमा शपथ, होटलमै बास

सोमबार दिउँसोदेखि उनी जनकपुरको रामानन्द चोकमा रहेको जानकी स्टार होटलमा आफ्ना केही समार्थकसहित बसेका छन् ।

कार्तिक २५, २०८२

अजित तिवारी

Madhesh Chief Minister: Swearing-in at hotel, staying at hotel

जनकपुर — सोमबार बिहान उज्यालो नहुँदै महोत्तरीको बर्दिबासस्थित एक होटलमा शपथ लिएका मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव कार्यालय नगई होटलमै बसिरहेका छन् ।

सोमबार दिउँसोदेखि उनी जनकपुरको रामानन्द चोकमा रहेको जानकी स्टार होटलमा आफ्ना केही समार्थकसहित बसेका छन् । त्यही होटलमा मुख्यमन्त्री यादवले केहीबेरमा पत्रकार सम्मेलन गर्दै छन् । 

बर्दिबासको कालापानीमा रहेको पानस कटेजमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट शपथ लिएका यादव सोमबार दिनभरि आफ्नो गृहजिल्ला महोत्तरिमै बधाई थाप्दै र मन्दिर दर्शन गर्दै रोकिएका थिए । 

यादवको नियुक्तिलाई लिएर सोमबार दिनभर मधेश प्रदेश सरकारको मुख्यालय रहेको जनकपुरको मधेश भवन तनावग्रस्त थियो । 

मुख्यमन्त्री यादव मंगलबार बिहान हिँड्दै मधेश भवन पुगेका हुन् । यादवको पदभार ग्रहण नभएको र मुख्यमन्त्री  निवासमा पूर्वमुख्यमन्त्री जितेन्द्र सोनल रहिरहेकाले होटलमा बस्नुपरेको उनका सहयोगीले बताएका छन् ।

अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Link copied successfully