सदा टोलका लागि सोमबार साँझै गाउँपालिकाले मगाएको तीन सय बोतल पानी मंगलबार साँझसम्म पनि वितरण गरिएन ।
राजविराज — झाडापखालाले तीन जनाको मृत्यु भएको सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ सदा टोलमा शुद्ध खानेपानीको अभाव छ । तर, उनीहरुका लागि सोमबार साँझै गाउँपालिकाले मगाएको तीन सय बोतल पानी मंगलबार साँझसम्म पनि वितरण गरेको छैन ।
उक्त पानी स्वास्थ्य चौकी कोचाबखारी (लोखरम)मा थुपारेर राखिएको छ । अति विपन्न ९० परिवारको बसोबास रहेको त्यहाँ तीन वटा मात्रै चापाकल छ । ती चापाकल छेउछाउमा पानी जमेर हिलाम्य रहँदा पनि त्यही चापाकलबाट उनीहरुले पानी पिउन,नुहाउन,लुगा धुन र भाडा माझ्नसम्म बाध्य छन् । तर,अझै उनीहरुले पिउने पानीको परीक्षणसम्म हुन सकेको छैन ।
शौचालयविहीन त्यस टोलमा गाउँपालिकाले सरसफाइ गर्नका लागि पनि आजभोलि भन्दै खेपिरहेको छ । अहिलेसम्म ८० जना झाडापखालाका बिरामी देखिएको उक्त टोलमा ११ जनाको मात्रै दिसाको नमुना आरडीटी (र्यापिड डायग्नोस्टिक टेस्ट)परीक्षण गरिएको छ । तीमध्ये पाँच जनामा हैजा (कोलेरा भिब्रिओ कोलरी) पोजेटिभ देखिएपछि पाँचै जनालाई उपचारको लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना गरिएको थियो । उनीहरुको दिसाको नमुना कल्चर परीक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर पठाएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सिनियर अहेब दीपेन्द्रप्रसाद यादवले बताए । उनीहरुको कल्चर रिपोर्ट अझै आएको छैन ।
उपचारपछि स्वास्थ्य अवस्था सुधार भएका चार जनालाई मंगलबार डिस्चार्ज गरिएपनि मंगलबारसम्म संक्रमण फैलिएको स्रोत भने यकिन गर्न सकिएको छैन । शुद्ध पानी पनि वितरण गरेको छैन । गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले भने पानी परीक्षणका लागि पठाइएको बताए । खानेपानीमै हैजाको स्रोत देखिए टोलमा पानी वितरण गर्ने तयारी स्वरुप ती राखेको उनले बताए । तर,टोलमा तत्कालै शुद्ध खानेपानी,सरसफाइ र अस्थायी शौचालयको आवश्यकता रहेको छ ।
शनिबारदेखि पखाला लागेका बिरामीले औषधि खाँदा उनीहरुको स्वास्थ्य अवस्थामा सुधार देखिएको छ । तर,मंगलबार पनि दुई जना पखाला लागेका बिरामी थपिएका छन् । संक्रमण नियन्त्रण गर्न गाउँपालिकाले अत्यावश्यक कामबाहेक बाहिर नजान तथा त्यहाँका विद्यालय बन्द गर्दा जनचेतना अभावका कारण डराएका स्थानीयले अहिले पखाला लाग्दा खुलाउन चाहेका छैनन् । टोलमा खटाइएका स्वास्थ्यकर्मीले निगरानी गरिरहेको जानकारी दिँदै अध्यक्ष चौधरीले नमुना संकलनका लागि चार–चार घण्टा पर्खिनु परेको बताए ।
‘उनीहरुले नमुना दिन नचाहँदा आरडीटी गर्न समस्या छ तर हामीलाई उनीहरुलाई बुझाउनै बढी समय खर्चिन्छ’, उनले भने । अहिले त्यहाँका स्वास्थ्य चौकीमा २४ सै घण्टे सेवा दिइरहेको उनको भनाइ छ ।
